भारत-अमेरिका एमालेविरुद्ध देखिए: ओली

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन् । उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो । अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन् । यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ ।
यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन,ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो । बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ । बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए । बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए । उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए ।
प्रधानमन्त्रीले पनि त्यस्तो कुनै सहमति नभएको भन्दै बैठकमा आश्वस्त पारेका थिए। उनले छलफलमा ११ बुँदा र १२ बुँदा आएको भए पनि त्यसलाई हटाएर नौ बुँदामा झारिएको र बाहिर आएभन्दा कुनै अर्को सहमति नभएको दाबी गरेका थिए । उनले आफूले यस्तो सहमति गर्नैपरेको अवस्थामा पार्टीका शीर्ष नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने बताएका थिए ।
माओवादी केन्द्रसँगको वार्तामा सहभागी उपप्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष भीम रावलले पनि यस विषयमा ओलीको बचाउ गरेका थिए । तीनबुँदेका कुरा पनि छलफलमा आएको हो, माओवादीबाट बजेट पास गर्ने सर्तमा त्यसपछि सरकारको नेतृत्व लिने भन्ने विषयमा छलफल पनि भएको हो । तर प्रधानमन्त्रीले आफूले कुनै सर्त नमान्ने बरु अहिले नै छोड्छु भनेर अस्वीकार गर्नु भएको हो,रावललाई उद्धृत गर्दै स्रोतले भन्यो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बजेट पारित भएपछि केही सहमति भएको हो कि भन्ने लागेर भद्र सहमतिबारे बाहिर यस्तो टिप्पणी भएको बताएका थिए ।
अर्का नेता माधव नेपालले आफूले बोलेका कुरा तोडमोड गरेर प्रचार भएको र पार्टीमा पर्याप्त छलफल नभएकाले पनि केही असमझदारी हुन पुगेको बताएका थिए । बैठकले यस विषयमा अलग्गै एजेन्डा बनाएर आइतबार छलफल गर्ने भएको छ । -बालकुमार नेपाल, अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रियाहरु