इन्धन भण्डारण पाँच गुणा बढाउने तयारी

२०७३ माघ ७ गते, शुक्रबार

काठमाडौं, ७ माघ । सरकारले इन्धन भण्डारको क्षमता बढाउन भएको छ । नेपाल आयल निगमले उपभोक्तालाई जुनसुकै बेला पनि सहज रूपमा इन्धन उपलब्ध गराउन थप ४ लाख २४ हजार किलोलिटर इन्धन भण्डारण क्षमता बढाउन लागेको जनाएको छ । निगमसग हाल १७ दिनलाई मात्र पुग्ने गरी इन्धन भण्डारण गर्न सक्ने क्षमता छ । यसलाई पाँच गुणा वृद्धि गरी ९० दिनलाई पुग्ने गरी भण्डारणको व्यवस्था गन लागिएको आपूर्ति मन्त्रालयका प्रवक्ता सुरेशप्रसाद श्रेष्ठले जानकारी दिए । “हाल भण्डारण क्षमता कमजोर रहेकाले आपूर्तिमा समस्या हुँदा बजारमा इन्धनको अभाव देखिने गर्छ,” प्रवक्ता श्रेष्ठले भने, “संकट सामाधान गर्न कम्तीमा तीन महिनालाई पुग्ने गरी इन्धनको भन्डारण क्षमता संघीय संरचनाअनुसार सातै प्रदेशका विभिन्न क्षेत्रमा बढाउन लागिएको छ ।” अहिले निगमले ७१ हजार किलोलिटर इन्धन भण्डारण गर्दै आएको छ । अघिल्लो वर्ष छिमेकी मुलुक भारतले नाकाबन्दी गरेपछि इन्धनको चरम अभाव भएको थियो । त्यसपछि सरकारले बल्ल भण्डारण क्षमता विस्तारको तयारी गरेको हो ।
दक्षिण एसियामै नेपाल इन्धन भण्डारणमा कमजोर छ, जसका कारण पनि आपूर्तिमा अवरोध हुनासाथ बजारमा उपभोक्ताले चरम अभाव खेप्नुपर्ने गरेको छ । सबैभन्दा धेरै इजरायलमा २ सय ७० दिनलाई पुग्ने भण्डारण क्षमता रहेकोमा नेपालमा भने सबैभन्दा कम १७ दिनलाई मात्र पुग्ने क्षमता छ । आयल स्टक्स अफ द आईईए नेसनको तथ्यांकअनुसार छिमेकी मुलुक भारतमा ५० र चीनमा १ सय ३५ दिनलाई पुग्ने भण्डारण क्षमता छ । दक्षिण कोरियामा २ सय ४०, जापानमा १ सय ३७, अमेरिकामा १ सय २०, स्वीट्जरल्यान्डमा ९०, थाइल्यान्डमा ७० र फ्रान्समा ५५ दिनलाई पुग्ने भन्डारण क्षमता छ ।
नेपाल आयल निगम प्रवक्ता भानुभक्त खनालले सातै प्रदेशमा थप ४ लाख २४ हजार किलोलिटर इन्धन भण्डारण क्षमता बढाउन लागिएको बताए । “इन्धन भण्डारण क्षमता निर्माणका लागि जग्गाबाहेक १ खर्ब १७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छौं,” प्रवक्ता खनालले भने, “उपभोक्तालाई जुनसुकै बेला पनि इन्धन आपूर्ति सहज पार्नका लागि भण्डारण क्षमता बढाउन लागिएको हो ।” भण्डारण स्थल निर्माण गर्न जग्गा खोजीको काम भइरहेकाले जग्गा प्राप्त हुँदासँग निर्माणको काम सुरु गरिने उनको भनाइ छ । निगमका अनुसार प्रदेश १ मा ९२ हजार ४ सय ६५ किलोलिटर, प्रदेश २ मा ८१ हजार ५ सय ८७, प्रदेश ३ मा २ लाख १ हजार ५ सय ६६, प्रदेश चारमा ३२ हजार ६ सय ३४, प्रदेश ५ मा ९७ हजार ९ सय ४, प्रदेश ६ मा ५ हजार ५ सय र प्रदेश ७ मा २१ हजार ७ सय ५० किलोलिटर इन्धन भन्डारण क्षमता विस्तार गर्न लागिएको छ । निगमसँग काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दीपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । जसमा पेट्रोल ५ हजार १ सय ८४ किलोलिटर, डिजेल ४२ हजार चार सय किलोलिटर र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भण्डारण क्षमता छ । ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु