मानव मस्तिष्कमा ‘वायरलेस चिप’ जडान !

२०८० माघ १६ गते, मंगलवार

काठमाडौँ । इलन मस्कले एक्समार्फत आफ्नो कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप(वायरलेस ब्रेन चिप) जडान गरेको सार्वजनिक गरेका छन् । उनले चिप जडान गरिएको व्यक्तिको स्वास्थ्यमा सुधार भइरहेको समेत जानकारी दिंदै प्रारम्भिक नतिजामा ती व्यक्तिको न्युरोन(स्नायुकोशिका) मा सुखद संकेत देखिएको पनि बताएका छन् । न्युरालिंकले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने लक्ष्य राखेको छ । कम्पनीले यसले जटिल खालका स्नायु रोगको उपचारमा सहयोग पुग्ने बताएको छ ।
न्युरालिंकलाई गत वर्ष अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए) ले मानव मस्तिष्कमा चिप राख्ने अनुमति दिएको थियो । न्युरालिंकसँगै अन्य कम्पनीले पनि मानव मस्तिष्कमा चिप जडानमा अनुसन्धान गरिरहेका छन् ।
बीबीसीका अनुसार रोबोटिक शल्यक्रियामार्फत मानिसको मस्तिष्कमा निकै मसिना तारहरू राखिनेछन् । रोबोटले शल्यक्रियामार्फत मानव मस्तिष्कमा ६४ वटा लचिला रेसा राख्नेछ जुन मान्छेको रौँभन्दा पनि पातलो हुने कम्पनीले जनाएको छ । उक्त रेसा ‘हिँडडुल गर्ने चाहना’ राख्ने मस्तिष्कको भागमा राखिनेछन् । कम्पनीका अनुसार ती रेसाले मस्तिष्कबाट निस्कने संकेत एउटा एपमा तारबिनै डिकोड गर्न र रेकर्ड राख्न सघाउँछन् । उक्त उपकरण ब्याट्रीबाट चल्ने पनि कम्पनीको भनाइ छ ।
यसअघि अमेरिकाको युटास्थित ब्ल्याकरक न्युरोटेकले सन् २००४ मै इन्टरफेस मानिसको मस्तिष्कमा प्रत्यारोपण गरेको थियो।

प्रतिक्रियाहरु