मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

२०८० चैत्र ११ गते, आईतवार


काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा परि मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको आगोले भत्किएको भवनबाट थप शव फेला परेको र खोजी कार्य जारी रहेको रुसको अनुसन्धान कमिटिले जनाएको छ । राष्ट्रपति भलाद्मीर पुटिनले देशवासीलाई सम्वोधन गर्दै आक्रमणका पछाडि जोसुकै भएपनि सजायं दिने दृढता व्यक्त गरेका छन् । आकस्मिक सेवाहरूले भवनबाट भग्नावशेष खन्ने काम जारी राखेका छन् । आक्रमणकारीहरूले फैलाएको आगोलेगर्दा भवन आंशिक रूपमा ध्वस्त भएको छ । मृत्यु हुनेहरुको अझै बढ्ने डर रहेको रसियाली टिभी आरटीले जनाएको छ । आतंकवादी आक्रमणमा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
कम्तिमा चार संदिग्ध आक्रमणकारीहरू रक कन्सर्ट अघि शुक्रबार साँझ घटनास्थलमा आक्रमण गरे। आक्रमणकारीहरूले कन्सर्ट हलमा प्रवेश गरेर पोइन्ट–ब्लैंक दायरामा नागरिकहरूलाई अन्धाधुन्द गोली हानेर आगजनी गरेका थिए ।
आक्रमणपछि आक्रमणकारीहरु घटनास्थलबाट भागेको बताइएको छ । तर उनीहरु ब्रायन्स्क क्षेत्रमा देशको सीमा नजिकै रूसी कानून प्रवर्तन द्वारा पक्राउ परेको बताइएको छ । मस्कोको प्रारम्भिक निष्कर्षका अनुसार आक्रमणकारीहरू युक्रेन प्रवेश गर्न खोजिरहेका थिए। – एजेन्सी

प्रतिक्रियाहरु