वर्तमान राज्य सत्ता र देशको दुरावस्था

२०७९ भाद्र २७ गते, सोमबार

डा. केशव देवकोटा

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २२ गते निजामती सेवा दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उपस्थित रहेका कर्मचारीहरुलाई सम्बोधन गर्दै देशमा कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आइसकेको बताउनु भएछ । उहाँले यो अवस्था आउनुमा कर्मचारी दोषिरहेको साबित गर्नका लागि उपरोक्त कथन अगाडि सार्नु भए पनि यसले देशको यथार्थ अवस्थाको चित्रण गरेको छ । यसले वर्तमान सरकारअन्तर्गतका कर्मचारीहरु मात्र होइन, राज्यका सञ्चालकहरु र यहाँको राज्य व्यवस्थानै दोषिरहेको स्पष्ट छ । देश आर्थिकरुपमा मात्र नभएर सामाजिक र राजनीतिकरुपमा समेत चौपट बन्दै गएको विभिन्न घटनाक्रमहरुले स्पष्ट गरेका छन्् । अझ यसलाई केही स्वदेशी÷विदेशी शक्ति केन्द्र र सत्तामा बसेकाहरुले सुनियोजितरुपमा देशलाई नै चौपट बनाउँदै लगेको भनेमा फरक नपर्ने भएको छ । सत्तामा बसेकाहरुका कारण देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएका अनगिन्ती उदाहरणहरु रहेका छन्् । यस आलेखमा केही सामान्य उदाहरण मात्र प्रस्तुत गरिन्छ । श्रीलंकाको घटना बाहिर आएपछि विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै वर्तमान सरकारले नै गत बैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरेर विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो  । चार महिना अघि मात्र त्यस्ताका वस्तुको आयातमा बन्देज गरेको यही सरकारले व्यापारीहरुसँगको बिशेष सौदाबाजीमा फेरि भदौ १५ गतेबाट नेपालका लागि अनाबश्यक कतिपय वस्तुको आयात खुलाएको छ  । त्यस्ता वस्तुमा चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे÷कुरमुरे÷लेज, रंगीन टीभी र हिरासमेत रहेका छन्् । नेपालमा जुवा ऐन–२०२२ लेनै जुवातास आयातमा निरुत्साहित गरेको थियो । जुन ऐनले जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाउनसमेत भनेको छ  । तर, हालको सरकार तिनै वस्तुहरुको आयात खुल्ला गर्छ र विदेशी मुद्रा खर्च गर्छ । वास्तवमा उपरोक्त वस्तुहरु नेपालको नाममा आयात गरेर भारतमा खपत गराउने गरेका रहस्यहरु खुलेका छन्् । किनकि हिराको ब्यापार नेपालमा प्रायः हुँदैन । हुन त करका दरहरुमा गरिएको हेरफेरलाई लिएर पदबाट राजीनामा गरेका अर्थमन्त्रीलाई पुनः नियुक्त गरिएको छ । जुन विवाद हालसम्म पनि कायमै छ । त्यसैगरी पश्चिम सेतीलाई भारतको हातमा पु¥याउने हाइप्रोफाइल एजेन्ट रहेका छन्् । वर्तमान देउवा सरकारले चुनावकै मुखमा श्वेतपत्र नै जारी गरेर दुई ठूला जलविद्युत आयोजना भारतलाई सुम्पेको छ । अन्य योजनाहरु पनि भारतलाई सुम्पेर नेपालको जलश्रोतमा भारतको एकाधिकार कायम गराउने प्रयास भैरहेका घटनाहरु उद्घाटित भएका छन्् । पश्चिम सेती र सेती नदी छ दुवै परियोजना हालको सम्झौताको चरणमा आइपुग्नुमा ०७८ चैत १८ गतेदेखि भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण मुख्यकारण रहेको छ । जतिबेला दुवै देशका प्रधानमन्त्रीले दुवै देशले ऊर्जामा सहकार्य गर्ने सहमति गरेको समाचार बाहिर आएको थियो । सरकारले आब २०६८÷०६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको नाम दिएकोमा सो सूचीलाई तन्काएर २४ वटा पु¥याइएको छ । तर, राष्ट्रिय गौरवका भनिएका ती आयोजनाहरु उपलब्धि दिनेभन्दा पनि राष्ट्रिय ढुकुटीमा ऋणभार थप्ने माध्यम बनेका छन्् । जसका नाममा विदेशी संस्थाहरुबाट भारी मात्रामा ऋण लिने र सत्तामा रहेकाहरुका आफन्तलाई जागिर ख्वाउने काम भएको छ । त्यसमध्ये २१ वटा आयोजनाको प्रगति अति सुस्त रहेको सरकारी तथ्यांक छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले बेला बेलामा जारी गर्ने आर्थिक बिवरणअनुसार नेपालको चालु खाता र भुक्तानी सन्तुलनको अवस्था नाजुक बन्दैगएको छ । सामान्यतया वस्तु तथा सेवाको आयातमा बाहिरिने र निर्यातबाट भित्रिने रकमको अन्तर बुझाउने चालु खातामा नेपालको घाटा करिब छ खर्ब रुपैयाँ पुगेको बताइन्छ । भुक्तानी सन्तुलनको घाटा पनि पौने तीन खर्ब रुपैयाँ पुगिसकेको अवस्था छ । चालु खाता घाटा पनि १२–१३ प्रतिशत पुगेको देखिएको छ । ६–७ खर्बको चालु खाता घाटा पूर्ति गर्न ५–६ खर्ब ऋण र एक खर्ब जति विदेशी लगानी ल्याउन सक्नुपर्ने अवस्था सिर्जना भएको छ । श्रीलंकाले गत मे महिनामै विदेशी ऋणको साँवाब्याज भुक्तानी गर्न नसकेपछि अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफलाई गुहार्नु परेको छ । जससँग आर्थिक उद्दार प्याकेजबारे सघन छलफल थालेको देखिन्छ । अत्यधिक ऋण र वैदेशिक मुद्राको तीव्र स्खलन व्यहोरिरहेको पाकिस्तानले यसै महिना कोषसँग पहिल्यै गरिएको छ अर्ब डलर बराबरको आर्थिक उद्धार प्याकेजसम्बन्धी सहमतिलाई पुनर्जागृत गराएको समाचार बाहिर आएको छ । नेपालले समेत वैदेशिक ऋण जति पाए पनि लिने नीति अख्तियार गरेको छ । संसदको निर्वाचन घोषणा भएर कामचलाउको अवस्थामा पुगिसकेको वर्तमान सरकारले अनेक बहानामा विदेशी ऋण स्वीकार गरेका समाचारहरु निरन्तर सार्बजनिक भैरहेका छन्् । एकातिर वर्तमान सरकार सरकारी कर्मचारीलाई तलब ख्वाउन विदेशी गुहार्नुपर्ने अस्थामा पुगेको छ भने अर्कातिर प्रदेशका सरकारहरुले ‘उल्फाको धनमा पूmपुको श्राद्ध’ गर्ने नीति लिएको देखिएको छ । उनीहरु गाउँगाउँमा आफन्तलाई साइकल बाँड्नेदेखि भैसीलाई सुत्केरी भत्ता दिनेसम्मका काम गरिरहेका छन्् । आफ्नो तलव भत्ता आफैँ बढाइरहेका छन्् । उनीहरुको खर्चकोस्तर अमेरिकाको भन्दा चर्को छ । बिगत पाँच वर्षको अवधीमा सातवटा प्रदेशमा १६ जना मुख्यमन्त्री र २३० जना मन्त्री भएका छन्् । उनीहरुको तलव भत्ता र कार्यालय व्यवस्थापन खर्च कति होला ? सहजै अनुमान गर्न सकिन्छ । केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेशहरुमा पनि सरकार ढाल्ने र नयाँ बनाउने खेल शुरु हुने गरेको छ । केन्द्रमा देखिएको सरकार ढाल्ने र नयाँ बनाउने दाउपेच प्रदेशहरुमा पनि देखिने गरेको छ । प्रदेशहरुमा मुख्यमन्त्री र मन्त्री मात्र नभई प्रदेश प्रमुखहरु पनि हटाउने र नयाँ नियुक्त गर्ने काम भएको छ । सातवटा प्रदेशमा गत पाँच वर्षको अवधिमा २४ जना प्रदेश प्रमुख नियुक्त गरिएको ताजा उदाहरण छ । उनीहरुले हेरफेर गरेका कर्मचारी र विभिन्न निकायका प्रमुखहरुको संख्या गनिसाध्य छैन । प्रदेशहरु केन्द्र सरकारका सहयोगी होइन, मुख्य दुश्मनजस्ता भएका छन्् । प्रदेशहरुका बीचमा मात्र नभएर प्रदेश र सरकारकाबीचमा बेमेल र बिभाजन बढ्दो छ । प्रदेशहरुलाई केन्द्रको नियन्त्रण बाहिर जान सक्ने वातावरण बढाउँदै लगिएको छ ।

केन्द्र र प्रदेश सरकारमा बसेकाहरुले नै देशमा अस्थिरता बढाउने काम गरिरहेका छन्् । हुँदाहुँदा गतसाता मात्र सांसदहरुको म्याद आगामी फागुनसम्म बढाएर देशलाई आर्थिक र राजनीतिकरुपमा समेत बोझ बढाउने प्रयास भएको थियो । जसले वर्तमान सरकार देश र जनताप्रति कति जिम्मेवार रहेछभन्ने स्पष्ट गरेको छ । सांसदहरुको कार्यकालको दिन र घण्टा गन्ने र तलव भत्तामा नाफा नोक्सानका कुराहरु आएका थिए । त्यस्तो अवस्थामा नेकां र माओवादी केन्द्रका अगाडि राप्रपाका अध्यक्षले नैतिकता प्रदर्शन गर्नुपरेको थियो । गत केपी ओली सरकारकै पालामा विवाद भएर थन्क्याइएका नागरिकता र मिडिया काउन्सिललगायतका विवादास्पद विधेयकहरुलाई फाष्ट ट्रयाकबाट पारित गराउने प्रयास मात्र होइन जोरजुलुम भैरहेको छ । नागरिकतामा राष्ट्रिय सहमति कायम हुनुपर्ने र संसदीय मान्यताअनुसार पनि सो विधेयक सम्बन्धित संसदीय समितिहरुमा छलफल भएर परिमार्जन भएको हुनुपर्नेमा जबरजस्त पारित गराउने प्रयास हुनुले देशको राष्ट्रिय राजनीतिमै दरारको अवस्था सिर्जना भएको छ । वर्तमान प्रतिनिधिसभाबाटै निर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीले दिएका सुझावहरुको संसदले नै अबज्ञा गरेको छ । नागरिकताजस्तो विधेयक बिधिसम्मत ढंगले राष्ट्रिय सहमति कायम गरेर पारित गर्नुपर्नेमा सत्ता र शक्तिमा रहेकाहरुले नै राष्ट्र प्रमुखलाई महाभियोग लगाउने र अदालतमा उभ्याउनेजस्ता धम्की दिन थालेका छन्् । उनीहरुको त्यो धम्की देशमा अराजकता बढाउनेमा केन्द्रित देखिन्छ । तत्कालीन केपी ओली सरकारले अमेरिकाको मिडिया काउन्सिल ऐनको हुबहु गरेर बनाएको र त्यतिबेला बिरोध भएर थन्क्याइएको मिडिया काउन्सिल विधेयकलाई अगाडि सारेर देशको चौथो अंगलाई नियन्त्रण गर्ने प्रयास भैरहेको छ । वर्तमान सत्ता र शक्तिमा रहेकाहरुका लागि देशको शासन सत्ता बाँदरका हातमा नरिवल भनेजस्तो भएको छ । हरेक क्षेत्रमा पाँच दलीय भागबण्डाका कुराहरु भैरहेका छन्् । फेरि पार्टीभित्र गुटगत भागबण्डाका कुराहरु बेग्लै छन्् ।

देशमा द्वन्द्व बढाउने, सो द्वन्द्वको व्यवस्थापन इन्डोपश्चिमा शक्तिको हित अनुकूल गर्ने÷गराउने कामहरु भैरहेका छन्् । नेपालमा तीब्र बिरोध भैरहेको र संसदबाट पारित भएको भनिए पनि कतिजना सांसदको हस्ताक्षरमा पारित भएको भन्न नसकिरहेको विवादास्पद एमसीसी योजना कार्यान्वयन गराउन हालै मात्र अमेरिकाको वाशिङ्टनमा बैठक बसेको छ । चुनावको मुखमा अमेरिकी सांसद र मन्त्रीहरुको नेपालमा लर्को लागिरहेको छ । वर्तमान सरकारले अमेरिकाका लागि नियुक्त गरेका राजदूत एमसीसी कार्यालयमा निरन्तर धाइरहेको कुरा सार्बजनिक भएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाबाट सरकारी कर्मचारीलाई तलब ख्वाउनसमेत विदेशी गुहार्नुपर्ने अवस्था आएको जुन अभिव्यक्ति सार्बजनिक भयो, त्यो ज्यादै खतरनाक र सम्बेदनशील छ । यो सबैको मुख्यकारण हालको राजनीतिक ब्यवस्थानै असफल भएको र नेपालले फेरि आमूल परिवर्तनको माग गरेको संकेत पनि हो । पछिल्ला कतिपय घटनाक्रमहरुले वर्तमान सरकारले आगामी मंसिर ४ को निर्वाचन गराउन नसक्ने अवस्था सिर्जना हुँदै गएको स्पष्ट गरेका छन्् । हाल नेपालको सत्ता र शक्तिमा रहेकाहरुले चाहेको भए संसदमा प्रतिनिधित्व रहेका र नरहेका विभिन्न दलहरुलाई सहमतिमा लिएर देश हितका कामहरु हुन सक्थे । तर सरकारमा रहेकाहरुमा मौका परेसम्म जे गरे पनि हुन्छ भन्ने सोच बढेर गएको देखिएको छ । पाँच दलीय गठबन्धनकै बीचमा समन्वय गर्न नसक्नेहरुले देशका सबै राजनीतिक पार्टी र शक्तिलाई देशको हितको पक्षमा समन्वयगर्ने अपेक्षागर्नु मात्र पनि गल्ती हुन्छ । यो आज देशको यथार्थता भएको छ ।

प्रतिक्रियाहरु