न्यायिक आयोगद्वारा उजुरी आह्वान

२०७३ मंसिर १० गते, शुक्रबार

काठमाडौ १० मंसिर । तराई मधेस र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सरोकारवालासँग उजुरी आह्वान गरेको छ ।
आयोगका अध्यक्ष एवं सर्वाेच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा बिहीबार सम्पन्न आयोगको बैठकले घटनासँग सम्बन्धित सरोकारवालासँग उजुरी आह्वान गर्ने निर्णय गरेको हो । आउँदो मङ्सिर १६ गतेदेखि एक महिनासम्म उजुरी दिन सकिने समयावधि आयोगले तोकेको छ ।
घटनाका पीडित पक्ष, सरोकारवाला, मानव अधिकारसम्बन्धित सङ्घ संस्था तथा सबै सम्बन्धित दलसमेतबाट सूचना, उजुरी एवं जानकारी उपलब्ध गराउन आह्वान गरिएको अध्यक्ष लालले बताए । त्यसका लागि आउँदो मङ्सिर १६ गते बिहीबारदेखि ३० दिनको समयावधि निर्धारण गरिएको उनले बताए ।
आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा यस्तोे उजुरी, सूचना वा जानकारी दिन सकिने व्यवस्था आयोगले गरेको छ । डिजिटल प्रणाली वा लिखित रूपमा सप्रमाण उजुरी वा सूचना दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
गत २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै तराई मधेसकेन्द्रित राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएको धनजन क्षतिको छानबिनका लागि नेपाल सरकारले २०७३ असोज २ गते उच्चस्तरीय न्यायिक आयोग गठन गरेको हो ।
लालको अध्यक्षतामा पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइराला, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, पूर्व अतिरिक्त मुख्य अनुसन्धान निर्देशक सुखचन्द्र झा तथा अधिवक्ताद्वय सुजन लोप्चन र खुशीप्रसाद थारू सदस्य आयोगको सदस्य छन । गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीलाई आयोगको सदस्य सचिव तोकिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु