पुटिन चौथो पटक राष्ट्रपतिमा निर्वाचित

२०७४ चैत्र ५ गते, सोमबार

काठमाडौँ, ५ चैत । रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । आइतबार भएको मतदानको अधिकांश मत परिणाम सार्वजनिक हुँदा उनी ७६ प्रतिशत मत ल्याएर अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । पुटिनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)का उम्मेदवार व्यापारी पाभेल गुर्डीनिनले १२ प्रतिशतमात्र मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । पुटिन भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए । तर, मुख्य विपक्षी नेता अलेक्सी नाभाल्नीलाई भने चुनावमा भाग लिनबाट रोक लगाइएको थियो ।
पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् । सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेका थिए । सन् १९९९ मा कार्यवाहक राष्ट्रपति पद सम्हालेका पुटिन त्यसयता लगातार शक्तिमा रहँदै आएका छन् । उनी सन् २००० मा भएको निर्वाचनमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सन् २००४ मा दोस्रो पटक निर्वाचित भए । रुसको संविधानमा लगातार दुई वर्षभन्दा बढी राष्ट्रपति पदमा बहाल रहने व्यवस्था नभएका कारण उनी सन् २००८ मा भएको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवार हुन वञ्चित रहे । तर पनि उनी तत्कालिन राष्ट्रपति डिमित्री मेडभेदेव नेतृत्वको सरकारमा प्रधानमन्त्री बनेर शक्ति मै रहन सफल भए । सन् २०१२ मा पुटिन तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भए । आइतबार सम्पन्न निर्वाचनमा जित हासिल गरेसँगै पुटिनलाई चौथो कार्यकालका लागि बाटो खुलेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु