पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर

२०७८ माघ २३ गते, आईतवार

नेपाल आयल निगमले गत मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर रु १४२, डिजल र मट्टितेल प्रतिलिटर रु १२५ मूल्य कायम गरेको छ । आयल निगमको यस कार्यले अब सम्पूर्ण वस्तुको मूल्यवृद्धि हुने निश्चित छ । सरकारले महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसक्दा जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको थियो । यसमाथि झन् आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिदिएपछि कालोबजारी र अनियमितता गर्नेलाई ऊर्जा थपिदिएको छ । जनताको दैनिकीसँग जोडिएको पेट्रोलियम पदार्थका मूल्यवृद्धि गर्नु आफैँमा आपराधिक कार्य हो । सरकार यस विषयमा सचेत हुनैपर्छ । र, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसमोर्चाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई आग्रह गर्दै सडक संघर्षमा उत्रिएका छन् । उनीहरुले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन चर्काउने घोषणा गर्दै प्रत्येक दिन सडक संघर्षका कार्यक्रम गर्दै आएका छन् । जसअन्तर्गत उनीहरुले माघ २० गते देशब्यापी कोणसभा, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल निगम कार्यालय र डिपोहरु घेराउ र माघ २२ गते देशब्यापी प्रचार–प्रसार गरेका भने माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने र माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने तथा माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने बताएका छन् । यसैगरी, नेकपानिकट ती संगठनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यबृद्धि तत्काल फिर्ता नलिए योभन्दा उच्च संघर्षको कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत सम्बन्धित पक्षलाई दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसमोर्चाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध गरेको संघर्ष कुनै पार्टी बिशेष नभएर आमजनताको प्रतिनिधिमूलक संघर्ष हो । त्यस कारण सरकारले उनीहरुको मागको तत्काल सुनुवाई गर्नु पर्छ । अन्यथा सरकारको गैरजिम्मेवारीपन र आयल निगमको स्वेच्छाचारिताविरुद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसमोर्चाहरुले थालेको यस संघर्षलाई सबैले साथ र सहयोग दिनु आमजनताको लागि बाध्यता बन्ने निश्चित छ । किनकि राज्यकै कारण दिनप्रतिदिन जनजीवन कष्टकर र अस्तव्यस्त बन्दै गएको छ तर सरकार मौन छ । यस्तो स्थितिमा जनता जाग्नुको विकल्प छैन । तसर्थ, सरकारले जनताको मर्म बुझी तत्काल पेट्रोलियम पदार्थमा गरिदिएको मूल्यवृद्धि खारेज गर्नुपर्छ । अन्यथा सरकारको जनताप्रतिको गैरजिम्मेवारीपनप्रति नेपाली जनता चुप लागेर बस्दैनन् र नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसमोर्चाहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध गरेको संघर्षमा सहभागी हुने छन् । सडकबाटै जनविरोधी सरकारलाई सजाय दिनेछन्, चेतना भया ।

प्रतिक्रियाहरु