‘राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्छ’

२०८० चैत्र २ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन्। सो पार्टीनिकट महिला संघद्वारा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । उनले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले देशमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेकोबताउदै भने- “हामीलाई कुनै पद ओगटेर बस्नु छैन । हामीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पनि चाहिएको छैन ।”
अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि नयाँ चरणको छलफलमा रहेको जानकारी दिंदै भने- “हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ । हामी छलफल गर्दै जानेछौँ।”
अध्यक्ष नेपालले देशमा सुशासन कायम गर्न इमानदार नेता तथा कार्यकर्ता चाहिएको बताउँदै पार्टीका नेता तथा कार्यकर्तालाई कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति इमान्दार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए। उनले सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल गरी उपयुक्त निर्णय गरिनेसमेत बताए ।

प्रतिक्रियाहरु