कवि वैरागी जेठासित कवितात्मक छलफल

२०७३ भाद्र १५ गते, बुधबार

नेपाली कम्युनिस्ट आन्दोलनमा लागेको तीन दसक भइसकेको छ । मेरा जीवनमा निकै अप्ठ्यारा दिनहरू रहे तर हरेस भने कैल्यै खाइनँ । जीवनले जे भोगिरह्यो, त्यो नै मेरो पाठशाला भइरह्यो । २०४० सालको वसन्तदेखि कम्युनिस्ट हुने अवसर जु-यो । काठमाडौँ टेकेलगत्तै थालाजुङ्का शिव ढकाल र चूडा ढकालहरूसँग भेट हुनु नै कम्युनिस्ट हुनु रहेछ । उहाँहरूको गीत सङ्गीत र काव्यहरूले मलाई पनि कम्युनिस्ट बनाई छोड्यो । अध्ययनलाई सँगसँगै लिएर हरेक कम्युनिस्ट कार्यत्रमहरूमा हिँड्न थालियो र कविताहरू लेख्न पनि थालियो । मलाई कम्युनिस्ट बनाउने प्रथम व्यक्ति शिव ढकाल नै हुन् । शिव दाइहरू पातलो मसाल हुनुहुन्थ्यो । उहाँ त्यसैमा समर्पित भएर बित्नुभयो । म मोटो मशालतिर लागेँ । शहीद मित्रमणि आचार्यका शोकसभाहरूले मलाई नदी झैँ हिँडाइरह्यो । शिव दाइहरू पनि हाम्रै घरमा डेरा गरेर बस्नुहुन्थ्यो । मेरो ठूलो बुबाको घरमा प्रताप वन्त र उनको परिवार शर्मिला थिए । उनीहरूसँगै जनयुद्धका महान् सहिद शिव श्रेष्ठ बस्ने गर्थे । शिव बाँसुरी बजाउन निकै सिपालु थिए । हार्पिन, तवला पनि बजाउने गर्थे । शर्मिला हामीसँगै अध्ययन गर्थिन् । उनी त्यति बेला क्षेत्रपाटी नजिकैको कन्या माविमा अध्ययनरत थिइन् । समय चल्दै जाँदा नवराज बुढाथोकी, रामकृष्ण थापा, गोकुल सिटौला, रामकृष्ण सिटौलाहरूसँग भेट भयो । त्यसैगरी चर्चित उपन्यासकार एवम् पत्रकार नारायण वाग्ले दाइसँग भेट हुनु मेरो गौरवका कुरा थिए । यसरी नै यात्रा चलिरह्यो हाम्रो । मित्रलाल पंज्ञानीसँग भेट भएपछि नयाँ शैलीमा ऊर्जा थपियो । कैल्यै विचारबाट डगमग नगर्ने सुन्दर अनुशासित व्यक्तित्वसँग भेट हुँदा छुट्टै मजा आउँदो रहेछ । पंज्ञानीसँग भेट भएपछि विशाल विशाल हृदय र मुटु भएका व्यक्तिहरूसँग जम्काभेट हुन थाले । साहित्य सन्ध्यामा उहाँले मेरो पहिलो पाइला टेकाइ दिनुभएको हो । प्रतिभा प्रवाह र साहित्य सन्ध्या मेरो साहित्यिक पाठशाला हुन् ।
श्यामप्रसाद, केवलपुरे, धर्मराज थापा, मोहन वैद्य, चन्द्रकान्त, निनु, कृष्ण सेन, खगेन्द्र, बराल, जगदीशचन्द्र, ताराकान्त, गोपीन्द्र घनश्याम, राजेन्द्र, रुद्र, गङ्गा, विष्णु प्रभात, बलराम, मदन भण्डारी, सिपी मैनाली, झलनाथ, साहना प्रधान, गोविन्द भट्ट, निरञ्जन गोविन्द, प्रभुनारायण, निर्मल लामा, बाबुराम भट्टराई, कृष्णदाश, उमाभद्र खनाल, आनन्ददेव भट्ट, ईश्वर चन्द्र, असारेहरूसँग भेट हुन थाले । असारे त धेरै पटक प्रशिक्षक नै रहे । यसरी साहित्य र राजनीति चलिरह्यो । सबै व्यक्तित्वहरूसँग भेटघाट हुने क्रियाकलापले मैले आफूलाई परिमार्जन विकास गर्ने अवसरहरू प्राप्त भए । प्रतिभा प्रवाह र साहित्य सन्ध्या मेरा गुरु हुन् । धेरै विद्वान्हरूसँग भेटघाट गर्ने अवसर प्राप्त भयो र भइरहेछ । प्रायः सबै वामपन्थी नेता र साहित्यकारसँग उठबस गराइदियो । म यसरी साहित्यमा अगाढि बढेको हुँ । मलाई पत्रकारिता सिकाउने दाजु ईश्वरी वाग्लेलाई मैले भुल्नु हुन्न । पत्रकार शक्ति लम्साल, तारा न्यौपाने पनि मेरा लागि महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ जसले गर्दा पत्रकार भएर उभिन पाएको छु । मेरा साथीहरू ओम ढुङ्गाना, गोविन्द आचार्य, महेश्वर दाहाललाई मैले कैल्यै भुल्न सक्दिनँ । पुराना कम्युनिस्ट नेताहरू प्रायः सबैसँग राम्रै सम्बन्ध रहेकाले म कम्युनिस्ट हुन सफल रहेँ ।
रामेश रायन, मञ्जुल, मालाकार, भन्सारी, खुसीराम, मणि, जेबी टुहुरे, रामकृष्ण, जीवन शर्मा वामपन्थी कलाकारहरूले मलाई अर्जापिरहेको आभास गरेको छु । यहाँ धेरै व्यक्तित्वहरू छुट्न सक्नुहुन्छ । कलाकार केपी पौडेललाई मेराबारेमा सबै जानकारी छ । कम्युनिस्ट आन्दोलनमा यसरी अग्रसर भएको हूँ भन्न सक्छु । निलाम्बर आचार्यद्वारा नेपाली भाषामा अनुदित कृतिहरू अध्ययन गरेर नै विश्व कम्युनिस्ट आन्दोलन बुझ्ने र पढ्ने अवसर मिलेको हो । आज कम्युनिस्ट हुँ भन्न यसरी गर्व लाग्छ । खेम थपलिया जस्तो कठोर आलोचक म हुन सक्दिनँ । सबै राजनेताहरूलाई एक एक गरी अध्ययन गरेको छु । मलाई सबै राम्रा लाग्छन् । नेतृत्व वर्गको चाप्लुसी कहिल्यै गरिनँ र गर्न पनि आउँदैनथ्यो । २०४७ मा बहुदल आएपछि म काठमाडौँ नगरको २९ वडा समितिमा सचिव रहेर संयुक्त जनमोर्चा, नेपालको खुल्ला र सक्रिय काम गरिसकेकाले मलाई कुनै अप्ठेरो लाग्दैन । त्यतिबेला बाबुराम भट्टराई संयोजक हुनुहुन्थ्यो । मैले आफ्ना परिपत्रहरू सर्वोत्तम डंगोललाई पनि बुझाउँथेँ र बाबुराम भट्टराई बुझाउने गर्थँे । उहाँले कैल्यै विरोध गर्नुभएन, हौसला प्रदान गर्नुहुन्थ्यो । पार्टी चुनाव चिन्हका निम्ति फुट्यो । म नारायणकाजी गुटमा गइनँ, प्रचण्डकै गुटमा रहेँ । काठमाडौँ जनमोर्चा पुनर्गठन हुने भयो । काठमाडौँकै त्रिभुवन विश्वविद्यालयको पुरानो अडिटोरियम हलमा सभा बस्यो । मैले प्रतिनिधि हुने अवसर प्राप्त गरेँ । मेरा राजनीतिक संगठक गुणराज श्रेष्ठ हुनुहुन्थ्यो, अहिले उहाँ हुनुहुन्न । एकाइ समितिको तर्फबाट त्यस विशाल सभामा सम्बोधन गर्ने अवसर प्राप्त गर्दै मित्र कुमार पौडेलसँग अध्यक्ष दावेदारी गरेको थिएँ । सम्पूर्ण हल मेरै पक्षमा वकालत गरे झैँ लाग्थ्यो । हजारौँ हजार भिडमा उभिएर बोल्ने, सम्बोधन गर्ने अवसर प्राप्त गरेको क्षण हिजोजस्तै लाग्छ । नुवाकोट–काठमाडौँ जनमोर्चाको कोषाध्यक्ष हुने अवसर प्राप्तले मलाई राजनीतिमा चर्चामा उभ्याएको मैले ठानेको छु । एकाउन्न सालको मध्यावधि चुनावमा सक्रिय भएर लागेको र २०५२ सालको वैशाखमा गरिएको नेपाल बन्दमा काठमाण्डौबाट पहिलो गिरफ्तार भएको व्यक्ति हुँ । त्यसपछि माओवादी पार्टी बनेपछि पहिलो पटक नै मलाई हरके ठाउँबाट खोजी गरिएको थियो । पार्टी संगठनका कागजपत्रहरू सुरक्षित राख्नू भन्ने सन्देश आएको थियो । मैले त्यसै गरेँ । वैशाखमा हामीलाई महेन्द्र पुलिस क्लवमा १८ घन्टा राखिएको थियो । हामीलाई छुटाउन वरिष्ठ वामपन्थी पत्रकार शक्ति लम्साल आउनुभएको थियो । हामी राती छुट्यौँ । पहिलो पटक तस्बिर खिच्ने प्रविधि पुलिसले ल्याएको थियो । २०४९ सालमा प्रचण्डको आमालाई रगत दिन लगाइएको थियो । मुक्ति प्रधान, कुमार योञ्जनहरूले जोडतोड गर्नुभएको थियो रगत दिन बाध्य भएको थिएँ । रगत दिन थालेँ, मेरा डरहरू सबै हराए । चौध पन्ध« पटक बिरामीलाई दिन सफल रहेँ । हिरासतको राम्रै ज्ञान हासिल पनि भयो । म ओझेल पर्नु कुनै अनौठो पनि मान्दिनँ । मैले सङ्गत गरेका साथीभाइहरू मन्त्री, हाकिम भएका छन् । ठूल–ठूला पदमा पुगेका छन् । मलाई कुनै चीजको लोभलालच छैन । अहिले पनि पहिलेकै जसरी हिँडिरहेकै छु । नेपाली भाषा साहित्य बचाऔँ भन्ने नाराका साथ यात्रामा हिँडिरहेछु । साथीहरू नेता भएका छन्, खुसी नै छु । कुनै दुःख मनाउ छैन । पुरानो घाउ कोट्याउने कुराहरूपट्टि मन डुलाउन चाहन्नँ । मेरो हृदयले कम्युनिस्ट बाटो रोज्यो, त्यही बाटोमा छु । आजकलका मानिसहरू मेरो कर्मलाई बुझ्न चाहन्नन् । कसैको लहैलहैमा लागेर कम्युनिस्ट बनेको होइन । साहित्यकार, कानुनविद्, राजनीतिकर्मी नीलाम्बर आचार्यका अनुदित कृतिहरू, कृष्णदास श्रेष्ठका अनुदित कृतिहरू, हरिहरजङ् शाह, अरविन्द रिमालजस्ता विद्वान्हरूका कृतिले मलाई कम्युनिस्ट बनाएको हो । खगेन्द्र सङ्ग्रौला, ऋषिराज बराल, नारायण ढकाल, कृष्णराज बर्मा, मोदनाथ प्रश्रित, मोहन बैद्य, हिरण्यलाल श्रेष्ठ लगायतका रचनाहरूले मलाई प्रभाव पारिरह्यो । पुष्पलालका सृजनाहरू मेरा सिरानीमा नै हुने गर्छन् । कम्युनिस्ट आन्दोलनमा म यसरी सरिक भएको हुँ । कृष्ण सेनसँग नै मेरो दुई दसक बिते । कृष्ण सेन, पूर्ण विराम, मित्रलाल, बासु, जगदीश, ताराकान्त, घनश्याम, गोपीन्द्र, गङ्गा, नेत्रजस्ता साथीभाइहरूसँगका यात्राले मलाई कवि बनायो । अन्तिम पटक जेठ छ गते कृष्ण सेनसँग भेट भएको थियो रत्नपार्कमा । उहाँले सुरक्षित हुँदै आन्दोलनमा सरिक भइरहन कुरा गर्नुभएको थियो । निकै बेरसम्म कुरा भए । २०५९ को मङ्सिरमा मलाई पनि लग्यो पुलिसले । म हिरासतमा परेँ । घर परिवार निकै तनाव रह्यो । मेरो रोजीरोटी पनि खोसियो । धेरै समय तारेख धाउनुपरेकाले रोजगारीको व्यवस्थापन गर्न सकिएन । कविताका पाण्डुलिपिहरू सबै पुलिसको हातमा कब्जा भयो । यातना खाएँ बेस्सरी । अहिलेका माओवादीहरूले मलाई पढ्नै सकेनन् । मैले नकुनै नेता चाकडी गर्न गएँ न उनीहरूको नाउँ बेचेँ । हृदयबाट लागेको मानिसले कुनै नेताहरूको पछाडि दगुर्न चाहन्न । म त्यस्तै मान्छे परेँ । श्यामप्रसाद, आनन्ददेव भट्ट, गोविन्द भट्ट, केवलपुरे किसान, धर्मराज थापा, ऋषिराम न्यौपानेहरूको माया ममताहरू मैले भुल्न सक्दिनँ । मैले सबै कम्युनिस्टहरूलाई एउटै देख्छु, हाँगा धेरै भए पनि रूख भने यौटै हुन् भन्ने लाग्छ । म मूल कम्युनिस्ट हुँ भन्न चाहन्छु । सबैका चेतनाहरू एउटै हुन सक्दैन । फरक फरक धारणाहरू आउनु कुनै अनौठो कुरा होइन । खगेन्द्र सङ्ग्रौला र ऋषिराज बरालका सहयोग अतुलनीय छ । जति व्याख्या गरे पनि सकिँदैन । म यसरी कवि भएको हुँ ।
वैरागी के हो ?
वैरागी कम्युनिस्ट हो । आफूलाई कम्युनिस्ट भन्न रुचाउँछ । असाधारण मानिस हो । नेपाली भाषा साहित्य बचाउनुपर्छ भन्ने नागरिक हो । कम्युनिस्टको विधानमा रहेर आफूलाई प्रस्तुत गर्न चाहने एउटा सुन्दर युवक हो । कम्युनिस्टको विधानमा रहेर आफ्नो वैराग्य प्राप्त गर्नु नै वैरागीको लक्ष्य हो । वैरागी एउटा रातो गुलाफ हो । चिमाल हो, गुराँस हो, बेली चमेली हो । नेपाली कम्युनिस्टको सामान्य कार्यकर्ता हो । नेपाली भाषा साहित्यको हली हो वैरागी जेठा । नेपाली भाषा साहित्यको सुन्दर झोले पनि हो वैरागी ।

कविता के हो ?
कविता सामान्य अर्थमा काव्य हो । कः कला, विः विचार, ताः लय हो । कवितामा कविले आफ्नो विचार, दर्शन अभिव्यक्त गर्दछ । उसको काव्यमा भएको सामथ्र्यलाई नै कविता भनिन्छ । कवितामा वैचारिक पक्ष सवल हुनुपर्छ, जुन कविता शब्दको अर्थ र मूल्यको बाटो हिँडोस् । काव्यबिना कविता हुन सक्दैन । कवितामा घटना, पात्र, स्थान, कथाहरू सबल हुनुपर्छ । त्यसले गर्दा कविता सधैँ अमर भएर बाँच्न सक्छ । कविता पद्य र गद्यमा लेखिन्छन् । कविको चेतनाले दुबै पक्षबाट लेख्न सक्छन्– विचार, दर्शन प्रस्तुत गरेर । यदि कवितामा दर्शन र विचार छैन भने कविता कविता हुन सक्दैन । काव्य माध्यमबाट आफ्नो भनाइलाई प्रयोग र भाषागत ज्ञान साह्रै आवश्यक हुन्छ । शब्दका विभिन्न प्रवृत्ति र प्रकृतिदेखि लिएर नेपाली काव्य भाषाका विकासको विवरणसम्म हुन्छन् । ती सबै रचनाकै लागि हुन् अर्थात् काव्यका लागि । भाषालाई शुद्ध र सुन्दर बनाउने काम कविताले नै गर्छ । कवितामा इच्छा हुनुप¥यो । इच्छा र रुचि अनुसार धेरै विषयमा लेख्न सकिन्छ । कविता लेख्न भाषा र साहित्यिक ज्ञान हुन आवश्यक छ ।
कविता कसरी जन्मिन्छ ?
कविता वास्तविक घटनाका दृश्यहरूले जन्मिन्छ । लडाइँ, थिचोमिचो, पीडा, रमाइलो परिवेशका दृश्यहरूले नै कविता जन्मिन्छन् । मैले लेख्ने कविताहरू पनि यस्तै परिवेशका हुन्छन् । हरेक स्थानका भोगाइहरूबाट काव्य सृजना हुन्छ । पक्ष–विपक्षका द्वन्द्वबाट मन्थन भएर छानिएर आएको पानी झैँ कविता जन्मिन्छ । भाषा शब्द, साहित्यको ज्ञानको कलाबाट काव्य पलाउँछ त्यही नै कविता हो र यसरी नै जन्मिन्छ कविता ।
कविताले कसको सेवा गर्नुपर्छ ?
कविताले भूगोल अनुसारका जीवजन्तुहरूको सेवा गर्दछ । हामी नेपाली भूगोलमा भएकाले नेपाली भूगोलका जीवजन्तुहरूको न्याय गर्न सक्नेखालका कविताहरूले मूल्य पाउँछ । कवि हृदय भएकाहरूले यसरी नै काव्य लेखेका पाइन्छन् । सचेत विश्वका नागरिकहरूले आफ्ना काव्यहरूमा मानिस, हरेक जीवजन्तु र आफ्ना भूगोलहरूको रक्षात् लेख्ने गर्छन् । समाजमा हरेक वर्ग जाति हुन्छन् । यो मानिसको दोष होइन । हरेक जीवजन्तुहरूमा आफ्नै वर्ग रहेका हुन्छन् । प्रकृतिले यसरी सृष्टि गरिदिएकी छन् । मानव जातिलाई बोल्न सक्ने क्षमता दिएकाले उनीहरूले आफूलाई परिमार्जित गर्दै शासन गर्न थाले । मान्छेले आफूलाई भाषा र साहित्यमा विकास ग¥यो । कविताले हरेक प्राण भएका जीवजन्तुहरूको सेवा गर्छ र गरिरहेछ । कविताले दीनदुःखीहरूकै सेवा गर्दछ ।
कवि वैरागी र कविताका बीच कस्तो सम्बन्ध छ ?
कवि वैरागी र कविताको बीच नङ मासुजस्तै सम्बन्ध छ । जब वैरागीले भाषा साहित्यलाई बुझ्यो, उसले कवितालाई प्रेम ग¥यो । कविताले वैरागीलाई प्रेम गरिन् र आज कवि वैरागी भएको छ । कविताले प्रेम गरेकी तीन दसक भइसकेको छ । वैरागी र कविताको घर राम्रै हुँदैछ, चलिरहेछ । कविता भन्छिन्– तमोर भएर बग, कोशी भएर उर्ल, काली भएर शालिग्राम बन । म यात्रा गरिरहेछु कवितासँगै । म नेपाली भएकाले नेपाल आमाको गीत गाउँछु, सरस्वती भएर आउँछिन् हरेक पल्ट कविता, निंद्रामा आउँछिन्, यात्रामा आउँछिन्, स्पाती मैदानमा आउँछिन् । उनले हरेक पलपल मलाई साथ दिइरहेकी छिन् । म उनलाई स्नेह गर्छु, उनी मलाई प्रेम गर्छिन् । त्यसैले गर्दा म झर्ना भएर बग्न पाएको छु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु