दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९ गते, शुक्रबार


काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय मिडियाका अनुसार उहाँलाई मदिरा अन्तशुल्क घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी)ले पक्राउ गरेको हो । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।
दिल्लीकी मन्त्री एवं आम आद्मी पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरीवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् । चुनावको मुखमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्नुलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको राजनीतिक चालबाजी भन्दै विपक्षीहरुले विरोध गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु