सरकार, संसदवादी दल र नेता नै संकटको कारक

२०७९ जेष्ठ २९ गते, आईतवार

देश र जनताको अवस्था दिनप्रतिदिन खस्कँदै गएको छ । देशमा साम्राज्यवादी हस्तक्षेप दिनप्रतिदिन बढ्दै गएको छ भने जनजीविका चौपट भएको छ । एमसीसीको आडमा राष्ट्रयतामाथि धावा बोल्ने कार्य भएको छ भने महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितताले जनजीविका संकटग्रस्त बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको बैशाख महिनासम्मको आर्थिक स्थितिमा शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब पुगेको जनाएको छ भने मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ । यसबाट के पुष्टि हुन्छ भने सरकारको नालायकीपन कै कारण देश र जनता धराशयी हुने अवस्थामा पगेको छ । यी सबै तथ्य हेर्दा सरकार पूर्ण रुपमा असफल भइसकेको पुष्टि हुन्छ । यस्तो अवस्थामा समेत आपूmलाई प्रमुख माने र ठाने संसद्वादी राजनीतिक दल र तिनका नेताहरु देश र जनताभन्दा सट्टा र सरकारको छिनाझपटीमा लागेका छन् । जुन ज्यादै निन्दनीय, घृणित र लज्जास्पद कार्य हो । संसद्वादी राजनीतिक दल र नेताहरुको यस्तो हर्कत हेर्दा यिनीहरुबाट देश र जनताको रक्षा र हित हुने सक्दैन भन्ने ठोकुवा गर्न सकिन्छ ।

तसर्थ, राष्ट्र, राष्ट्रियता र जनता तथा जनाजीविकालाई केन्द्रमा राख्दै हालै नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसंघर्षलाई आमस्वाभिमानी नेपाली जनताले साथ सहयोग गरेर सफल पार्नुको विकल्प छैन । देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिबाट मात्र सम्भव छ । त्यसैले देशलाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन तत्काल प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहको घोषणा गर्नुपर्छ । त्यही सरकारको नेतृत्वमा देशमा कस्तो शासन व्यवस्था र शासन प्रणाली लागू गर्ने हो, त्यसको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ । जनताले रोजेको व्यवस्था र शासन प्रणालीले मात्र देशको वर्तमान राजनीतिक संकटको दीर्घकालीन समाधान हुन सक्छ । अन्यथा संसद्वादी राजनीतिक दल र तिनका नेताहरुले देश र जनतालाई भड्खालोमा हाल्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु