आज विश्वकर्मा पूजा

२०७५ आश्विन १ गते, सोमबार

काठमाडौं, १ असोज । यन्त्र र औजारको पूजा अर्चना गरेर आज विश्वकर्मा पूजा मनाइँदैछ । यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गर्ने गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिने गरिन्छ ।
विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरेर निराहार व्रत बसी पूजाआजा सकिएपछि मात्र प्रसाद ग्रहण गर्ने र रातभर जसो अर्चना गरिन्छ । पूजा सकेर भोलिपल्ट मात्र विश्वकर्मा यात्रा गर्ने गराउने प्रचलन छ ।
सैलुन, फर्निचर कारखाना, औषधालय, आरन लगायतका उद्योग व्यवसाय विश्वकर्मा पूजाका दिन बन्द हुने गर्दछ । काभ्रेपलाञ्चोक जिल्लाको खोपासीस्थित कमीडाँडामा यो दिन मेला पनि लाग्छ । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

प्रतिक्रियाहरु