एमसीसी सम्झौता खारेज गर

२०७८ फाल्गुन ८ गते, आईतवार

सरकार एमसीसी सम्झौता संसद्बाट पारित गर्न तम्सिएपछि अहिले देशव्यापी रुपमा संघर्ष चर्कंदै गएको छ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल, दुई मोर्चालगायत बिभिन्न राजनीतिक दल, संघसंस्थाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेपाल बन्दलगायत संसद् भवन घेराउ कार्यक्रम गरिरहेका छन् । एमसीसी सम्झौता नेपालको हितमा छैन र तत्काल खारेज गर्नु पर्छ भन्दै आमक्रान्तिकारी र राष्ट्रवादी दल तथा नेतालगायत आमस्वाभिमानी जनताले आ–आफ्नो स्थानबाट चर्को बिरोध जनाउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौताको ५६ अर्ब पैसा लिँदा नेपालको स्वाधीनता नै गुम्ने र देशको स्वाधीनता ५६ अर्ब पैसासँग बेच्न खोज्नु गम्भीर राष्ट्रघात भएको भन्दै चौतर्फी रुपमा विरोध, भण्डाफोर र प्रतिरोध भइरहेका छन् । तर, सरकार यी सबै कुराको नजरअन्दाज गर्दै संसद्बाट एमसीसी सम्झौता पारित गराउन कम्मर कसेर लागेको छ । जुन ज्यादै निन्दनीय तथा राष्ट्रघाती र जनघाती कार्य हो ।

अमेरिकी अधिकारीहरुले एमसीसीलाई इन्डोप्यासिफिक मिलिटरी स्ट्राटेजीको अभिन्न अंग भएको बताउँदै आएका छन् । तसर्थ यो सम्झौतालाई नेपालबाट संसद्बाट अनुमोदन गर्नुको अर्थ नेपाल स्वतः अमेरिकाको यही आइपिएसको सदस्य हुन पुग्दछ र नेपाल अन्ततः अमेरिकाको उपनिवेश बन्न पुग्ने आमक्रान्तिकारी र राष्ट्रवादी दल तथा नेतालगायत आमस्वाभिमानी जनताको बुझाइ छ । अमेरिका चीनका विरुद्ध नेपाली भूमि, यहाँको सस्तो श्रम र कच्चा पदार्थ तथा समग्र प्राकृतिक सम्पदा प्रयोग गर्न चाहन्छ । भूराजनीतिक हिसाबले अत्यन्तै संवेदनशील अवस्थामा रहेको नेपाल असंलग्न पराराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा नै देशको स्वाधीनता कायम राख्न सफल हुँदै आएको राष्ट्र हो । दुई ठूला विशाल राष्ट्रहरुको बीचमा रहेको नेपाल कुटनीतिक सन्तुलनका कारण अस्तित्वमा रहेको छ । नेपाल कुनै शक्तिराष्ट्रतपर्फ ढल्कने वा कुनै शक्तिराष्ट्रको सुरक्षा छाताभित्र जाने बित्तिकै नेपालको स्वाधीनता र सार्वभौमिकतामा गम्भीर संकटमा पर्छ । नेपालको स्वाधीनतामाथि सधैँ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट खतरा रहँदै आएको छ । उत्तरतर्फको छिमेकमा चीन भएकै कारण नेपालको स्वाधीनता हडप्न पटक–पटक प्रयास गरे पनि भारतीय शासकहरु सफल हुन सकेनन् । र, अब अमेरिका र भारत एकसाथ नेपालको स्वाधीनता हडप्न अगाडि बढेका छन् । एमसीसी सम्झौता कति राष्ट्रघाती छ भन्ने कुरा ‘एमसीसी सम्झौता र नेपालको कानुन बाझिएमा एमसीसी सम्झौताको प्राबधान लागू हुने, अमेरिकाको विद्यमान र पछि बन्ने कानुनहरू एमसीसी परियोजनामा लागू हुने, एमसीसीसँग सम्बन्धित अधिकारीहरूका गतिविधिहरू र त्यसबाट उत्पन्न हुने विवादहरू अमेरिकामा मात्र कानुनी पुर्पक्षमा जाने, नेपाल सरकारले एमसीसी परियोजना सञ्चालन गर्न एमसीए – नेपाल गठन गर्ने जुन आफैँ निर्णय गर्न स्वतन्त्र हुने, एमसीसीमा हुने रोजगारहरूबारे नेपालको कानुन नलाग्ने, एमसीसी परियोजनाको लेखा परीक्षण नेपालले गर्न नपाउने र एमसीसी परियोजनाअन्तर्गत निर्माण र प्राप्त हुने बौद्धिक सम्पत्तिमा सम्पूर्ण रुपमा अमेरिकाको हक कायम हुने’ जस्ता प्रावधानले पुष्टि गर्दछ ।

यस्तो अवस्थामा स्वाभिमानी नेपाली जनता, यहाँका सच्चा देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरु एकढिक्का भएर साम्राज्यवादी, विस्तारवादी शासकहरु र तिनीहरुका नेपाली दलालहरुका विरुद्ध एकसाथ लड्नुको विकल्प छैन । जसको पहल नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । हालै नेपाल कम्युनिस्ट पार्टीको पहलमा सो पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) । नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाललगायत छ राजनीतिक दल र दुई मोर्चाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै सडक संघर्षको घोषणा गरेका छन् । जुन देश र जनताको लागि ज्यादै खुशीको विषय हो ।

अन्त्यमा, एमसीसी सम्झौता राष्ट्रघाती भएको छर्लङ्ग भएपछि राष्ट्रिय स्वाधीनताको पक्षमा खडा हुँदै सरकारलाई उक्त राष्ट्रघाती कदम अगाडि नबढाउन खबरदारी गर्न उत्रिएका राजनीतिक दल, नेता र स्वाभिमानी जनतामाथि सरकारले जुन दमन गरेको छ, सरकारले त्यसको समीक्षा गर्नै पर्छ र आगामी दिनमा त्यस्तो हर्कत नदो¥याउने प्रतिबद्धता गर्नु पर्छ । साथै सरकारले देशका क्रान्तिकारी राजनीतिक दल, नेता र स्वाभिमानी नेपाली जनताको आवाजको सुनुवाई गर्दै तत्काल एमसीसी सम्झौता खारेज गर्नुपर्छ । अन्यथा एमसीसी सम्झौताबिरुद्ध उठेको जनज्वालाले एमसीसी सम्झौता मात्र होइन एमसीसी भित्र्याउन खोज्ने संसदीय व्यवस्था, संसद्वादी दल र नेताहरुलाई खरानी बनाउने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु