डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

२०७४ माघ २७ गते, शनिबार

काठमाडौं, २७ माघ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने फेरि माग गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले विचाराधीन मुद्दामा प्रभाव पार्नेगरी अनुचित चलखेल गरिरहेको र अहिलेपनि विवादास्पद कार्य गरिरहेकाले प्रधानन्यायाधीश पराजुलीले राजीनामा दिनुपर्ने बताए । डा. केसीले प्रधानन्यायाधीश पराजुलीले प्राप्त गरेको नागरिकताका प्रतिलिपि, शैक्षिक प्रमाणपत्र र तिनका आधारमा भएका नियुक्ति बदर गरी कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए । उनले प्रधानन्यायाधीश पराजुलीले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको बताउँदै सो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने माग पनि गरे ।
प्रधानन्यायाधीश पराजुलीले विभिन्न निकाय तथा अभिलेखमा चार प्रकारका फरक–फरक जन्ममिति उल्लेख गरी फाइदा लिएको भन्दै उनले प्रधानन्यायाधीश पराजुली न्यायाधीश पदका लागि उपयुक्त नभएको जिकिर गरे । न्यायालयजस्तो पवित्र ठाउँमा बसेर न्यायको बिक्री गर्नेविरुद्ध आफू लडिरहने पनि डा. केसीले बताए ।

प्रतिक्रियाहरु