‘ज्वरोले थलिएका काजु र ज्यानमारा हेलिकोप्टर’ – कर्मसहि घर्ती मगर

२०७३ भाद्र २२ गते, बुधबार

जे पनि समय अनुसार हुँदोरहेछ नै । मनमा लिएको संकल्प हठात कहाँ सफल हुन्छ र ? कुनै पनि काम पूरा हुन थुप्रै प्रक्रियाहरू पार हुनु त पर्दोरहेछ । एउटा सपना साकार हुनु चानचुने कुरा अबश्य होईन । दिन हुनलाई एउटा रात ढल्नै पर्छ । रात नढलेर बिहान हुँदैन । बिहान नभै दिन हुँदैन । प्रकृतिको यो नियम , यो रीति नबुझ्दा नै यो मनले नपाउनु दु:ख पाउँदोरहेछ ।
जीवनको युवाबस्था कल्पना मै बिते । युवाबस्थामा आफ्नै किसिमको कल्पना हुँदोरहेछ । सपना हुँदोरहेछ । संकल्प हुँदोरहेछ । यसो भनुँ , जीवनको सबैभन्दा सुखद क्षण र दुखद क्षणको आधारशिला नै युवाबस्था हो । युवाबस्थामा जीवन तरल हुँदोरहेछ । जीवन सरल हुँदोरहेछ । जतिखेर जता पनि ढल्किन सक्ने । परिस्थितिनुसार पल्किन सक्ने !
मैले लेख्न थालेको २०५२ साल देखि हो । यो बीचमा मैले आफ्नै प्रतिभालाई उत्खनन् गर्न नसक्दा ; त्यसलाई समयानुसार उचित ब्यबस्थापन गर्न नसक्दा ; कम्तिको मानसिक तनाबसंग छिनाझप्ति त भएन । यसैको कारण म भयाबह डिप्रेशनको भड्खारोमा अल्झें । जसको प्रमाणपत्र पाईसकेकोछु ।
मेरो जीवनमा आईपरेको यो आततायी क्षणलाई धकेलेर आँगन मुन्तिर हुर्याउन पनि सकिरहेको छैन । म भन्दा बलियो भैसकेको यो दु:खमय भाईरसलाई कसो गरि पनि तह लगाउन नसके पछि आखिर दु:खले मलाई गिजोलिरहेछ । म हमेशा ऊबाट फुत्किने अबसर खोजिरहेछु । ऊसंग घोर्धासे खेलिरहेछु । तर दूर्भाग्य ! यो उमेरसम्म, यो आततायी दु:खसंग लड्दा लड्दा थाकेर लखतरान हुन्छु । अनि पल्टिन्छु, दु:खकै पाउमा घोप्टो परेर । दु:खले ममाथि हैकमि नजरले दृष्टिगोचर गरिरहेको हुन्छ ।
अहिले आएर मलाई अन्तरबोध भैरहेछ, दु:खमय यो ज्यानमारा परिस्थिति एकैचोटि यतिधेरै बलियो भएको होईन । जीवन जीउने मामलामा कहिं न कहिं मैले ठूला ठूला भूलहरू गर्दै गएँ हुँला । सोंचाईंमा गलत भयो होला । काम गराईमा गलत भयो होला । जसको परीणाम यतिधेरै कष्टकर भैरहेकोछ मलाई ।
अब मलाई थाहा भैसक्यो । मैले जीवन जिउने बहना बदल्नु पर्नेछ । सोंच बदल्नुछ । काम गराई बदल्नुछ । अनि यो टुटेफुटेको जीवनलाई दु:खबाट मुक्त गर्न अर्को दु:ख जीवनमा जोड्नु पर्नेछ । काँडा बिजेको काँडैले निकाले झैँ ; दु:खलाई फाल्न दु:खै गर्नु पर्नेछ ।
समय आए पछि त्यो पनि अबश्य पूरा होला । मात्र यतिबेला समयको सदुपयोग कसरी गर्ने ? अनि यो दर्दले भरिएको जीबनलाई कसरी समयसंग जोड्ने ? मेरो अघि यक्ष प्रश्न तेर्सिएकोछ । तर मसंग त्यो किसिमको खुबिको बिकास हुनु नित्तान्त आबश्यक छ । खुबिको कुरा गर्दा मलाई एउटा सानो तर गहन सत्य कथाको याद आउँछ ।
बिख्यात मूर्तिकार माईकल ऐन्जेलोको आफ्नै खालको बिशेषता थियो – कस्तो ढुङ्गाले कस्तो खालको मूर्ति आकार खोज्दैछ ? उनले ढुङ्गालाई जब्बरजस्ति छिनो लाएर , ताछेर आफुले चाहेको मूर्ति बनाउदैनथे । बरू त्यो ढुङ्गाले कस्तो खालको मूर्तिको आकार खोजिरहेको छ ? गम्भीर रूपमा चिन्तन गरेर, मनन् गरेर ढुङ्गाले संभाबित रूपमा लिन खोजेको आकारलाई नै साकार रूप दिन्थे । बस् , उनको यहि बिशेषताले नै उनलाई बिख्यात बनायो । उनलाई अजर बनायो । उनलाई अमर बनायो । यहि बिशेषताले नै उनी र उनको कृतित्त्व कालजयी बन्न गयो । जसको कारणले हरेक पिंडिले उनलाई स्मरण गर्न योग्य बनायो । प्रत्येक युगले उनीबाट सिक्ने कुरा यहि हो ।
अरू प्राय: मूर्तिकारहरू दुङ्गालाई छिनो लाएर, ताछेर आफुले चाहेकै मूर्ति बनाए पनि, त्यो ढुङ्गाले लिनखोजेको सम्भावित मूर्ति हुनबाट बञ्चित हुनुको अलावा कलाकारलाई समयको पनि धेरै खर्च हुन्थ्यो । तर माईकल ऐन्जेलो एक यस्ता अद्भूत कलाकार थिए कि त्याे ढुङ्गाले लिन खोजेको अथबा त्यो ढुङ्गामा लुकेर रहेको मूर्तिको आकारलाई अत्यन्त न्याय दिन सक्षम हुन्थे । जुन कार्य गर्दा उनलाई समय र श्रमको थोरै मात्र खर्च हुन्थ्यो । अर्थात उनले ढुङ्गा भित्र लुकेको अज्ञात मूर्तिलाई जब ठम्याउछन् ; तब थोरै मात्र श्रम , सीप र लगनले कार्यसम्पादन गरि भ्याउँथे ।
जोखिमको बाटो अबलम्बन गरेर देशलाई यो अबश्थासम्म ल्याउने अहम भूमिका खेलेका यस्ता कालजयी योध्दाहरूको कहाली लाग्दो बर्तमान भने बडो दु:खदायि छ ।
अब मैले लेख्नलाई कस्तो प्लट बनाउने भन्ने सोंच्नै परेन । माईकल ऐन्जेलोको सूत्र काफि छ । बस् , मैले भू.पू. योध्दाहरूका बर्तमान जीवनले के भन्दैछ ? यिनै कुरालाई उजागर गर्नु नै आफ्नो धर्म सम्झेको छु ।
हामी बसेको बन्द कोठाभित्र म कापी कलम लिएर जगत घर्ती मगर तर्फ ध्यानमग्न भएँ । उनी मतिर फर्केर फेरि आफ्नो बिगतको पाना यसरी पल्टाए —ढुले घटनाको कारूणिक अबस्थालाई आफ्नै आँखाको लेन्सले हेरेका जगत घर्ती मगर ´काजु` पुपालमा भएका हजाराैँ जनता तथा आफ्ना सहयात्रीहरूलाई आकस्मिक रूपमा भैपरि आउने दुर्दान्त घटनाबाट जोगाउने ध्याउन्नामा सोंचमग्न भए । सिधा बाटो प्रहरीले घेरेको हुन सक्ने आशंकाले उनी गुप्त र अप्ठ्यारो बाटो हिड्न राजी भए । देश र जनताको लागि भनेरै युध्दलाई स्विकारेका उनी अप्ठ्यारोसंग जुझ्न सिकिसकेका थिए । बाध्यतालाई आत्मसात गर्न झ्याम्मिसकेका थिए । उनको आँखामा बिचलन एक रत्ति थिएन । कहिल्यै हिंडेर नथाक्ने उनका गोडाहरू तत्कालै सेत्यापैँतिर लागे । अन्य साथिहरू तिंज्याँतिर गए ।
चिया पनि दुई दुई चोटी पिउन नपाएका उनी खाना खाने कुरा त झनै माैकै थिएन । बिहान देखि भोकै हिंडेका उनी सेत्यापैँदेखि फेरि अब्जैँजा खोलाको डाँडैडाँडा उकालि लागे । भोक र थकाईले थकित उनी साँझको ७:३० बजे बल्ल देउराली पुगे । यतिबेला रात परिसकेको थियो । सामान्यतया उनी हिड्ने अबस्थामा थिएनन् । तर ज्यान भन्दा जिम्मेवारी ठूलो थियो उनको लागि ।
भोक , थकाई र जाडोले आक्रान्त उनी सेंखोलाको अर्जलमा घोडा गोठमा पसे । त्यहाँ हर्क प्रसाद पुन गोठाला रैछन् । उनले अघि नै खाना खाएका रैछन् । ढिंडो खान नपाएका जगत घर्ती मगर ´काजु` ले माम्रा जे जति छ , त्यति खाएर गुरगाडको बाटो लागे । हतारमा दाैडेका उनिसंग बाल्नलाई टर्च पनि थिएन । रात बिरात हिंडेका उनी केबल जूनको टहटह प्रकाशको भरमा हिंडेका थिए ।
लर्खराउँदै भए पनि करीब ११ बजे गुरगाड पुगे । यतिबेला सबै सुतिसकेका थिए । सबैभन्दा पहिले मान्धन घर्ती मगर र गमान पुनको गोठमा पसे उनी । प्रहरी आउन लागेको र ढुलेमा हत्या भएको घटना सबिस्तार भने । मान्धन घर्ती मगर र गमान पुनले आफुहरू घोडा गोठालो भएकोले आफुहरूलाई केही नहुने कुरा गरे । त्यस पछि उनी कुमारी बुढा लगायतका कलाकार टोलीहरूलाई सूचना दिए । कलाकारहरू सबै पालभित्र नअटाएका कारण खुल्ला आकाशमुनि नै पाल ओढेर सुतेका थिए । काजुले सबैलाई उठाए । प्रतिकुल परिस्थितिको बारेमा बताए । अनि सबैलाई सुरक्षित स्थानतिर प्रस्थान गर्न भने ।
रातारात सुरक्षित स्थानतिर जान तयार टोलीलाई जगत घर्ती मगर ´काजु`ले जुनाँ जाने भए देउराली , घुँध्याखुँ हुँदै हातबाँको बाटो जानु भनि सम्झाए । अनि तिंज्याँ जाने भए देउराली , अब्जैँजा खोला हुँदै जाने बाटो सिकाए । तर टोली रातारात देउरालीको लुँजुँ हुँदै बायम्पा जाने बेला छ्याङ्गै उज्यालो भयो । त्यो समयमा अहिलेको जस्तो बायम्पाको गोडेटो बाटो थिएन । यसरी उनिहरू घुँध्याखुँ , हातबाँ हुँदै जुनाँतिर झरे ।
यता जगत घर्ती मगर ´काजु` सामान्य खाजा खाएर त्यहिं सुते । काठमाण्डाै देखिको यात्रा अनि अनियमित खानपान र सुताई, त्यसमाथि काठमाडाैको शान्तपूर्ण बसाई देखि ४००० मिटर उचाईको वातावरणको अनमेलको कारण भोलि पल्ट देखि नै उनी बिरामी भएर गुरगाडको गोठमै ढले । पुपाल खवर गर्न असमर्थ रहे । तनाबै तनाबमा बितेको उनको यो यात्रा निकै कष्टकर रह्यो ।
जेठ २७ गते देखि उनी एकैचोटी थला परे । मनमा पुपालका जनता र सहयोध्दाहरूको हालत के होला भन्ने छट्पटिलाईरह्यो । तन भने बेचैनिले पल्टिरहेको थियो । त्यो उचाईमा पनि , त्यस्तो जाडोमा पनि उनको शरीर अत्यन्तै आगो झैँ रापिएको थियो । जसको कारण उनी टाउको पनि उठाउन सकिरहेका थिएनन् ।
जेठ २८ गते प्रहरी टोली बुकि पस्दैछन् भन्ने हल्लाले निकै तनाब बनायो । यतिबेला सानो घटनाले पनि ठूलो रूप लिन्थ्यो । तर त्यो दिन जति नै तनाब सहेर पनि परिस्थिति बुझ्दै त्यहि गोठमा दिन कटाए ।
२९ गते बिहानै बादलका फाल्साहरूले घामको न्यानो स्पर्शलाई छेक्ने दुश्साहस गर्दै थिए । जगत घर्ती मगर ज्वरोले थलिएका थिए यतिबेलासम्म । बिहानको खाना खाएर मान्धन घर्ती मगर र गमान पुन एक-एक वटा थारी भेंडा लिएर गाउँ जान भनि हिंडे । उनी दुई केही समय पश्चात नै पुन: गोठमै फर्केर आए । पछि थाहा भयो , कांडा गाबिस सेर्बाङ्का नारायण बुढाको बाबुछोरा पुपाल जान आउँदै रहेछन् । तिनी दुई बाबुछोराले नै मैकोटबाट प्रहरीहरू बुकि आउँदैछन् भनेर खवर ल्याएका रहेछन् । ज्वरोले लखटरान जगत घर्ती मगर अब भने नउठि धरै पाएनन् ।
कुहिरोको एक झोंक्का आएर गुरगाडलाई लपक्कै ढाक्यो । अधकल्चो जिउ तन्काउँदै जगत घर्ती मगर त्रिपालको दिवारबाट बाहिर निस्के । भैपरि आएको परिस्थिति र मनस्थितिलाई नापताैल गर्दै गोठाला साथिभाईलाई त्यहिं छोडि उनका निम्छरा दुई पाईला पुपाल जानलाई उकालिए ।
अप्जिघार बाटो गएनन् । पिडिको घुमाउरो बाटो पनि गएनन् । भेंडि गोठ हुँदै बीचको डाँडै डाँडा पुपाल जान गोप्य बाटो भनाैं या छिटो छरितो बाटो भनुँ ; आफ्नो गन्तव्यतिर लागि नै रहे । यात्रा सहज हुने त कुरै थिएन । बिरामी मान्छे , त्यसमाथि ४५०० मिटरको उचाईंको कठिनतम बाटो । उनी ज्वरोले थला परेर लर्खराई रहेको पाईला सहज हुने गरि सम्हाल्दै थिए । शरीरले थकाई मार्न खोज्दैथ्यो । मनले मान्दैनथ्यो । डाँडै डाँडा त्यो खागरको बाटो प्यास मेटाउने पानी पनि थिएन । खागरै खागरको त्यो यात्रा पुपालसम्मै तन्कियो ।
४५०० मिटर उचाईंमा स्याँस्याँ फ्याँफ्याँ गर्दै पुपाल खागरमा अवस्थित त्रिपाल भित्र छिरे । उनी पालभित्र के छिरेका थिए , हेलिकोप्टरको ज्यानमारा आवाजले गर्दा पुपाल बुकिको सुरक्षा अवस्थामाथि नै प्रश्न चिन्हको बादल मडारियो ।
छिनछिनमै बादल लाग्थ्यो । अनि फाट्थ्यो । हिमाली क्षेत्रको बादलको कुनै भर हुँदैन थियो । साथिद्वय काजी पुन र जगत बुढासंग राम्ररी कुरा पनि भएको थिएन । दरिला हातहरू मिलाएर भर्खर मात्र बसेर आफु हतारमा आउनुको खुलासा गरे । अन्य साथिहरूले पनि अपुष्ट खवर त हरेक पल सुनिरहेकै थिए । युध्दकालीन अबस्थामा आफै पनि सचेत हुनु पर्थ्यो । एकापसमा थोरै कुराकानी हुँदै थियो ; हेलिको आवाज सुनियो ।

हेलिको आवाज सुन्ने बित्तिकै पालभित्र र बाहिर छरिएर रहेका सबै भागाभाग गरे । सबै जसो खागरका चट्टानी भूगोलको आड लिएर लुक्ने प्रयास गरे । जगत घर्ती मगर र काजी लगायतले हतार हतारमा त्रिपाल भत्काउन लागे । उनिहरूको मनसाय हेलि नआउँदै पाल भत्काएर सुरक्षित स्थलतिर सफर हुनु थियो ।
स्थिति तनाबग्रस्त थियो । उनिहरूको लागि यस्ता भैपरि आउने घटना दैनिकी जस्तै भएको थियो । त्यसैले पनि सबै भागि सक्दा पनि अलिकति नहिच्किचाई पाल भत्काउनेतिर लागि परे । अब भने हेलिको आवाज नजिकै सुनिन आयो । उनिहरू पनि भाग्ने अन्तिम पोजिशनमा थिए । यो पुपालको घारीमा थियो । त्यहाँ देखि पुपाल तलै पर्थ्यो । हेलिको आवाज नजिकिंदै थियो । ज्यानमारा हेलि जब पुपाल डाँडामा देखियो तब पुपाल बुकिलाई कुहिरोले लपक्कै ढाक्यो ।
पुपाल क्षेत्र भरि हेलिको नरसंहारकारी हुँकार सुनिई रह्यो । ठूला ढुङ्गा र खागरको बीचमा एक मुठि प्राण बचाउनलाई लुकेका निरीह प्राणीहरूलाई कुहिरोले निकै साथ दियो । कुहिरो नभेैदिएको भए सायद यी निम्छरा मनुवाहरूको घानै पर्ने सम्भाबना थियो । यतिबेला ज्यानमारा हेलिको फेला पर्नु भनेको एकबारको चोला मुला झै काटिनु थियो । आतंककारीको नाममा मारिनु थियो ।
हेलिको आततायी आवाज बाहेक अरू केही थिएन पुपाल खागरमा । कुहिरो लपक्कै थियो । सबैको मुटु घबराईरहेको थियो । किनकि यहाँ लडाकु थिएनन् । राजनैतिक कार्यकर्ता र दुई पैसा जोहो गरेर घरबार धान्ने मनसायले यार्सा टिप्न आएका सर्बसाधारण मात्र थिए । कुहिरोको बीचमा हेलि बस्न नसक्नेमा सबै ढुक्क थिए । यहि माैकामा कोहि पुपालको खागर हुँदै डाँडा काटिसकेका थिए ।
निकैे प्रयास गरेको हो हेलिले । पुपालमा अवतरण गर्न । मानाैँ , ऊ पुपाललाई माया मार्न सकिरहेको छैन । पुपालमा अप्रेशन किलो शेरा टु को हेलि बुकिमा अवतरण गर्न नसकिने भए पछि सोझै गुरगाडको घोडा गोठालाहरूको त्रिपाल भए ठाउँतिर सोझियो । यो साँझको समय थियो । आफुहरू अनाहकमा मारिनुबाट आजलाई बचे पनि ; एउटा ठूलो अनिष्टको आशंका गुरगाडका घोडा गोठालाहरूतिर पोखियो । गुरगाडको सम्भाबित दुर्घटनाले मर्माहत जगत घर्ती मगरको लामो सुस्केरा पुपाल खागरको कुहिरोमा हरायो ।

( क्रमश: )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु