राष्ट्रिय जलाधार सम्मेलन हुने

२०७३ मंसिर ६ गते, सोमबार

काठमाडौं, ६ मंसिर । भू तथा जलाधार संरक्षण विभागले देशभरका जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनमा सक्रिय जिल्ला भूसंरक्षण अधिकृतहरूको दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । विभागले आयोजना गर्न लागेको सम्मेलनमा देशभरका भूसंरक्षण अधिकृतहरूको सहभागिता रहने छ । सम्मेलनमा एकीकृत जलाधार व्यवस्थापन, बेसिन अवधारणा अनुसार सङ्घीय पद्धतिमा जलाधार क्षेत्रलाई व्यवस्थापन गर्दा हुने सक्ने साङ्गठनिक संरचना, मौजुदा नीति तथा कार्यक्रम, जिल्ला भूसंरक्षण अधिकृतलाई वातावरण निरीक्षकको जिम्मेवारी पाएमा कसरी काम गर्न सकिन्छलगायतका विषयमा सम्मेलनमा व्यापक छलफल र अन्तक्र्रिया गरिने भएको विभागका महानिर्देशक विजयराज पौड्यालले जानकारी दिए ।
विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनका असरले बढी मात्रामा प्रभावित जलाधार क्षेत्रको उचित संरक्षण र व्यवस्थापनमा थप चुनौती देखिएकाले यो सम्मेलनले विभागलाई काम गर्नका लागि ठोस मार्गनिर्देशन पनि गर्ने अपेक्षा लिइएको छ ।
महानिर्देशक पौड्यालका अनुसार सहरीक्षेत्रका पानीको हाहाकार भइरहेको वर्तमान अवस्थामा सहरी जलाधार, सडक सञ्जाल, जलविद्युत्लगायतका विकास निर्माणका मेगा परियोजनासँग जोडिएका जलाधार क्षेत्रको एकीकृत विकासको मुद्दालाई कसरी मूलप्रवाहीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा प्रवेश पाउने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु