एक सय २० वर्षीयाको दुखेसो …

२०७३ कार्तिक ४ गते, बिहीबार

काठमाण्डौ, ४ कात्तिक । जाजरकोट भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षको हुनुभयो । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै हुनुहुन्छ । एक सय २० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट (भटमास) खानसक्ने बताउनुहुन्छ । आँखा नदेख्ने र कान नसुन्ने वलीको बोल्नलाई भने कुनै समस्या देखिएको छैन । ६ भाइ छोरा र ६ बहिनी छोरीलाई जन्म दिएकी वलीले आफूले काललाई पनि जितिसकेको बताउनुहुन्छ । अन्तिम १२औँ सन्तानका रुपमा कान्छो छोरा टीकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उहाँले जानकारी दिनुभयो ।
भात खाँदा आफूलाई घाँटीमा अड्कने बताउने भीमा वलीले मकैको रोटी दूधमा भिजाएर खान खजिलो हुने सबैलाई सुनाउनुहुन्छ । प्रायः अन्य खानाबाट आफूलाई चिसो हुने बताउँदै आएकी एक सय २० वर्षीया वलीलाई चिया भने अनिवार्य खानैपर्ने बताउनुहुन्छ । दैनिक खानामा दही, दूध पनि खाइरहेकी वलीले चाउचाउ खान पनि आफूले निकै मन पराउने बताउँदै भेट्न आउने सबलाई यस्ता उपहार लिएर आउन सल्लाह दिनुहुन्छ ।
एक शताब्दीभन्दा बढी उमेर पुगेकी वलीले आफूले जन्म दिएका १२ सन्तानमध्ये हाल दुई छोरा र एक छोरी मात्र जीवित रहेको जानकारी दिनुभयो । जीवित रहेकामध्य छोरा हरिबहादुर वली र टीकाराम वली रहेका छन् भने छोरीमा ओइली खत्री रहेकी छन् ।
अन्य नौ दिदीबहिनी र दाजुभाइको यसअघि नै मृत्यु भइसकेको छ । विसं २०५२ सालमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी वलीले नेपाल सरकारबाट बुझ्ने ज्येष्ठ नागरिक भत्ताले आफूले लगाउने कपडा र खानालाई चिनी, चियापत्ती खरिदमा खर्च गर्ने गरेको बताउनुभयो ।
उहाँको जन्म विसं १९५२÷५३ सालतिर भएपनि नागरिकता बनाउँदा विसं १९७५ साल लेखिदिएको उहाँ बताउनुहुन्छ । – हेमन्त केसी/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु