‘दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्छ ‘

२०८० फाल्गुन २७ गते, आईतवार


काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको गोलचक्कर राजनीति र दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्ने ठोकुवा गरेका छन् । फाल्गुन २७ गते, आईतवार कालिकोटको फोईस्थित रावतवाडामा स्याउका बिरुवा रोपन कार्यक्रमको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन्। महासचिव विप्लव सीले जुम्ला तातोपानी गाउँपालिका ३ का दिलिप सीले संचालन गरेको ‘दिलिप एण्ड सीमा फलफुल नर्सरी उद्योग’ले सहयोग गरेको २ सय फुजी स्याउको विरुवा ग्रहण गर्दै र स्याउको बिरुवा रोप्दै स्याउ रोपनको सुरुवात गरेका थिए ।
महासचिव विप्लव सीले समाजवादले केही न केही नयाँ गर्ने उल्लेख गर्दै नेपालका समाजवादी शक्तिहरुलाई समाजवादमा लिने प्रयास गरेको बताउदै भने- ‘जाजरकोट र रुकुम भूकम्पमा हामीले आफ्नै पार्टीको उत्पादन गरेको चामल दिन सक्यौ, लघुवित्त पीडितहरुलाई पनि आफ्नै उत्पादनको चामल दियौ ।’
महासचिव विप्लव सीले नेपाल आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न तराईमा धान,पहाडमा सुन्तला र हिमालमा स्याउ र जडिवुटीको उत्पादनको तयारी गरेको बताउदै पार्टीलाई ३ बर्ष भित्र आत्मनिर्भर र चन्दामुक्त पार्टी बनाउने बताए ।
महासचिव विप्लव सीले नेपालमा उत्पादनसंग जोडिएको राजनीतिक नहुदा गोलचक्करको राजनीतिक मात्र भईरहेको बताउदै भने – ‘नेपालमा कुर्सीको वरिपरि राजनीतिक घुमेको छ, अहिले पनि राजनीतिक गोलचक्करमा छ, जनतामा निरासा छ, बेरोजगारी बढेको छ, युवाहरु विदेशतिर गएका छन, यसलाई उत्पादनको सुरुवात गरेर रोक्न हामी चाहान्छौ ।’
महासचिव विप्लव सीले जनताको पक्षमा काम गर्नेहरुलाई जनताले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै जनताले मन्त्री गनेर बस्नु पर्ने र परनिर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी भएको बताउदै भने- ‘एमसीसी एसपीपी लगायतका सम्झौताले नेपालमा अमेरिकाले आफ्नो सेना राख्न खोजेको छ। देश र जनता माथि हुने कुनै पनि हस्तक्षेप स्वीकार गर्दैनौ, जनता र देशको सेवा गर्ने बाहेक अरु हाम्रो कुनै स्वार्थ छैन ।’
उक्त स्याउका बिरुवा रोपन कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी,केन्द्रीय सदस्यहरु विराट,विवेक सी लगायत नेता कार्यकर्ता र जनताको सहभागीता रहेको थियो ।
स्याउ रोपन कार्यक्रमको अध्यक्षता कालिकोट जिल्लाका अध्यक्षता नेकपा कालिकोट जिल्लाको इन्चार्ज बलवान सीले गरेका थिए भने संचालन जिल्ला सचिव रमेश सीले गरेका थिए ।

प्रतिक्रियाहरु