‘नेपाली जनताले चाहेको जस्तो परिवर्तन भएको छैन’

२०८० चैत्र १ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताले चाहेको जस्तो परिवर्तन नभएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी कालिकोटद्वारा बुधबार आयोजित बृहत जनसभा तथा युवा संगठन नेपालको चौथों जिल्ला सम्मेलनको संयूक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लवले नेपालमा केही परिवर्तन भएको भएपनि नेपाली जनताले चाहे जस्तो परिवर्तन नभएको उल्लेख गर्दै जनताले चाहे जस्तो परिवर्तन ल्याउन नेपाली विशेषताको समाजवादले मात्र सम्भव हुने ठोकुवा गरे ।
महासचिव विप्लव सीले देशको बर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद एकमात्र विकल्प भएको बताए । उनले दलाल संसदीय व्यवस्थाको १८ बर्षको प्रयोगले जनताको काम गर्न असफल सिद्ध भएको ठोकुवा गरे।
महासचिव विप्लव सीले यो व्यवस्थाबाट नेपालका युवा,महिला,किसान,मजुदर,श्रमिक,उद्योगी व्यवसायीहरुको समस्या समाधान नहुनेसमेत ठोकुवा गर्दै भने- ‘यो व्यवस्था चोरेर खाने,ठगेर खाने,भ्रष्टाचारी जन्माउने व्यवस्था भयो,सिंहदरवारमा भ्रष्टाचारी जन्माउने मेसिन रहेछ, त्यो भ्रष्टाचारी दलाल जन्माउने मेसिन नहटाए सम्म जनताको व्यवस्था आउदैन,सबैले समाजवाद भनिरहेको बेला देशलाई नेपाली विशेषताको समाजवादमा बदल्नुको विकल्प छैन ।’
महासचिव विप्लव सीले देशमा संसदीय व्यवस्था असफल भयो भन्नेमा धेरैजसो राजनीतिक दलहरु सहमतिमा आएको तर निकासको लागि प्रतिगामी र यथास्थितिवादीहरुले ०४७ साल फर्काउन खोजेको वा यहि व्यवस्थालाई रगंरोदन गरेर भईहाल्छ भन्दै परिवर्तनलाई रोक्न खोजेको उल्लेख गर्दै भने – ‘नेपाली विशेषताको समाजवादको लागि जनताको सहयोग चाहियो,कम्युनिष्टहरु एकतावद्ध हुनु पर्यो,माओवादीहरु एकतावद्ध हुनु पर्यो, नत्र एमसीसीको माध्यमवाट देशलाई विदेशीहरुले कब्जा गर्न खोजिरहेका छन,त्यसबाट देशलाई बचाउनु पर्यो । देशमा गणतन्त्र ल्याउनेकाम मुख्यत माओवादीले गरेको हो, आज एकथरी माओवादीहरुलाई गणतन्त्रको नाममा दलाल पुँजीवादी गणतन्त्रमा लगियो र भ्रष्ट बनाईयो ,यो बाट माओवादीहरु रुपान्तरण हुन जरुरी छ उनले भने,‘माओवादीको रुपान्तरण विना र समाजवादमा जाने सहमति विना एकता हुदैन ।’
महासचिव विप्लव सीले आफूहरु कुर्सी नपाएर र अवसर नपाएर क्रान्तिमा लागेको नभई मन्त्री सांसद भएका मान्छेहरु बरु मन्त्री र अवसर छोडेर जनताको पूर्ण मुक्ति र अधिकारका लागि क्रान्तिमा लागेको बताए । उनले युवाहरु यो दलाल व्यवस्थाका कारण निरास भएर विदेश जाने हावा चलेको भन्दै कालिकोटे युवाहरुले निरास भएका युवाहरुलाई आसाबादीको संदेश दिन अपिल गरे ।
महासचिव विप्लव सीले कालिकोटका गाउँ डाँडा पाखाहरुमा सहिदहरुको रगतले सिन्चित भएको भन्दै सहिदहरुको सपना र जनयुद्धको सपना अझै पुरा नभएकोले एकीकृत जनक्रान्तिमा लाग्न आव्ह्वान गरे। उनले नरहरिनाथ गाउँपालिकाको नाम नरहरिनाथ राखिएकोमा असन्तुष्टि व्यक्त गर्दै भने- ’गाउँपालिकाको नाम राख्दा पनि प्रतिक्रान्ति भयो , यो जिल्लामा रोल्पा पछि धेरै सहिद भएका छन किन नरहरिनाथ गाउँपालिका नै नाम राखियो त ? रोल्पाले सुनिल परिवर्तन गाँउपालिका राख्न सक्ने तपाईहरुले नसक्ने ? यहाँपनि वहुवीर,योद्धा लगायतका ठुला नेता र कमाण्डरहरुका रगत बगेको छ,बलिदान भएको छ, नरहरिनाथ त राष्ट्रिय रुपमा सम्मानीत छदै थिए । यहाँ त हाम्रो पाटीले सहिद स्मृति गाउँपालिका राख्न सुझाव दिएको थियो । तर कार्यान्वय गरिएन । यो पनि दलाल व्यवस्थाको उपच हो । जनयुद्धको उपलव्धीहरु नस्वीकार्ने प्रवृति हो ।’
महासचिव विप्लव सीले केन्द्रमा जनयुद्धलाई अपराधिकरण गर्न खोज्नु पालिकामा नाम समेत सहिद स्मृति राख्न नचाहानु गलत भएको बताए ।
उनले माओवादी कुनै पनि हालतमा नसकिएको र आवश्यक परे सहिदहरुका चिहानबाट माओवादीहरु जाग्ने भन्दै कालिकोटे जनता र युवाहरुलाई दलाल तथा भ्रष्टहरुको हातमा गाउँ जिम्मा दिएर विदेश नजान विशेष आग्रहसमेत गर्दै भने- भने ‘कालिकोटमा जनयुद्धकालमा धेरै बसिएको छ, प्रत्येक जनताको घरमा एकछाक थप खाना नपाकेको दिन थिएन,जनताको ठुलो त्याग तपस्या र बलिदान छ, यसलाई कुनै पनि हालमा धोका दिन सकिदैन,हामीले पुरा गर्ने प्रतिवद्धता गरेका छौ । हामी अरु राजनीतिक दल र नेता जस्तो होइनौ । भन्ने र व्यवहारमा लागु गर्ने मान्छे हौ ।’
महासचिव विप्लव सीले नेपालका नेताहरु श्रम र उत्पादनसंग नजोडिएकाले भ्रष्टाचारमा जेल जानु परेको बताए । उनले कांग्रेस एमालेको कुरा त परैछ आज माओवादीका नेता समेत भ्रष्टाचारमा जेल गएको सुन्न पाउदा लाज लाग्ने गरेको भन्दै यो सबै कुरा श्रम र उत्पादनमा नजोडिदा र जनताको हितमा आफूलाई समर्पित नगर्दाको परिणाम भएको बताए ।

यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले जनयुद्धको उद्देश्य पुरा नभएकाले एकपटक आफ्नो पार्टीलाई साथ दिन अपिल गरेका हुन । उनले जनयुद्धको जोस र जाँगर जस्तै गरी कार्यक्रममा सहभागी भएकोमा उपस्थित सबै कालिकोटे जस्तालाई हार्दिक धन्यवाद दिदै देउडा गीतबाट भने ‘जन्ताको जोश जाँगर हेर जनयुद्धका जसो,सम्झिदा आजभोलि हाम्लाई हुन्छ कसो,राम्राकन फुलका माला खरावकन मुसो,सबै मिलि झार्नुपर्छ देश लुट्नेको बोसो ।’
नेता भरत सीले अहिलेको व्यवस्था जनताको नभएको बताउदै जनताको व्यवस्थाका लागि नेपाली विशेषताको समाजवाद अनिवार्य भएको बताउदै सहिद परिवार र जनताको जीवनमा परिवर्तन नहुदासम्म क्रान्तिको बाटोमा लागि रहेने प्रतिवद्धता व्यक्त गर्दै भने- ‘‘हामी सहिद परिवार,घाईते,बेपत्ता योद्धा, नेपाली जनता सबैको मुक्तिका लागि प्रतिवद्ध छौ,एकचोटी विप्लवलाई हरौं,अरु सबै राजनीतिक दलहरुलाई हेर्नु भयो, जनयुद्धमा साथ दिए जस्तै एकीकृत जनक्रान्तिमा साथ दिनुहोस ।’
नेता भरत सीले उत्पादनसंग जोडिएका पार्टी र नेता आफ्नो मात्रै भएको दावी गर्दै अरु पार्टी र नेता भन्दा आफ्नो पार्टी र नेतृत्व फरक भएको धारणा राखे ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीको साहेक संगठन युवा संगठन नेपालका पाचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दिनेश सीले नेपालमा जनतालाई लुटेर खाने लुटेरा भ्रष्टाचारीको निकै ठूलो हिसाब किताब गर्ने चेतावनी दिए । उनले नरहरिनाथ गाउँपालिकाले अढाई करोडको भातमात्र खाएको समाचार आउनु चिन्ताजनक विषय भएको बताउदै भने- ‘यो नाङ्गो भष्टाचार अन्त्य गर्न आवश्यक छ, देशलाई नेपाली बिशेषताको समाजबाद लिन आवश्यक छ, त्यसैले युवाहरु एकतावद्ध हुनुपर्छ ।’ उनले युवाहरुलाई विदेश पठाउने दलाल ंसंसदीय व्यवस्थका विरुद्ध सबै बामपन्थी,क्रान्तिकारी कम्युनिष्ट,प्रगतिशी,देशभक्त शक्तिहरु एक हुनुपर्ने बताए ।
उक्त कार्यक्रमा नेकपाका पिविएम आदर्श सी,असल सी,केन्द्रीय सदस्य विराट सी,विवेक सी,बलवान सी लगायतका नेताहरुको सहभागिता रहेको थियो । कोटवाडा,माल्कोट रुप्सा,कुमालगाउँ,लालुु लगायतका ठाउँहरुबाट नारा जुलुसी सहित कार्यक्रम स्थलमा उल्लेखिय जनता आएका थिए ।कार्यक्रमा विभिन्न सांस्कृति झाँकीहरु पनि प्रस्तुत गरिएका थिए ।
कार्यक्रमको अध्यक्षता पश्चिम कालिकोट जिल्ला सेक्रेटरी साहासी सीले गरेका थिए भने संचालन पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले गरेका थिए ।

प्रतिक्रियाहरु