आर्थिक सङ्‌कटको मूल कारक परनिर्भरता र उदारवाद

२०८० फाल्गुन १७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आर्थिक सङ्‌‌कटको मूल कारक भारतप्रति परनिर्भरता र उदारवाद भएको ठोकुवा गरेका छन् ।नेकपा पूर्व–चितवनद्वारा बिहीबार रत्ननगर नगरनगरपालिका, टाँडीमा आयोजित ‘एमसीसी परियोजना ,राजनीतिक-आर्थिक संकट र निकास’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता अनिल सीले भारतप्रति परनिर्भर अर्थतन्त्र हुनु, भ्रष्टाचार हुनु, भारतको हेपाहा नीतिका कारण नेपालको उत्पादकत्व कमजोर हुनु अहिलेको आर्थिक सङ्‌कटको मूल कारण भएको उल्लेख गर्दै यसको निकासका लागि उत्तरी सीमानाका खोल्नुपर्ने तथा भारतप्रतिको परनिर्भरता घटाउनु पर्ने बताए । उनले २०४६ सालपछि कांग्रेसको नेतृत्वमा एमालेसमेतको सरकारले नवउदारवादलाई स्विकार गरेपछि उद्योग‌हरू नीजिकरणको नाममा विदेशीलाई बेचिएको वा बन्द गरिएको, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा अनुदान कटौती गरिएका कारण देश परनिर्भर बन्दै गएको खुलासा गरे । उनले नेपाली विशेषत‌ाको समाजवादले मात्र यी दुई समस्याको समाधान गर्न सक्ने ठोकुवा समेत गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका अखिल अधिकारी, माओवादी केन्द्रका दीपक शाही (सुरेस), नेकपा मशालको डम्बर पूरी, जसपाका मुस्तफा अली, नेकपा (एस) का हेमन्त कँडेलले अनिल सीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पनीमूलक धारणा राखेका थिए। कार्यक्रममा कवि राजेन्द्र हमालले कविता वाचन गरेका थिए। सो कार्यक्रमको अध्यक्षता जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य उत्सव सीले गरेका थिए भने सञ्चालन सूर्य सीले गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई पूजा सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा बुद्धिजीवी अजित पौडेलले मन्तव्य राखेका थिए भने पश्चिम जिल्ला इञ्चार्ज दिनेश सी, उद्योग वाणिज्य संघ, रत्ननगरका राममनी थपलिया, पर्यटन व्यवसायी धुर्व पौडेललगायत अतिथिहरूको सहभागिता रहेको नेकपा नेता उत्सव सीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु