तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर

२०८० फाल्गुन २८ गते, सोमबार


सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको तीन बर्ष नाघेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त तीन बुँदे सहमतिमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । यो सहमति नेपाल कम्युनिस्ट पाटीले अक्षरशः पालना गरिराखेको छ भने सरकारले नेकपामाथि लगाएको प्रतिबन्धबाहेक अन्य बुँदाहरु हालसम्म कार्यान्वयन गरेको छैन । जसका कारण अहिले पनि नेकपाका झन्डै दुई दर्जन नेता, कार्यकर्ताहरु जेलमा छन् भने कैयौँ नेता, कार्यकर्ता झुठ्ठा मुद्दा झेलिरहेका छन् । सरकारले यस्तो हर्कत गर्दासमेत नेपाल कम्युनिष्ट पार्टी धैर्यवान् हुँदै तीन बुँदे सहमति कार्यान्वयन गर्नका लागि सरकारलाई पटक पटक आग्रह गरिरहेको छ भने सरकारले बिभिन्न बहानाबाजी गर्दै सहमति कार्यान्वयन गर्न ढिलाई गरिरहेको छ । यो सरकारको हद दर्जाको राजनीतिक बेइमानी, शान्ति र राजनीतिक स्थिरता विरोधी तथा देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र हो । जुन देश र जनाताको लागि ज्यादै दुखद र निन्दनीय कार्यसमेत हो । सरकारको यस्तो हर्कतले नेकपाको धैर्यताको बाँध फुट्न सक्छ ।
तसर्थ, सरकारले नेपाल कम्युनिष्ट पार्टीको धैर्यता र पटक पटकको आग्रहलाई नजरअन्दाज गर्नु हुँदैन । नेकपालाई सहमतिको नाममा सिध्याउने देशी–विदेशी षड्यन्त्रकारी र दलालको चङ्गुलमा सरकार फस्नु हुँदैन । यदि सरकार देशी – विदेशी दलाल र प्रतिक्रियावादीको गोटी बनेर नेकपालाई सिध्याउन खोज्छ भने त्यसको महँगो मूल्य चुकाउनु पर्ने देखिछ । तसर्थ, तीन बुँदे सहमति तत्काल पूर्णरुपमा कार्यान्वयन गर्नुको विकल्प छैन ।
यतिबेला संसद्वादी दलहरु सत्ता र सरकारको लुछाचुँडीमा तल्लिन छन् । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो भूमिका बढाउँदै संसद्वादी दलभित्र भएका क्रान्तिकारी र राष्ट्रवादी नेता, कार्यकर्ता र तमाम क्रान्तिकारी, प्रगतिशील, लोकतन्त्रवादी दल, नेता र शक्तिहरुलाई समेट्दै एउटा सशक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु आवश्यक छ । जसको बलबाट संसदीय व्यवस्थाको जरो उखेल्दै देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकियोस् । समृद्ध राष्ट्र र सुखी नेपालीको नारा पूरा गर्ने एक मात्र उपाय वैज्ञानिक समाजवाद नै हो, जुन नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर प्राप्त गर्न सकिन्छ । यसको निम्ति सम्पूर्ण सचेत नागरिकले नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नुको विकल्प छैन । अन्यथा यी संसद्वादी दल र नेताहरुले देश र जनताको अस्तित्व नै नामेट बनाइदिने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु