क्षेप्यास्त्र साप्ताहिक सत्रौँ वर्षमा प्रवेश

२०८० आश्विन २८ गते, आईतवार

यस क्षेप्यास्त्र प्रकाशन केन्द्रद्वारा प्रकाशित हुँदै आएको क्षेप्यास्त्र साप्ताहिक सोह्र वर्ष पार गरी सत्र वर्षमा प्रवेश गरेको छ । देश र जनताको स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै जनतालाई सुसूचित गर्ने महान् कार्यमा थोरै भए पनि सहयोग पु-याउने उद्देश्यका साथ सुरु गरिएको यस क्षेप्यास्त्र साप्ताहिकले देशमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिहरूलाई नाङ्गेझार पार्दै जनपक्षीय र राष्ट्रियताको पक्षलाई सर्वोच्च मान्दै आएको सबैलाई बिदितै छ । हाम्रो प्रकाशनको मुख्य लक्ष्य भनेकै देशमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिलाई जरैदेखि नाङ्गेझार पार्दै राष्ट्रिय स्वाभिमानको विकास गर्नु रहेको छ । रुपमा हेर्दा अहिले देशमा लोकतान्त्रिक सरकार छ । तर, राष्ट्र, राष्ट्रियता, स्वाधीनता र जनसरोकारका विषयमाथि दिनप्रतिदिन झन्–झन् कुठाराघात बढ्दै गएको छ । देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ भने राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । संसदीय व्यवस्थाको असफलताका कारण सुशासन एकादेशको कहानी भएको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । संसद्वादी राजनीतिक दल र तिनका नेता–कार्यकर्ता एकपछि अर्को काण्डमा मुछिएका घटनाहरु सार्वजनिक भइरहेका छन् । एक सय सुन बरामद प्रकरण, ललिता निवास प्रकरण, भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत एनसेल प्रकरण, बालुवाटार जग्गा प्रकरण, स्वास्थ्य सामग्री खरिद (ओम्नी) घोटला काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, गुणस्तरहीन मल खरिद प्रकरण, नारायणहिटीभित्रै होटल र रेष्टुरेन्ट खोल्न दिने (बतास समूह) प्रकरण, ३३ किलो सुनकाण्ड, वाइडबडी जहाज काण्ड, रेल विभाग प्रकरण, यति समूह काण्ड, गिरिबन्धु टि–स्टेटको जग्गा बिक्री काण्ड, पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट काण्ड, कालिगण्डकी डाइभर्सनको प्रकरण, पप्पु कन्स्ट्रक्सन काण्ड, सांसद अपहरण, खरिद–बिक्री काण्ड, अवैध रूपमा चुन उत्खनन्लगायत यावत् प्रकरणमा संसद्वादी राजनीतिक दल र तिनका नेता– कार्यकर्ताको संलग्नता रहेको पुष्टि भइरहेका छन् । यता, युवा बेरोजगारीका कारण देश छोड्न बाध्य छन्, जसका कारण देश युवाबिहीन हुने स्थितिमा पुगेको छ । सर्वसाधारण जनता वित्तीय संस्था, लघुवित्त र मिटरब्याजीको आतंकबाट त्राहिमाम छन्, महँगीले जनताको चुलोचौको बन्द हुने स्थिति बनेको छ, किसानले समयमा मल–बीउ पाउँदैनन्, लम्पी स्किन रोगका कारण किसानको गोठ रित्तिएको छ । पीडितले उचित र समयमा न्याय पाएका छैनन् । विकास निर्माणका कार्य ठप्प भएका छन् । देश आन्तरिक रुपमा कमजोर भएको छ भने वैदेशिक हस्तक्षेपले खुला रुप लिएको छ । जता हे¥यो उतै भद्रगोलको स्थिति छ । तर, यसमा सरकार र संसद्वादी दल र नेतालाई कुनै चिन्ता र चासो छैन । उनीहरु देशमा आफ्नो लुटको स्वर्ग कायम राख्न कम्मर कसेर लागेका छन् । यी सबै तथ्यलाई नियाल्दा संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्ने कुरा आमसर्वसाधारणले बुझ्ने गरी पुष्टि भएको छ ।

यतिबेला संसदीय व्यवस्था, संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसदबाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न विभिन्न प्रपन्चहरु भइरहेका छन् । संसद्वादी दल र नेताका कारण वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ, एकपछि अर्को राष्ट्रघात र जनघाती कार्य भइरहेका छन् । यी तमाम घटनाले सरकार, संसद्वादी दल र नेता मात्र नभई समग्र संसदीय व्यवस्था नै असफल भएको पुष्टि हुन्छ । यस्तो अवस्थामा क्षेप्यास्त्र साप्ताहिकले बिगतमा झैँ आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषय उठान् गर्न कुनै कसर बाँकी राख्ने छैन । हाम्रो यस अभियानमा आमनेपाली दाजुभाइ, दिदीबहिनीले हामीप्रति देखाएको सद्भाव सह्रानीय छ । यसबाट हाम्रो हौसला एवं दायित्व अझै बढ्न गएको छ । यसरी हाम्रो अभियानमा साथ दिई हामीलाई सल्लाह र सहयोग प्रदान गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, विक्रेता एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

वर्तमान समयमा देश र जनताको हितका लागि पत्रपत्रिकाले इमानदारितापूर्वक काम गरिरहेका छैनन्, पीत पत्रकारिता बढ्दै गएको छ । देशका ठूला मिडिया भन्नेहरूले त झन् आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि देश र जनहित विपरित कार्य गर्दै आइरहेका छन् । राष्ट्र, राष्ट्रियता र नागरिक सर्वोच्चताप्रति तिनीहरूलाई कुनै रुचि छैन, ठाडो वैदेशिक हस्तक्षेपप्रति कुनै प्रतिक्रिया जनाउँदैनन्, जनचासोका विषयविरुद्ध विष वमन गरिहाल्छन् । यस अवस्थामा निश्चय नै राष्ट्र, राष्ट्रियता र नागरिक सर्वोच्चता पक्षधर मिडियाहरूको आवश्यकता बोध भएको छ । वैदेशिक हस्तक्षेपका विरुद्ध आवाज बुलन्द गर्ने छापाहरूको अझै आवश्यकता रहेको छ । यही आवश्यकतालाई बोध गरेर प्रकाशन गरिएको यस साप्ताहिक आगामी दिनमा पनि आफ्नो जिम्मेवारीबाट पछाडि हट्ने छैन भन्ने प्रतिबद्धता गर्दै हाम्रो यस अभियानमा सहयोग पु¥याउने सम्पूर्ण क्रान्तिकारी, राष्ट्रभक्त र जिम्मेवार नागरिकहरूबाट आवश्यक सरसल्लाह र सुझाव प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौँ, साथै आगामी दिनमा अझै सशक्त रूपमा अगाडि बढ्ने प्रण गर्दछौँ ।

प्रतिक्रियाहरु