सरकारविरुद्ध युवाहरूको मार्चपास्ट

२०७६ आश्विन ८ गते, बुधबार

काठमाडौं, ८ असाेज । नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको रास्कोट नगरपालिकामा सरकारविरोधी प्रदर्शन गरेको छ । मङ्गलबार नेकपाले रास्कोटको आरसीपी बजारमा मार्चपास्टसहित प्रदर्शन गरेको हो । सरकारका विरुद्ध प्रदर्शन गर्दै नेकपाले विरोधसभाको आयोजनासमेत गरेको छ । सभामा नेपाल कम्युनिस्ट पार्टी कालीकोट जिल्ला इन्चार्ज विराट भण्डारीले आफूहरूमाथिको दमन नरोकिए जनप्रतिनिधिलाई गाउँबाट लखेट्ने चेतावनी दिए । सरकारको प्रतिबन्धको सामना गर्दै आफूहरू निरन्तर क्रान्तिको बाटोमा अघि बढिरहेको भन्दै नेता विराटले जस्तोसुकै चुनौती र अवरोधको सामना गरेर पनि एकीकृत जनक्रान्तिलाई निर्णायक बिन्दुमा पुर्याउने अठोट व्यक्त गरे । सत्तारूढ कम्युनिस्ट पार्टीले कम्युनिस्ट मूल्य, मान्यता र विचारको बदनाम गरिरहेको तर यथार्थमा उनीहरू कम्युनिस्ट नभएको उनको भनाइ थियो । अहिलेको प्रक्रियाबाट शान्ति र समृद्धि सम्भव नरहेको धारणा राख्दै विराटले आफ्नो अभियानमा सहयोग गर्न बुद्धिजीवी, शिक्षक, कर्मचारी र आमजनतालाई अपिल गरे ।
कार्यक्रममा दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य साहसीले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र दलितको हकअधिकार सुनिश्चित हुने धारणा राखे । जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका कालीकोट जिल्ला सेक्रेटरी रणदीप ऐडीले नेकपाको नीति र कार्यक्रमदेखि तर्सिएर सरकारले प्रतिबन्ध लगाएको धारणा व्यक्त गरे । पार्टीले निर्देशन गरे एकै रातमा सम्पूर्ण स्थानीय सरकार कब्जामा लिने क्षमता आफूसँग रहेको भन्दै ऐडीले आफ्नो धैर्यको बाँध टुट्नसक्ने खतरा औँल्याए ।
कार्यक्रममा युवा सङ्गठन नेपालका कर्णाली ब्युरो संयोजक शीतल बिष्टले राष्ट्र र जनताको मुक्तिका लागि आफूहरू जुनसुकै प्रकारको बलिदान गर्न तयार रहेको बताए । त्यसैगरी नेकपा कालीकोट जिल्ला सदस्य तथा एरिया नं. ३ का इन्चार्ज कञ्चन शाहीले आफ्नो कार्यक्रमलाई अवरोध गर्न खोज्नेहरूसँग उचित समय आएपछि हिसाब गरिने चेतावनी दिए । विरोध प्रदर्शन र विरोधसभासँगै नेकपाले युवा सङ्गठन र दलित सङ्गठनको जिल्ला भेला पनि सम्पन्न गरेको छ ।

प्रतिक्रियाहरु