देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ

२०७९ चैत्र २६ गते, आईतवार

 नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले सय दिन पार गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले सरकार गठन गरेको सय दिन नाघिसक्दा समेत मन्त्री मण्डललाई पूर्णता दिन र देश जनताको लागि ठोस योजना ल्याउन सकेका छैनन् । बिगतमा दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले सरकारको बागडोर सम्हालेसंगै देशी विदेशी दलाल र प्रतिक्रयावादी शक्तिहरु नेपाललाई असफल राष्ट्र बनाउन उद्धत भएका छन्् । उनीहरु दश बर्षे जनयुद्धलाई अपराधीकरण गर्ने षड्यन्त्रमा कम्मर कसेर लागेका छन् । जसको प्रमाण स्वरुप देशभित्र जनयुद्धविरुद्ध भइरहेका टिकाटिप्पणी र हालै विश्व हिन्दु सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिलाई लिन सकिन्छ ।

 जनता वित्तीय संस्था, लघुवित्त र मिटरब्याजीको आतंकबाट त्राहिमाम छन््, महंगीले जनताको चुलोचौको बन्द हुने स्थिति बनेको छ, किसानले मल–बीउ, विद्यार्थीले पाठ्यपुस्तक, पीडितले उचित र समयमा न्याय पाएका छैनन् । शान्ति सुरक्षा एकादेशको कहानी भएको छ । जता हे¥यो उतै भद्रगोलको स्थिति छ अर्थात् सरकारका तीनवटै अंगहरु निकम्मा र भ्रष्टाचारका अखडामा परिणत भएका छन्् । देशी विदेशी दलाल र प्रतिक्रयावादी शक्तिहरुका कारण सरकारले कुनै कदम चाल्न सकेको छैन अर्थात् यी विषयमा सरकार निरिह सावित भएको छ । विगतमा सरकार, संसद्वादी दल र नेता कै कमजोरीका कारण एमसीसी सम्झौता संसद्बाट पारित भएको थियो भने अब एसपीपीपी सम्झौता लागू गर्न विभिन्न प्रपन्चहरु भइरहेका छन् । यी सबै घटनाले सरकार, संसद्वादी दल र नेता अर्थात् संसदीय व्यवस्थाले नेपालको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावनाको रक्षा गर्न सक्दैन भन्ने आमजनताले छर्लङ्ग बुझ्ने गरी प्रमाणित भएको छ ।

यस्तो अवस्थामा, स्वतन्त्र राष्ट र सार्वभौम नागरिक बन्न १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई जोगाउँदै देशमा वैज्ञानिक समाजवाद ल्याउन अहोरात्र खटिइरहेको नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गर्नुको विकल्प छैन । । नेपाललाई समृद्ध राष्ट्र र सुखी नेपाली बनाउन वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प छैन । यसकारण देशी, विदेशी दलालहरुको गोटी बन्दै देशलाई असफल राष्ट्र बनाउन उद्यत देशी विदेशी दलाल र प्रतिक्रयावादी शक्ति, संसद्वादी दल र नेताहरुलाई तह लगाउन र समृद्ध राष्ट्र र सुखी नेपाली बनाउन आमसचेत नागरिक, राजनीतिक दल र शक्तिहरुले नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गर्नुको विकल्प छैन । अन्यथा यो संसदीय व्यवस्था, संसद्वादी दल र नेताहरुले नेपाललाई असफल राष्ट्र बनाउदै भड्खालोमा हाल्ने निश्चित छ ।

प्रतिक्रियाहरु