आज महाअष्टमी

२०७५ आश्विन ३१ गते, बुधबार

काठमाडौं , ३१ असोज । नवरात्रिको आठौं दिन आज महाअष्टमी अर्थात् महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ । आजको दिन दुर्गाको आठौं स्वरुप गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
घटस्थापनाको दिन वैद्धिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा-अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुँईचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाको पूजाअर्चना समेत विधि-विधानअनुसार गरिन्छ ।
शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन पनि छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना-साना लठ्ठी हालेर जनावरको स्वरुपमा बलि दिने गर्दछन् । आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैंघरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि समेत दिइन्छ ।

प्रतिक्रियाहरु