दलाल पुँजीवादी सत्ताले भ्रष्टाचारी , बलत्कारी र व्यभिचारीहरुलाई कुनै न कुनै रुपले संरक्षण गरिरहेको हुन्छ

विप्लव सी, महासचिव– नेपाल कम्युनिस्ट पार्टी २०८० कार्तिक २० गते, सोमबार


० जनयुद्धमा महिला अथवा छात्राहरुको सहभागिताबारे खुलाइदिनुस् न ?
जनयुद्ध मूल रुपले अर्धसामन्तवाद र अर्धउपनिवेशवादविरुद्धको संघर्ष थियो । त्यो भनेको समाजमा जो बढी उत्पीडित हुन्थ्यो, उनीहरुसँग नै यो विद्रोह सम्बन्धित थियो । यसले गर्दा नेपालका आमा, दिदीबहिनीहरुको समस्या पनि जर्जर थियो । जसको बोध छिटो कलेज पढ्ने, स्कुल पढ्ने छात्राहरुले गर्न सक्थे गरे । र, हाम्रो पार्टीले त्यतिबेला पनि मुख्य रुपले उत्पीडित वर्ग, लिङ्गमा जोड दिएको थियो र त्यसको प्रभाव अध्ययन गरिरहेका सचेत महिलाहरुमा प¥यो । जसको परिणाम नै एउटा अभूतपूर्व महिला सहभागिता जनयुद्धमा सम्भव भयो ।
० जनयुद्धमा स्कुल पढ्ने छात्राहरु कसरी सहभागी हुन्थे ? पार्टीको दबाब, डर–त्रास वा स्वतस्फुर्त रुपमा ?
विद्रोह कहिले पनि त्रासको कारणले हुँदैन । अधिकारको खोजीको कारणले हुन्छ या उत्पीडनको विरुद्धको चेतको कारणले हुन्छ । त्यस अर्थमा मैले अघि पनि भनेँ, कलेज, विश्वविद्यालय र विद्यालयमा पढ्ने महिलाहरु या छात्राहरुको सहभागिता भनेको एउटा जागरुकता, सचेतता र वैचारिक स्पष्टताको परिणाम थियो । योमा उत्प्रेरणा र भावनाहरु पनि थिए भन्ने कुरा सही हो तर अरु बाँकी सबै कुराहरु गलत हुन् ।
० महिला वा छात्रालाई राजनीतिमा वा अझ क्रान्तिकारी पार्टीहरु, विद्रोही पार्टीहरु, प्रतिबन्धित पार्टीहरु लाग्न तपार्ईंंको पार्टीले कसरी प्रोत्साहन गरेको छ ?
आज पनि नेपालमा दलाल पुँजीवादी वर्गको सत्ता छ । जो सिधै भूमण्डीकृत साम्राज्यवादद्वारा संरक्षित छ । यसको विरुद्धमा पनि उनीहरु नै सबैभन्दा बढी संघर्षरत छन् जो उत्पीडित छन् । त्यसअर्थमा नेपालका दिदीबहिनी, आमाहरुको समस्या अझै पनि हल भएको छैन । छोरीहरुको समस्या हल भएको छैन । जसको कारणले एकीकृत जनक्रान्तिमा पनि छात्राहरुको, महिलाहरुको सहभागिता उल्लेख्य छ र योचाहिँ समाजवादी सत्ता नेपाली विशेषताको समाजवादी सत्ता या वैज्ञानिक समाजवादको स्थापना नभएसम्म जारी रहन्छ ।
० तपाईंको नजरमा आमक्याम्पस, स्कुल पढ्ने छात्रा अथवा महिलाहरुको प्रमुख समस्या के हो जस्तो लाग्छ ? जस्तै ग्रामीण भेगका छात्रा महिलाको शहरी भेगका छात्रा महिलाको ?
आज पनि नेपाली महिलाहरुको मुख्य समस्या भनेको आर्थिकसम्बन्धी समस्या हो । दोस्रो कुरा रोजगारीको, तेस्रो कुरा हाम्रो पुरानो पृतिसत्तात्मक समाजको । यी समस्याहरुले आज पनि दिदीबहिनीहरु, छोरी नानीहरु पीडित छन् । गाउँमा पनि त्यो कुरा नै हो शहरमा पनि मुख्य त्यही कुरा हो त्यसपछि स्थान विशेषको कारणले प्रभाव पार्नेमा जस्तो ग्रामीण क्षेत्रमा जानुभयो भने समाजको एउटा रुढीवाद त्यसपछि गएर एउटा परनिर्भरता थोरै तपाईंको परम्परावादी सोच, पृत्तिसत्तावादी सोच मुख्य छ भने शहरमा जाँदाखेरी उपाभोगवाद त्यसपछि गएर छाडापन, यौनहिंसाजस्ता समस्याहरु मुख्य छन् ।
० अहिलेको परिवेशमा आमनेपाली छात्रा तथा महिलाहरुका समस्या समाधानका उपाय के हुन सक्छन् ?
संगठित हुनु, महिला अधिकारको बारेमा एउटा स्पष्ट राजनीतिक विचार हुनु, वैज्ञानिक समाजवादी विचारलाई बोध गरेर पक्रनु, त्यसपछि दलाल पुँजीवादी सत्ता र भूमण्डीकृत साम्राज्यवादी संरक्षणको विरुद्धमा संघर्ष गर्नु र नेपाललाई समाजवादमा रुपान्तरण गर्नु सबैको र त्यसमा विशेषतः महिलाहरु र छात्राहरुको भूमिका रहनुपर्छ ।
० पछिल्लो समयमा विद्यालय र विश्वविद्यालयहरुमा समेत यौन दुव्र्यवहार तथा बलात्कारका घटनाहरु घटिरहेका छन् । हाम्रो समाज कता जाँदैछ, यसमा के भन्न चाहनुहुन्छ ?
यो दलाल पुँजीवादी सत्ता र आजको संसारभरि हावी भएको एउटा साम्राज्यवादी, पुँजीवादी प्रवृत्तिको परिणाम हो । पुँजीवाद अथवा साम्राज्यवाद र दलाल पुँजीवाद भनेका मान्छेहरुलाई उपभोग्य वस्तुमा प्रयोग गर्ने एउटा प्रवृत्ति हो । त्यसकारण प्रेम, यौन र विवाहलाई पुँजीवादीहरुले किनबेचको वस्तुको रुपमा जसरी बजारमा प्रयोग गरिरहेका छन्, जसको नकारात्मक प्रभाव आज महिलाहरुले र छात्राहरुले भोग्नु परिरहेको छ हामी देख्छौँ त्यसैले पुँजीवादी अश्लीलता, उपभोगवाद, बजारीकरण, छाडापनको विरुद्धको संघर्ष गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नु यसमा पनि आवश्यक महिला र छात्राहरुको सुरक्षाको लागि आवश्यकता छ ।
० निर्मला पन्तको बलात्कारी र हत्यारा अहिलेसम्म पत्ता लागेन नि ?
राज्य नै यसको कारण हो । दलाल पुँजीवादी सत्ताले भ्रष्टचारीहरु, बलात्कारीहरु, व्यभिचारीहरुलाई कुनै न कुनै रुपले संरक्षण गरिरहेको हुन्छ । जसको कारणले यो समस्या आएको हो ।
० पूर्वी तराईमा दाइजो प्रथाको डरलाग्दो अवस्था छ । यसको समाधान कसरी गर्न सकिन्छ ?
दाइजो प्रथा भनेको पृत्तिसत्तावाद अथवा पुरुषप्रधान समाजको उपज हो र नागरिकहरुलाई, महिलाहरुलाई, छोरी–बेटीहरुलाई आपूm समानको एउटा दृष्टिकोणबाट बुझ्न नचाहने या विभेद गर्ने, उत्पीडन गर्ने एउटा समाज र प्रवृत्तिको कारणले यो समस्या पैदा भएको छ । त्यसलाई संरक्षण गर्ने काम दलाल पुँजीवादले अहिले गरिरहेको छ । पहिले सामन्तवादले गरिरहेको थियो, यद्यपि तराईमा अहिले पनि सामन्तवादका अवशेषहरु प्रसस्त छन् र त्यसका विरुद्धको संघर्ष नै यो दाइजो प्रथाको अन्त्यसँग जोडिन्छ । यसलाई फेरि के हो भन्नुहुन्छ भने फेरि हामीले नेपाली समाजमा एउटा बडो कलंकको रुपमा रहेको दाइजो प्रथा छ, यसलाई हामीले समाजवादी चेत, वैज्ञानिक र वस्तुवादी चेतद्वारा संघर्ष गर्दै दलाल पुँजीवादी सत्तालाई अन्त्य ग¥यो भने र एउटा लामो संघर्ष जुन एउटा साँस्कृतिक लडाइ पनि हो र यसका लागि लामो लडाइ लडेपछि महिला अनि उत्पीडित समुदाय, जाति, लिङ्ग माथिका समस्याहरु समाधान हुन्छन् ।


विप्लव सी, महासचिव– नेपाल कम्युनिस्ट पार्टी


० तपाईंको पार्टी नेकपा वा अखिल (क्रान्तिकारी) मा क्याम्पस, कलेज पढ्ने छात्राहरु किन संगठित हुने ?
माथि मैले लामो ब्याख्या गरेँ आज पनि हाम्रो समाजको चरम् उत्पीडनको शिकार महिलाहरु भइरहेका छन् । जसमा तपाईंहरुले चर्चा पनि गर्नुभयो । चाहे दाइजो प्रथाको कुरा गर्नुहोस्, चाहे बोक्सी प्रथाको कुरा गर्नुहोस्, चाहे रुढीवाद, अन्धविश्वास धार्मिक चेतको कुरा गर्नुहोस्, चाहे दलाल पुँजीवादले बजारमा विनिमय वस्तु बनाएको कुरा उपभोग्य वस्तु बनाएको कुरा गनुर््होस्, चाहे अन्तर्राष्ट्रिय क्षेत्रमा चेलीबेटीको व्यापार र तस्करीको कुरा गर्नुहोस् यी सबै कुरा के छन् भन्नुहुन्छ भने, दलाल पुँजीवादी सत्तासँग सम्बन्धित छन् । त्यसैले यसको अन्त्य गर्ने हो भने, महिला माथिको उत्पीडनको अन्त्य गर्ने हो भने दलाल पुँजीवादी सत्ताको अन्त्य अपरिहार्य छ । जो कुरा हाम्रो पार्टीको नेतृत्वमा चलिरहेको छ । दलाल पुँजीवादलाई अन्त्य गर्ने र वैज्ञानिक समाजवादलाई स्थापना गर्ने हाम्रो पार्टीको जो लक्ष्य, उद्देश्य र विचार छ, यसमा आफ्नै मुक्तिको लागि महिलाहरु वा छात्राहरु संगठित हुन आवश्यक छ ।
० तपाईंले भनेको वैज्ञानिक समाजवादमा महिला, छात्राहरुको अवस्था कस्तो हुन्छ ? र यसमा छात्रा तथा महिलाहरुको भूमिका कस्तो हुन्छ ?
आजसम्म समाज र राज्यले भोगिराखेका उत्पीडनका सम्पूर्ण साधनहरुको अन्त्य गरिनेछ । खासगरी सम्पत्तिमाथिको असमान उपभोगलाई अन्त्य गरिनेछ । त्यसपछि राज्यसत्तामा समान सहभागितालाई सुनिश्चित गरिनेछ । त्यहाँको उत्पीडन र विभेदलाई अन्त्य गरिनेछ । त्यसपछि गएर हरेक क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा, कर्मचारीको क्षेत्रमा महिला र पुरुषको समान सहभागिता हुनेछ जो वैज्ञानिक समाजवादका मूलभूत विशेषताहरु हुन् । योभन्दा अरु थुप्रै कुराहरु पनि छन् । छोटो कुरामा यो सम्भव हुँदैन ती सबै क्षेत्रमा अथवा नयाँ सभ्यता निर्माणका सबै क्षेत्रमा महिलाहरुको समान सहभागिता समान हुने भनेको वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा हो, त्यसकारणले महिला तथा छात्राहरु संगठित हुन जरुरी छ ।
० वैदेशिक रोजगारीमा गएर बेचिएका अथवा अलपत्र परेका नेपाली दिदीबहिनीहरुलाई तपार्ईंको विद्यार्थी संगठन छात्रा विभागले पनि केही नेपाली चेलीहरुलाई नेपाल ल्याउन सफल भयो यो सांकेतिक भयो । समग्रमा विदेशमा अलपत्रमा परेका महिलाहरुको समस्या समाधान गर्न के गर्नु पर्ला ?
यसका दुईवटा पाटा छन्– एउटा जो हाम्रो छात्रा विभागले पहल ग¥यो, सफल पनि भयो त्यसको लागि म छात्रा विभागलाई धन्यवाद दिन चाहन्छु । यसो त हाम्रो पार्टीको नीति नै छ र पार्टीको नीतिमा कैयौँ त्यस्ता अलपत्र परेका नागरिकहरु उद्धार अहिले पनि गरिराखे कै छ । अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसपछि संगठित हाम्रा संस्था, विभागहरुले त्यो काम गरिराखेकै छन् । त्यो राम्रो कुरा हो । तर, फेरि कुरा के छ भन्दा के उद्धार मात्र गरेर यो समग्र समस्याको समाधान हुन्छ त ? भन्दाखेरी त्यो हुँदैन, त्यो अस्थायी कुरा मात्रै हो स्थायी कुरा या महिलाहरुको जीवन रक्षा गर्ने कुरा एउटा समान व्यवहार गर्ने कुरा, सहकार्य गर्ने कुरा यो राज्यप्रणाली अर्थप्रणालीसँग सम्बन्धित छ । पुँजीवाद रहेसम्म त्यसपछि असमान अर्थसम्बन्ध रहेसम्म त्यसपछि गएर राजनीतिक ढंगले समान अवसर नभएसम्म यो उत्पीडित अथवा महिलाहरुमाथिका विभिन्न उत्पीडनहरु अन्त्य हुने छैनन् । त्यसैले हामीले के भनेका छौँ भने, दीर्घकालिक ढंगले नेपालमा दलाल पुँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्नु यसको स्थायी समाधान हो भने अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वव्यापी रुपबाट पुँजीवादलाई हरेक देशबाट मिल्काउँदै अगाडि बढ्नु या मानव जातिले नयाँ वैज्ञानिक समाजवादी मार्ग अवलम्वन गर्दै जानु स्थायी समाधान हो ।
० अन्तमा केही भन्न चाहनुहुन्छ ?
एकदम छोटकरीमा भन्दा नेपाल अहिले ठूलो संक्रमणकालीन परिस्थितिबाट गुज्रिरहेको छ । यहाँ क्रान्ति र प्रतिक्रान्तिको भीषण टक्कर छ, यहाँ दलाल पुँजीवाद र वैज्ञानिक समाजवादको बीचमा चाहिँ अन्तरविरोध र संघर्ष चलिरहेको छ । यहाँ साम्राज्यवादी हस्तक्षेप र स्वाधीनता, देशभक्तिको आन्दोलनको बीचमा संघर्ष छ । यो संघर्ष भनेको मूलरुपले सचेत, बौद्धिक र श्रमिक, उत्पीडित वर्ग शक्तिको संघर्ष नै हो । त्यसकारण महिलाहरु जो उत्पीडित अवस्थामा छन् उनीहरुचाहिँ आज चलिरहेको क्रान्ति, समाजवादी संघर्ष र त्यसपछि राष्ट्रिय स्वाधीनताको संघर्षमा प्रत्यक्ष सहभागी बनुन् र त्यो बनाउने दायित्वमा विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका हाम्रा सचेत छात्रा त्यसपछि विद्यार्थी महिला कमरेडहरु साथीहरु भूमिका अग्रणी हुनुपर्छ भन्ने मेरो आग्रह छ र त्यसमा हाम्रो विद्यार्थी संगठनको छात्रा विभागलाई राम्रो पहल गरोस् त्यसमा हामी सहयोग गर्नेछौँ ।
(अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागको मुखपत्र ‘छात्रा आवाज’ बाट

प्रतिक्रियाहरु