जनपत्रकार संगठन लुम्बिनी प्रदेशद्वारा पत्रकार महासङ्घलाई ध्यानाकर्षण पत्र

२०७८ माघ ६ गते, बिहीबार


काठमाडौं । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई बुटवलमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष दिपेश विष्टको नेतृत्वमा गएको टोलीले महासंघका प्रदेश महासचिव विक्रम खड्कालाई ज्ञापन पत्र बुझाएको हो । विष्टको नेतृत्वमा प्रदेश सचिव अनिल नेपाली, प्रदेश सहसचिव विहानी मगर, रुपन्देही जिल्ला संयोजक श्रीधर ज्ञवालीको सहभागिता रहेको थियो । ज्ञापनपत्रमा प्रदेशमा क्रियाशील श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वसहित भौतिक सुरक्षाको प्रत्याभूत हुने खालको वातावरण निर्माणमा सम्बन्धित सरोकारवालाहरुसँग आवश्यक पहल गर्नुपर्ने, कोभिडको बेला अग्रमोर्चामा अहोरात्र खट्ने पत्रकारहरुको बिमा, जोखिम भत्ता, स्वास्थ्य उपचारको साथै कोभिडकै कारण रोजगार गुमाएका पत्रकारहरुको पुनस्र्थापना गरिदिन सरोकारवालासँग पहल गर्नुपर्ने, प्रदेशभित्र रहेका सदस्यहरुको सुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाउँदै क्रियाशील पत्रकारहरुलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने वातावरणको सुनिश्चित गर्नुपर्ने लगयातका मागहरु रहेका छन् ।


यसैगरी , जनपत्रकार संगठन नेपाल दाङले नेपाल पत्रकार महासंघ दाङ शाखालाइ ज्ञापनपत्र बुझाएको छ । मंगलबार महासंघको कार्यालयमा सो संगठनका जिल्ला अध्यक्ष सहितका नेताहरु पुगि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित अनुशासित र जिम्मेवार बनाउन संगठनद्वारा विभिन्न सुझावसहित ज्ञापनपत्र पेश गरिएको छ ।
जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत तथा भौतिक सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न पहल गर्नुपर्ने, कोभिड १९ का कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने साथै कोभिड १९ को तेस्रो लहरको संक्रमण दिनानुदिन बढिरहेकाले संचारकर्मीहरुको प्रभावकारी परिक्षण, संक्रमित संचारकर्मीहरुको उचित उपचारको व्यवस्थापन र कोभिड १९ विरुद्धको खोप आम संचारकर्मीको पहुँचमा पुर्याउनुपर्ने, समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न पहल गर्नुपर्ने, महासंघको सदस्यता प्राप्त गर्ने सन्दर्भमा देखिएका समस्याहरु हल गर्नुपर्ने, पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने, पत्रकारिता गरिरहेका पत्रकारहरुको बृद्धि विकास र क्षमता अभिबृद्धिका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने लगायतका सुझावसहितको ज्ञापनपत्र पेश गरिएको हो । ज्ञापनपत्रका विषयमा बोल्दै महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले संगठनद्वारा विभिन्न सुझावसहितका मागहरुप्रति महासंघ सकारात्मक रहेको बताए । उनले आगामी दिनमा महासंघले संगठनसँग समन्वय गर्दै पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका लागि हातेमालो गर्दै अघि बढ्ने समेत बताए ।
यसैगरी, जनपत्रकार संगठन नेपाल प्युठानले पत्रकारिता क्षेत्रलाई मर्यादित र अनुशासित बनाउन नेपाल पत्रकार महासंघ प्युठानलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार जनपत्रकार संगठन प्यूठानका अध्यक्ष राजेन्द्र रावत क्षेत्रीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ५ बुँदे सुझाव पेश गरेको छ । ज्ञापन पत्रमा श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गर्ने, कोभिडको कारण रोजगारी गुमाएका सञ्चारकर्मिको पुर्नस्थापना, राहत र स्वास्थ्य उपचारको लागी पहल गर्नको लागि आग्रह समेत गरिएको छ ।


त्यस्तै पत्रकार महासंघको साधारण सदस्यको नविकरण गर्ने पत्रकारलाई यथासिघ्र परिचयपत्र उपलब्ध गराउन, महासंघलाई विदेशी सहयोगबाट सञ्चालन नगरि स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै समानुपातिक विज्ञापन प्राणलीलाई कार्यान्वयनको लागि संस्थागत पहल गर्न र पत्रकारको क्षमता विकासको लागि तालिम र प्रशिक्षणको ब्यवस्था गर्न पनि ज्ञापन पत्रमार्फत सुझाव दिइएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले संगठनले उठाएका मुद्दा साझा मुद्दा भएकोले महासंघ यस विषयमा सकारात्मक रहेको बताएका छन् । संगठनका अध्यक्ष राजेन्द्र रावत क्षेत्री र कोषाध्यक्ष गिता गौतम सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार