युवा संगठन नेपाल पूर्वी चितवनको अध्यक्षमा डाइमण्ड सी

२०८० चैत्र ४ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल पुर्वी चितवनको जिल्ला सम्मेलनले डाइमण्ड सीको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जाको उपाध्यक्ष सन्तोष सी, सचिव राजकुमार सी, सह-सचिव सफल सी, कोषाध्यक्ष अर्जुन सी निर्वाचित भएका छन् ।
उक्त सम्मेलनको उद्घाटन गर्दै युवा संगठन नेपालका अध्यक्ष पाटनले दलाल सत्ता विरुद्ध सबै युवाहरु गोलबद्ध भइ यो सत्ता फ्याक्न जुट्नुपर्ने बताए । उनले एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौताहरु विरुद्ध युवाहरु एकजुट भई संघर्षमा उत्रिनु पर्नेे बताए ।उनले धनगढीमा हुन लागेको युवा संगठन नेपालकाे ५ औं राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न लाग्नुपर्ने बताए भने नेकपाका केन्द्रिय सदस्य उत्सवले युवाहरु सिंह जस्तो हुनुपर्ने बताएका छन् । उनले एकीकृत जनक्रान्तिमा युवाहरुको भुमिका महत्त्वपूर्ण रहेको भन्दै युवाहरुले त्यसको महत्त्वलाई बुझेर लाग्नुपर्ने बताए । उनले पुर्वी चितवनमा भुमाफिया र भ्रष्टाचारी विरुद्ध जेहाद छेड्न समेत अपिल गरे ।
यसैगरी , सोही कार्यक्रममा बोल्दै अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सीले युवा संगठन बलियो नहुँदा समाजमा विसङ्गती बढ्ने र पार्टीमा सुनमानहरु हावी हुने बताए। उनले युवा संगठनको इतिहास सम्झदै भने, ‘कुनैबेला युवा संगठनको नाम सुन्ने बित्तिकै फटाहाहरुको सातो जान्थ्यो, ycl ले आउने बित्तिकै जनतामा साहस पैदा हुन्थ्यो, आज नेताहरुमा आएको विचलनले गर्दा ycl ले जनताको काम गर्न छाड्यो र सुन खान थाल्याे । त्यो प्रक्रियाबाट विद्रोह गर्दै युवा सङ्गठन बनेको र यसले राम्रो गर्दै गएको छ, म शुभकामना र बधाई पनि दिन चाहन्छु ।’
उनले जापानी साम्राज्यवादले चीनमा गरेको अफिम युद्धलाई सम्झदै अहिले साम्राज्यवादले नेपालमा लागू औषध र डिजिटल एडिक्सनमार्फत युवाहरुको मनोविज्ञान भत्काएर निरास बनाइरहेको बताए ।
युवा संगठन नेपालका जिल्ला संयोजक डाइमण्डकाे अध्यक्षतामा भएको कार्यक्रमलाई पश्चिम जिल्ला इन्चार्ज दिनेश सी लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन रमेश सीले गरेका थिए ।
उक्त सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा सभापति लगायत विभिन्न पार्टीबाट २० जना प्रवेश गरेका छन् ।नवप्रवेशीलाई प्रमुख अतिथि, विशिस्ट अतिथि लगायतले स्वागत गरेका थिए।
सम्मेलनमा युवा सङ्गठन नेपालका केन्द्रिय अध्यक्ष पाटन सी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा पुर्वी चितवन जिल्ला इन्चार्ज उत्सव सी, अतिथिहरुमा पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य सीसम सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी, नेकपा पश्चिम जिल्ला इन्चार्ज दिनेश सी, युवा सङ्गठनका पश्चिम नारायणी ब्युरो इन्चार्ज विवेक सी, युवा सङ्गठनका केन्द्रिय सदस्य अशोक सी, पार्टीका जिल्ला सल्लाहकारहरु र इलाकाका इन्चार्ज/सेक्रेटरीहरु रहेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु