भाषा जगेर्नाको निम्ति अभियान चलाउनु पर्ने

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौं, १६ भदौ । काठमाडौंमा आयोजित कार्यक्रममा वक्ताहरुले नेपालभाषा संकटमा परेको स्वीकार गरी भाषा जगेर्ना गर्ने अभियान चलाउनु पर्नेमा जोड दिएका छन । उनीहरुले पछिल्लो समय मातृभाषा प्रयोग गर्नेको संख्या कम हुँदै गएकोमा चिन्ता र चासो व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेवार अगुवा तथा भाषासेवी डा. महेशमान श्रेष्ठले नेपालभाषा बिरामी भएर आईसीयूमा भर्ना गर्नुपरेको अवस्था आएको बताए ।
उनले सरकारी अदूरदर्शी नीतिको कारणले नेपालभाषालगायत अन्य मातृभाषा संकटमा परेको आरोप समेत लगाए । डा.श्रेष्ठले जिल्लामा नेपालभाषा बोल्नेको संख्या २ प्रतिशतमा सीमित भएकोप्रति चिन्ता व्यक्त गरी आ–आफ्नो क्षेत्रबाट भाषा बचाउ अभियान सुरु गर्न आव्हान समेत गरे। “घरमा सबैले आफ्ना नानीहरुलाई मातृभाषा सिकाउन जरुरी छ । माध्यम भाषा स्वतः सिक्ने भएर आ–आफ्नो भाषा जगेर्ना गर्न यस्तो अभियान शुरु गर्नु अति आवश्यक छ” उनको भनाई थियो ।
त्यस्तै, नेवाः बस्ती नेवाः स्कूलका अभियन्ता दीपक तुलाधरले विद्यालयको पाठ्यक्रममा मातृभाषा राख्नुपर्नेमा जोड दिए । साना नानीहरुको मातृभाषा पढ्न पाउने अधिकार स्थापित गर्न समेत स्कूलमा आ–आफ्नो भाषामा अध्यापन गर्न÷गराउन माग गरे ।
कार्यक्रमका अर्का वक्ता जनचिकित्सालयका अध्यक्ष विमला मानन्धरले महिलाको क्षमता बृद्धि गराएर स्वास्थ्यमा समेत ध्यान दिन आग्रह गरे । समुदायका महिलाले आफ्नो समस्या निर्धक्क भएर राख्न समेत हिच्किचाउने गरेको स्मरण गर्दै उनले आफ्नो बिचार ढुक्क भएर राख्न बोल्न सक्ने क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिएकी हुन् ।
कार्यक्रममा क्लबका अध्यक्ष कमला मानन्धरले नेपालभाषा संरक्षणको क्षेत्रमा संस्थाले गरेका गतिविधि तथा आवश्यकता विषयमा बोलेका थिए । अध्यक्ष मानन्धरले मातृभाषाको आवश्यकता सम्बन्धिको जनचेतना जगाउने व्यानर प्रदर्शन, क्षमता बृद्धि गराउने कार्यक्रम देखि अन्य सम्बन्धित क्षेत्रलाई सचेत गराउँदै आएको बताइन् । उनले निकट भविष्यमा समेत भाषा र लिपि प्रशिक्षण देखि अन्य आवश्यक क्रियाकलपा गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
नेपालभाषा क्लबले काठमाडौंको न्ह्योखा टोलमा अवस्थित जननिकित्सायलको भवनमा आयोजना गरेको १५ दिने उद्घोषण तथा वाक कला सम्बन्धिको क्षमता अभिवृद्धि कार्यक्रममा तीन दर्जन प्रशिक्षार्थीहरुको सहभागिता थियो ।
संचारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई क्लबका उपाध्यक्ष नमस्ते साय्मिले संयोजन गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु