भारु ५०० र १००० कारोबार नगर्न नेपाल राष्ट्र बैंकको निर्देशन

२०७३ कार्तिक २४ गते, बुधबार

काठमाडौं, २४ कात्तिक । भारतले मंगलबार रातिदेखि भारु ५०० र एक हजारदरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौं नेपाली नागरिक एवं भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौं भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो । भारतसँग एक हजार ८०० किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन् । भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौं नेपाली नागरिकसँग अर्बौं रकम भएको अनुमान छ । त्यस क्षेत्रका नागरिकले दैनिक कारोबारका लागि राखेका भारु एक हजारदेखि लाखसम्म रह्यो भने पनि त्यसको ठूलो असर पर्छ ।
त्यसैगरी, भारतले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा साट्नसक्ने भने पनि त्यसका लागि राखिएको प्रावधान नेपालीका लागि जटिल हुने देखिएको छ । भारतले राहदानी र स्थायी लेखा नम्बर (प्यान)सहित उक्त दरका नोट साट्नसक्ने प्रावधानले नेपालीलाई नराम्रो असर पार्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबारै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवं मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ ।
त्यसैगरी, भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ । त्यस्तै, सुदूरपश्चिम र मध्यपश्चिममा लाखौं नेपाली नागरिक भारतमा रोजगारीमा छन् । उनीहरुलाई पनि भारतको पछिल्लो निर्णयले ठूलो असर पुर्‍याउने भएको छ । सबै क्षेत्रमा त्यसको असर पर्ने नेपाल राष्ट्र बैंक विदेशी मुद्रा विनिमय तथा विश्लेषण महाशाखाका पूर्वनिर्देशक कल्याणबन्धु अर्याल बताउँछन् । उनका अनुसार सर्वसाधारण एवं अनौपचारिकरुपमा कसैले भारतीय रुपैयाँ जम्मा गरेर राखेको भए ती सबै रुपैयाँ बेकाम हुने भयो । यसले पनि समग्र मुद्रा बजारमा असर पार्छ । नेपालका व्यापारी कसैले भारतीय मुद्रा ठूलो मात्रामा राखेको भए त्यसले समस्या निम्याउनसक्ने अर्यालको भनाइ छ । उनका अनुसार साधारणतया बलियो मुद्रामा कालोधन राख्ने भएकाले पनि भारतले गरेको अमौद्रिकीकरणको असर नेपालमा पर्छ । भारतीय मुद्रा अपरिवर्तीय भएकाले नेपाल र भुटानमामात्र भारतीय मुद्रा चलन–चल्तीमा छ । त्यसका लागि यी दुई मुलुकले भारतबाटै मुद्रा ल्याउँदै आएका थिए । नेपालमा पहिले रेलमार्फत् ल्याइन्थ्यो भने अहिले हवाई जहाजबाट ल्याउने गरिएको छ ।
भारतीय कानुनले नेपालमा भारु ५०० र एक हजारदरका नोटको कारोबारमा सन् २००२ देखि प्रतिबन्ध लगाएको भएपनि सन् २०१५ पछि भारु २५ हजारसम्म उक्तदरका नोट व्यवहारतः कारोबार गर्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार भारतीय सरकारले भारतीय पैसा नचलाउ भनेपछि नेपालमा उक्त दरका नोट पूर्णरुपमा प्रतिबद्ध हुन्छ । उनले ‘नेपालको बैंकिङ प्रणालीमा रहेका उक्त दरका नोटका विषयमा भने नेपाल राष्ट्र बैंक र सरकारले नै कूटनीतिक तवरले समाधान गर्नुपर्छ’–भने ।
नेपाली बजारमा पर्ने असरलाई समाधान गर्ने विषयमा बुधबारैदेखि राष्ट्र बैंकले छलफल सुरु गरेको भन्दै प्रवक्ता पौडेलले चाँडै भारतीय रिजर्भ बैंकलाई पत्राचार गरिने जानकारी दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगबार राष्ट्रको नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्णप्रतिबन्ध लगाउने घोषणा गरेका थिए । उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत् जम्मा गर्न आग्रह गरेका छन् । बजारमा रहेको कालोधनलाई शुद्धीकरण गर्ने उद्देश्यले त्यस्तो गर्नुपरेको प्रधानमन्त्री मोदीको धारणा छ । सम्बोधनका क्रममा भारतका केन्द्रीय बैंकले चाँडै भारु ५०० र दुई हजारका नयाँ नोट बजारमा ल्याउने पनि जानकारी दिँदै उनले यसले मुलुकको अर्थतन्त्र सुदृढीकरण हुने बताएका छन् । सोही सम्बोधनअनुसार भारतका सबै बैंकका बुधबारैदेखि एटीएम बन्द गरिएको छ भने सरकारी अस्पतालमामात्र कारोबार गर्न दिइएको छ । यसले गर्दा विश्व मुद्रा बजारमा पनि असर पर्ने बताइएको छ ।
सीमा क्षेत्रमा असर
भारत सरकारले भारु ५०० र एक हजारको नोटको कारोबार बन्द गरेसँगै झापालगायत सीमा क्षेत्रका नेपाली नागरिक मारमा परेका छन् । सीमा क्षेत्रका होटल, पसल, सटही काउन्टर र सर्वसाधारणसँग रहेको भारु व्यवस्थापन गर्न कठिनाइ भएको उनीहरुको गुनासो छ । झापाको पूर्वीनाका काँकडभिट्टा तथा मेचीनगर नगर क्षेत्रमा रहेका नेपाली नागरिक भारु ५०० र एक हजारका नोट जम्मा गर्न बुधबार बिहानैदेखि दौडधुप गरिरहेका छन् । – हरि लामिछाने (रासस)

प्रतिक्रियाहरु