एमसीसी सम्झौता कार्यान्वयन नगर

२०८० भाद्र १२ गते, मंगलवार

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनको अवधि ३० अगस्ट २०२३ अर्थात् यही १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको बताइएको छ । सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पास गरेर देशमा पुनः द्वन्द्वको बिजारोपण गरेको भन्दै आमक्रान्तिकारी र राष्ट्रवादी दल तथा नेतालगायत आमस्वाभिमानी जनताले आ–आफ्नो स्थानबाट चर्को बिरोध जनाउँदै आएका छन् । अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौताको ५६ अर्ब पैसा लिँदा नेपालको स्वाधीनता नै गुम्ने र देशको स्वाधीनता ५६ अर्ब पैसासँग बेच्न खोज्नु गम्भीर राष्ट्रघात भएको भन्दै चौतर्फी रुपमा विरोध, भण्डाफोर र प्रतिरोध भइरहेका छन् । तर, सरकार यी सबै कुराको नजरअन्दाज गर्दै एमसीसी सम्झौता कार्यान्वयन गराउन कम्मर कसेर लागेको खुलासा भएको छ । जुन ज्यादै निन्दनीय तथा राष्ट्रघाती र जनघाती कार्य हो ।

अमेरिकी अधिकारीहरुले एमसीसीलाई इन्डोप्यासिफिक मिलिटरी स्ट्राटेजीको अभिन्न अंग भएको बताउँदै आएका छन् । तसर्थ यो सम्झौतालाई नेपालबाट संसद्बाट अनुमोदन गर्नुको अर्थ नेपाल स्वतः अमेरिकाको यही आइपिएसको सदस्य हुन पुग्दछ र नेपाल अन्ततः अमेरिकाको उपनिवेश बन्न पुग्ने आमक्रान्तिकारी र राष्ट्रवादी दल तथा नेतालगायत आमस्वाभिमानी जनताको बुझाइ छ ।

अमेरिका चीनका विरुद्ध नेपाली भूमि, यहाँको सस्तो श्रम र कच्चा पदार्थ तथा समग्र प्राकृतिक सम्पदा प्रयोग गर्न चाहन्छ । भूराजनीतिक हिसाबले अत्यन्तै संवेदनशील अवस्थामा रहेको नेपाल असंलग्न पराराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा नै देशको स्वाधीनता कायम राख्न सफल हुँदै आएको राष्ट्र हो । दुई ठूला विशाल राष्ट्रहरुको बीचमा रहेको नेपाल कुटनीतिक सन्तुलनका कारण अस्तित्वमा रहेको छ । नेपाल कुनै शक्ति राष्ट्रतर्फ ढल्कने वा कुनै शक्तिराष्ट्रको सुरक्षा छाताभित्र जाने बित्तिकै नेपालको स्वाधीनता र सार्वभौमिकतामा गम्भीर संकटमा पर्छ । नेपालको स्वाधीनतामाथि सधैँ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट खतरा रहँदै आएको छ । उत्तरतर्फको छिमेकमा चीन भएकै कारण नेपालको स्वाधीनता हडप्न पटक–पटक प्रयास गरे पनि भारतीय शासकहरु सफल हुन सकेनन् र अब अमेरिका र भारत एकसाथ नेपालको स्वाधीनता हडप्न अगाडि बढेका छन् ।

यस्तो अवस्थामा स्वाभिमानी नेपाली जनता, यहाँका सच्चा देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरु एकढिक्का भएर साम्राज्यवादी, विस्तारवादी शासकहरु र तिनीहरुका नेपाली दलालहरुका विरुद्ध एकसाथ लड्नुको विकल्प छैन । जसको पहल नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । जुन देश र जनताको लागि ज्यादै खुशीको विषय हो ।

त्यसैले सरकारले आमस्वाभिमानी जनता, राष्ट्रवादी दल, नेतालगायत आमबुद्धिजीविको माग, सल्लाह, सुझावलार्ई समेत मध्यनजर गर्दै तत्काल एमसीसी कार्यान्वयन हुनबाट रोक्नु पर्दछ । आमजनता मात्र होइन, सत्तासीन दलभित्रकै कतिपय राष्ट्रवादी नेताले समेत एमसीसीको विरोध गर्दै आएका थिए भने संसद्मा पनि अधिकांश राष्ट्रवादी सांसद्ले एमसीसी पारित गर्नु नहुने भन्दै आफ्नो अडान राखेका थिए । तर, कसैको कुरा नसुनी संसद्बाट एमसीसी अनुमोदन भयो । तत्कालिन सरकारको यस्तो राष्ट्रघाती र जनघाती हर्कतको चौतर्फी विरोध भइरहेको छ । राष्ट्र र जनआकांक्षाविपरीत एमसीसी लागू गर्न खोज्नु सरकारको लागि समेत आत्मघाती कार्य बन्ने निश्चित देखिन्छ । किनकि नेपाल कम्युनिस्ट पार्टीले एमसीसी कार्यान्वयन हुन नदिने उद्घोष गर्दै संघर्षको शंखघोष गरिसकेको छ । उसले देशब्यापीरुपमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन र विरोधसभा गरिरहेको छ । यस्तो अवस्थामा सरकारले आमस्वाभिमानी नेपाली जनता र राजनीतिक दल, नेता, बुद्धिजीवि, कवि, कलाकार, पत्रकारलगायत सम्पूर्ण तह र तप्काबाट समेत विरोध हुँदै आएको एमसीसी सम्झौता खारेज गर्नु नै बुद्धिमानी हुन्छ ।

तसर्थ, सरकारले आमजनताको आवाजलार्ई मनन् गर्दै एमसीसी सम्झौता कार्यान्वयन गर्नबाट रोक्नुपर्छ । अन्यथा सरकारको यो राष्ट्रघाती र जनघाती कार्यविरुद्ध आमजनता सडकमा उत्रने छन् । राष्ट्र र जनघात गर्ने सरकार र त्यसका मतियार राजनीतिक दल र नेतालार्ई सडकबाटै कारवाही गर्ने छन् । त्यसकारण सरकार, सत्तसीन दल र संसद्वादी दल, नेताले एमसीसीमार्फत् गरेको राष्ट्र र जनघात सच्याउनुपर्छ । अन्यथा जनआक्रोशको ज्वालाले एमसीसी मात्र होइन, राष्ट्र र जनघात गर्ने राजनीतिक दल, नेता र तिनका मतियारहरुलार्ई समेत खरानी बनाउने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु