पढ्नै पर्ने पुस्तक : ‘मार्क्सवाद विकासको इतिहास’

२०७८ मंसिर ७ गते, मंगलवार


काठमाडौँ । वरिष्ठ मार्क्सवादी लेखक हस्तबहादुर केसीको ‘मार्क्सवाद विकासको इतिहास’ नामक पुस्तक प्रकाशित भएको छ । मार्क्सवादी दर्शन सम्बन्धी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादवारे (२०५९) मार्क्सवादका आधारभूत सिद्धान्तहरु (२०६३) र मार्क्सवादी दर्शनको रुपरेखा (२०६७) नेपालमा राजतन्त्रको अन्त्य किन ? (२०६४), एमालेको दक्षिणपन्थी संशोधनवादमा पतन (२०६७), सिस्ने र जलजला हिमालको काखमा जन्मिएको माओवादी जनसत्ता (२०६९), क्रान्ति र विद्रोह (२०७०) पुस्तकहरु प्रकाशित गरिसकेका केसीको यो आठौं पुस्तक हो । वरिष्ठ मार्क्सवादी लेखक हस्तबहादुर केसीले आफु मार्क्सवादी दर्शनको एक विद्यार्थी र अध्ययता भएका कारणले पनि यो बृहत् पुस्तक तयार पार्ने विषय आफ्नो कर्तव्यभित्र परेको बताएका छन । उनले यो पुस्तक नेपालको मार्क्सवादी दर्शनशास्त्रको फाँटमा एउटा महत्वपूर्ण उपलब्धि हुने र उत्तरमाक्र्सवादी, नवसंशोधनवादी तथा नवमार्क्सवादीको बिगबिगी बढिरहेको आजको सन्दर्भमा यस पुस्तकले माक्र्सवादका तमाम अध्येताहरुलाई नयाँ तरिकाले अध्ययन गर्न सहयोग पु-याउने विश्वस्त भएकोसमेत बताएका छन ।
लेखक केसीले आफ्नो पुस्तकको लेखकीयमा लेखेका छन – “हालै मार्क्सवाद विकासको इतिहास शीर्षकमा मैले एउटा पुस्तक तयार पारेको छु । यो भन्दा पहिले मैले मार्क्सवादी दर्शन सम्बन्धी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादवारे (२०५९) मार्क्सवादका आधारभूत सिद्धान्तहरु (२०६३) र माक्र्सवादी दर्शनको रुपरेखा (२०६७)नामक शीर्षकमा तीनवटा पुस्तकहरु प्रकाशित गरिसकेको छु ।
पुस्तक लेखनको यात्रामा यो मेरो आठौं पुस्तक हो । यी तीन वटा मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु वाहेक अन्य सैद्धान्तिक, राजनीतिक पुस्तकहरमा नेपालमा राजतन्त्रको अन्त्य किन ? (२०६४), एमालेको दक्षिणपन्थी संशोधनवादमा पतन (२०६७), सिस्ने र जलजला हिमालको काखमा जन्मिएको माओवादी जनसत्ता (२०६९), क्रान्ति र विद्रोह (२०७०) समेत गरी सात वटा पुस्तकहरु यस अघि प्रकाशित भैसकेका छन् ।
मेरो पुस्तक लेखनको सिलसिलामा आठौं क्रमसंख्यामा रहेको यो पुस्तक समय र परिश्रम बढि नै खर्च गरिएको छ । यद्यपी यो पुस्तक लेखनमा कतिपय कमी, कमजोरी तथा सिमाहरु अवश्यै रहन गएका छन् । किनकी दर्शनशास्त्र, मार्क्सवाद र मार्क्सवादी दर्शन तथा यसको विकास सम्बन्धि गहन विषयमा प्रवेश गरेर यसको समग्र पाटाहरुको अध्ययन गर्ने र लेखन शिल्पिमा ढाल्दै यस प्रकारको माक्र्सवादी दार्शनिक पुस्तक तयार पार्ने भनेको अलि कठिन विषय नै हो भन्ने लाग्दछ । तर पनि म माक्र्सवादी दर्शनको एक विद्यार्थी र अध्ययता भएका कारणले पनि यो बृहत् पुस्तक तयार पार्ने विषय मेरो कर्तव्य भित्र पर्दछ भन्ने मलाई अनुभूति भइरहेको छ । यस प्रकारका सिमाहरु हुँदाहुँदै पनि लामो समयदेखि प्रतीरक्षरत मेरो अमीष्ट पुरा भएकोमा मलाई धेरै प्रसन्नताको अनुभूति भइरहेको छ ।
प्रस्तुत पुस्तक बाह्र खण्डहरुमा विभाजित छ । पुस्तकको आकारगत संरचना सामान्य प्रकारको छ । विषयवस्तुलाई प्रस्तुत गर्ने प्रक्रियामा यस पुस्तकमा दर्शनशास्त्रको संक्षिप्त ऐतिहासिक विकास सहितको विश्लेषण तथा माक्र्सवादको जन्म र माक्र्सवादको विकासक्रममा, माक्र्सवाद– लेनिनवाद –माओवादसम्मको विकासक्रमका सन्दर्भमा विषयवस्तु प्रस्तुग गर्ने काम भएको छ । यसको साथमा कार्ल माक्र्स (१८१८ – १८८३) देखि एंगेल्स, लेनिन, माओत्सेतुङ (१८९३ – १९७६) सम्मका विश्वसर्वहारावर्गका महान् गुरूहरुको प्रमुख योगदानहरुलाई समेट्न र वर्तमान सन्दर्भका समस्याबारे पनि उल्लेख गर्ने प्रयत्न गरिएको छ ।
यो पुस्तक तयार पार्दा मार्क्सवादी धाराका साथै गैरमार्क्सवादी धारा अर्थात् संशोधनवादी धाराका विभिन्न प्रवृत्तिहरुका वारेमा समेत चर्चा गर्ने प्रयत्न गरिएकोे छ ।
कार्ल माक्र्सले फ्रेडरिक एङ्गेल्सका साथमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा तमामा खाले अवैज्ञानिक चिन्तन, प्रवृत्ति तथा मान्यताका विरुद्ध सैद्धान्तिक सङ्घर्ष चलाउँदै विश्व सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय र सिङ्गो मानव जातिको क्रान्ति र मुक्तिको सिद्धान्तका रुपमा माक्र्सवादको प्रतिपादन गर्नुभयो । यो उहाँहरुको विश्वको इतिहासमा एक अद्वितीय तथा महान् युगान्तकारी कदम थियो ।
मानव समाजको विकासको क्रममा माक्र्सवादको जन्म पुँजीवादी युग र सर्वहारा क्रान्तिको प्रारम्भिक तथा एक ऐतिहासिक अवधिमा भएको हो । र, त्यस वेला कम्युनिष्ट पार्टीको घोषणापत्र र पेरिस, कम्युन सम्बन्धी विषयमा विश्व ऐतिहासिक महत्वका दस्तावेजहरु तयार पारिएका थिए । साथै तीनले समाजवादी क्रान्ति सम्पन्न गर्दै साम्यवादको लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढ्नका लागि सैद्धान्तिक पथप्रदर्शन गरेका थिए ।
माक्र्सवादका तीन सङ्घटक अङ्ग छन् तीन हुन् – दर्शन, राजीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । दर्शनशास्त्रको फाँटमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्सवादी दर्शन हो । यो सबै खाले आदर्शवाद तथा अधिभूतवादका विरुद्ध वैज्ञानिक भौतिकवादको पक्षमा रहेको छ । त्यस्तै माक्र्सको राजनीतिक अर्थशास्त्र उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना, सामाजिक सत्ता र सामाजिक चेतना, उत्पीडक र उत्पीडक वर्गका बिचको सङ्घर्ष मूल्यको श्रम सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित छ । मुख्यतः माक्र्सको समाजवाद वैज्ञानिक समाजवाद हो । यो वर्ग, वर्गसङ्घर्ष, बलप्रयोगको मान्यता, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादको सिद्धान्तमा आधारि छ । माक्र्सवाद सर्वहाराको क्रान्ति र मुक्तिको सिद्धान्त भएकाले यसले विश्वलाई बुझ्ने मात्र होइन, मुख्यतः बदल्ने र बदलिएको वस्तुहरुको संरक्षण गर्ने कुरामा जोड दिन्छ ।
माक्र्सवादले वर्गसङ्घर्ष र सामाजिक जीवनको यथार्थमा प्रयोगको माग गर्दछ । माक्र्सवाद एउटा विज्ञान हो र विज्ञान प्रयोगसित अभिन्न रुपमा गाँसिएको हुन्छ । आफ्नो जीवनकालमा माक्र्स र एङ्गेल्सले माक्र्सवादको प्रतिपादनका साथै प्रयोगमा समेत विशेष ध्यान दिनुभयो । त्यसमा उहाँहरूको उल्लेखनीय भूमिका रह्यो । लेनिनले महान् तथा उत्कृष्ट समाजवादी क्रान्ति मार्फत रुसी धर्तीमा माक्र्सवादको प्रयोग गर्नुभयो । फलतः १९१७ अक्टोबर २५ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गरियो । अक्टुबर समाजवादी क्रान्ति एक ऐतिहासिक परिघटना थियो । यस क्रान्ति मार्पmत विश्व मानव समुदाय नयाँ युगमा प्रवेश गरेको थियो । अक्टुबर क्रान्तिले विश्वलाई झक्झक्यायो र संसारका विभिन्न देशहरुमा रुसी समाजवादी क्रान्तिको प्रभाव प¥यो । माक्र्सवादको सफल प्रयोग र विकासका बीचबाट लेनिनवाद जन्मियो । चीनमा माओत्सेतुङले माक्र्सवाद – लेनिनवादको सफल प्रयोग गर्दै सन् १९४९ अक्टोबर १ मा नयाँ जनवादी क्रान्ति संपन्न गर्नुभयो । त्यस पश्चात् विश्वका विभिन्न देशहरुमा सर्वहारा वर्गको नेतृत्वमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न हुँदै गए । चीनमा माओको नेतृत्वमा महान सर्वहारा सांस्कृतिक क्रान्ति (१९६६ – १९७६) गरियो । त्यसले विश्व क्रान्तिमा ठूलो उथल पुथल पैदा भएर गयो । यसै क्रममा माक्र्सवाद– लेनिनवादको प्रयोग र विकासका बीचबाट माक्र्सवाद– लेनिनवाद– माओवादको विकास भयो र मालेमावाद विश्वसर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्न पुग्यो ।
यो विज्ञानको विषय हो कि क्रान्ति एक निरन्तर प्रक्रिया हो । क्रान्तिले अनेकौं प्रतिक्रान्तिका बिचबाट पूर्णता प्राप्त गर्दछ । सन् १९५३ मा स्तालिनको निधन पश्चात् रुसमा सन् १९५६ मा खुश्चोभको नेतृत्वमा प्रतिक्रान्ति र्भइ पुँजीवादको पुनः स्थापना गरियो । चीनमा पनि माओको १९७६ सेप्टेम्बर ९ मा निधनपश्चात् प्रतिक्रान्ति भई पुँजीवादको पुनः स्थापना गर्ने काम भयो । यसले गर्दा विश्व सर्वहारा क्रान्तिले गम्भीर धक्का खान पुग्यो । रुसमा पुँजीवादको पुनःस्थापना पश्चात् माओले चीनमा त्यसो नहोस् भनेर महान् सर्वहारा साँस्कृतिक क्रान्तिको थालनी गर्नु भएको थियो । तर त्यसले पूर्णता प्राप्त गर्न सकेन ।
प्रतिक्रान्तिको यो प्रक्रिया सोभियत सङ्घको १९९० मा पतन पश्चात् विश्वका सारा प्रतिक्रियावादीहरु समाजवाद असफल भयो भन्दै चिच्याउन थाले । प्रतिक्रान्तिकारी प्रतिक्रियावादी एवं संशोधनवादी र क्रान्तिकारी माक्र्सवादीहरुका तर्फबाट विभिन्न प्रतिक्रिया तथा धारणाहरु, अभिव्यक्त गर्ने काम भए ।
यो सार्वभौम सत्य विषय हो कि माक्र्सवाद र सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले वैज्ञानिक र सर्वशक्तिमान रहेको छ । दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा मूल्यको श्रम तथा अतिरिक्त मूल्यको सिद्धान्त, समाजवादको क्षेत्रमा वर्ग, वर्गसङ्घर्ष, सर्वहारावर्गीय अधिनायकत्व एवम् राज्य सत्ताको विलोपीकरण अर्थात् साम्यवादमा आधरित प्रस्थापना ऐतिहासिक र तार्किक दुवै दृष्टिले वैज्ञानिक र सङ्गतिपूर्ण रहेका छन् । तर यसको विपरीत ध्रुव पुँजीवाद अर्थात् साम्राज्यवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले अवैज्ञानिक र असङ्गतिपूर्ण रहेका छ । आज यसले इतिहास, विचारधारा, मानिस र यथार्थ सबैको अन्त्यको घोषणा गर्ने उत्तरआधुनिकतावादलाई आफ्नो सैद्धान्तिक आधार बनाएको छ । दर्शनको क्षेत्रमा यसले शून्यवाद, अतर्कबुद्धिवाद, बहुलवाद र सारसङ्ग्रहवादमा आधारित अधिभूतवादी तथा आदर्शवादी चिन्तनलाई अङ्गालेको छ । अर्थशास्त्रको क्षेत्रमा यो एकाधिकारी पुँजीवाद, बहुराष्ट्रिय कंपनीहरुको सञ्जाल, पुँजीको सङ्केन्द्रण तथा वित्तीयकरण, मुनाफावाद र आर्थिक सङ्कटको उम्कनै नसक्ने भयावह चक्रब्यूहमा फसेको छ । त्यस्तै राजनीतिक क्षेत्रमा यसले लोकतन्त्रको गुलिया भ्रमजाल सृष्टि गरेर बहुसङ्ख्यक जनसमुदायमाथि अल्पसङ्ख्यक अभिजात वर्गको अधिनायकवाद थोपर्दै आएको छ । यसले फलाको हाल्ने गरेका स्वतन्त्रता, समानता र भातृत्वका नाराहरु हात्तीको देखाउने दाँत सिवाय अरु केही होइनन् भन्ने कुरा प्रमाणित भइसकेको छ । यसको अन्तिम परिणति फासिवाद हो । वास्तवमा आज भूमण्डीकृत साम्राज्यवाद नवउदारवादी खुला अर्थतन्त्र र संरक्षणवादको भीषण सङ्घर्षका बीचबाट नवफासीवादतर्फ धकेलिरहेको छ । तसर्थ, सैद्धान्कि र व्यावहारिक दुवै दृष्टिले माक्र्सवादको भविष्य समुज्जवल र एकाधिकार पुँजीवादको भविष्य अन्धकारमय रहेको छ । तसर्थ वर्तमान युगमा सबै खाले समस्या तथा अन्तरविरोधहरुको समाधान गर्ने सामथ्र्य मालेमावादमै सन्निहित छ र माक्र्सवादको सान्दर्भिकता अझै बढेर गएको छ ।
अर्कोतिर कमरेड माओले सबैखाले प्रतिक्रियावाद र साम्राज्यवादलाई तात्कालीन तथा कार्यनीतिका दृष्टिले साँच्चैका बाध र दीर्घकालीन तथा रणनीतिक दृष्टिले कागजी बाघ बताउनु भएको थियो । यो कुरा वर्तमान सन्दर्भमा पनि सत्य हो । आज साम्राज्यवाद बहुराष्ट्रिय कम्पनी र भूमण्डलीकृत स्वरुपको नयाँ कलेवरमा पुँजीको वित्तीयकरणको चरम अवस्थामा अभिव्यक्त भएको छ । त्यसले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व व्यापार सङ्गठनको बाहुपासमा विश्वलाई लपेट्न खोजे पनि आज त्यो नवउदारवाद र संरक्षणवादका बीचको सङ्घर्ष र भयावह व्यापार युद्धमा फस्दै गएको छ । हो, आज साम्राज्यवाद रुपमा शक्तिशाली देखिन्छ, परन्तु सारमा त्यो दिनप्रतिदिन कमजोर बन्दै गएको छ । त्यसै गरी रुपमा आज विश्व सर्वहारा वर्ग र कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा छ तर सारमा यो समुज्ज्वल भविष्यले युक्त छ । सच्चा माक्र्सवादीहरुले रुप मात्र होइन मुख्यतः सारतत्व माथि ध्यान दिनुपर्दछ ।
माओको निधन र समाजवादी देशहरुमा पुँजीवादको पुनः स्थापना पश्चात् विश्वका विभिन्न देशका क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनहरुले विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्तलाई माक्र्सवाद–लेनिनवाद–माओवादका रुपमा संश्लेषण गरेर क्रान्तिको प्रक्रियालाई अघि बढाउने काम गरे । यसै क्रममा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन ९च्क्ष्ः० को गठन भयो । फिलिपिन्स, पेरु, भारत, नेपाल लगायतका देशहरुमा जनयुद्ध विकसित हुँदै गए । यसबाट विश्वमा क्रान्ति र उत्साहको नयाँ लहर पैदा भयो । तर, केही समय पश्चात् जनयुद्धमा सङ्लग्न तात्कालीन नेकपा(माओवादी) को मुख्य नेतृत्वपंक्तिमा गम्भीर दक्षिणपन्थी अवसरवाद पैदा भयो र महान् जनयुद्धले गम्भीर धक्का खायो । यसै बीच अमेरिकाको आर.सी.पी को नेतृत्वले नयाँ संश्लेषणका रुपमा विश्व कम्युनिष्ट आन्दोलनको इतिहास र माक्र्सवाद–लेनिनवाद–माओवादमाथि गम्भीर सैद्धान्तिक प्रहार गर्दै उत्तरमाक्र्सवादको बाटो अँगाल्न पुगेपछि आन्दोलन विघटित अवस्थामा पुग्यो र पुनः विश्वका क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा सङ्गठनहरुले नयाँ अन्तर्राष्ट्रिय गठनका लागि आवश्यक पहल गरिरहेका छन् । आज पनि एशिया, अफ्रिका र दक्षिण अमेरिकामा मूल प्रवृतिका रुपमा क्रान्ति जारी छ । विकसित भनिएका देशहरुमा पनि क्रान्ति नयाँ ढङ्गले सङ्गठित बन्दै गइरहेका छ ।
आज माक्र्सवादका विरुद्ध विभिन्न रुपमा प्रतिक्रियावादी मात्र होइन संशोधनवादी पनि लागि परेका छन् । आज एकथरी संशोधनवादीहरुले खुला रुपमा नवउदारवाद तथा संसदवादको पक्षपोषण र अर्काथरी संशोधनवादीहरुले विज्ञान तथा प्रविधिको विकासले मानिसलाई होइन, प्रविधिलाई प्रमुख बनाई दियो भन्दै माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तका विरुद्ध पुँजीवादकै पुर्पक्ष गर्न गइरहेका छन् । आज क्रान्तिका लागि संशोधनवादका विरुद्ध वैचारिक सङ्घर्ष गर्न जरुरी छ । साथै यहाँनेर कुन कुरामा पनि ध्यानदिन जरुरी छ भने प्रविधिको विकास उत्पादक शक्तिको विकास पनि हो । यसले एकातिर कार्यदिशालाई समृद्ध तुल्याउने माग गर्दछ भने अर्कोतिर उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्धमा क्रान्तिको आवश्यकतालाई पनि औंल्याउँछ ।
उक्त सबै विषयहरुमा आवश्यक दृष्टिगत गर्दै विश्वसर्वहारा वर्ग र क्रान्तिकारी कम्युनिष्टहरुले विश्वक्रान्तिका कार्यभारबारे पनि विशेष ध्यान दिन जरुरी छ । यसरी माक्र्सवादको विकास भीषण वैचारिक संघर्ष र वर्गसंघर्षका बीचबाट हुने गर्दछ । माक्र्सवादको विकासको इतिहासको अध्ययनबाट पनि हामी यही कुरा प्रापत गर्न सक्दछौँ । यही वैज्ञानिक तथ्यलाई यस खण्डमा समेट्ने प्रयत्न गरिएको छ ।
मैले यो पुस्तकलाई सात खण्डमा तयार पारेको छु । पहिलो खण्डमा दर्शनको विकासको इतिहास, दोस्रो खण्डमा माक्र्सवादी दर्शन, तेस्रो खण्डमा ऐतिहासिक भौतिकवाद, चौथो खण्डमा – साम्राज्यवाद र सर्वहाराक्रान्तिको युगको दर्शन, पाँचौ खण्डामा – वैज्ञानिक संशोधनवाद, छैठौ खण्डमा – संशोधनवादको जन्म र विकास र सातौं सर्वहारावर्गका महान् नेताहरुको योगदानका विषयहरुलाई संकेन्द्रित गरेको छु ।
माक्र्सवादी दर्शनशास्त्र जस्तोे विशाल तथा गहन विषय भएको र माक्र्सवादको विकासको विषय पनि एक वैज्ञानि तथा अत्यन्तै विशाल र गहन विषय भएकाले विद्वान पाठकहरुले चाहे जस्तो, सोचे जस्तोगरी सबै विषयहरु प्रस्तुत गर्ने कार्य धेरै कठिन विषय हो नै, त्यसमा मेरो अध्ययन, र लेखनको क्षमताका सिमाहरु पनि अवश्यै रहन सक्छन् । त्यसको वावजुद स्कुलिङका लागि वढि उपयोगी हुने कुरालाई मध्यनजर राखेर यो पुस्तक तयार पारेको छु । मेरो यस प्रकारको लेखनले नेपालको माक्र्सवादी दर्शनशास्त्रको फाँटमा एउटा महत्वपूर्ण उपलब्धि हुनेछ र उत्तरमाक्र्सवादी, नवसंशोधनवादी तथा नवमाक्र्सवादीको बिगबिगी बढिरहेको आजको सन्दर्भमा मेरो यर पुस्तकले माक्र्सवादका तमाम अध्येताहरुलाई नयाँ तरिकाले अध्ययन गर्न सहयोग पु¥याउने छ भन्नेमा म विश्वस्त छु ।
यो पुस्तक तयार पार्न आर्थिक तथा अन्य विविध प्रकारका सहयोग गर्ने जीवनसंगिनी मुना केसी, छोरी इन्जिनियर सिर्जना केसी, ज्येष्ठ सुपुत्र डा. प्रशान्त केसी, बुहारी डा. सुदीक्षा रेगमी र कान्छा सुपुत्र इन्जिनियर प्रवेश केसीले समेत अत्यन्तै महत्वपूर्ण सहयोग प्रदान गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस गहन पुस्तकको लेआउट–डिजाइन गर्नुभएकोमा यदु उपाध्यायप्रति विशेष धन्यवाद दिन्छु । यस पुस्तकको प्रकाशनको जिम्मा लिने International Writers/Journalists Centre, Kathmandu, Nepal प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु