श्रीमतीलाई हल्का कुट्न पाइने !

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं, १४ जेठ । पाकिस्तानमा श्रीमानले श्रीमतीलाई ‘हल्का कुटपिट’ गर्न पाउने विधेयकको मस्यौदामाथि बहस चलिरहेको छ । महिला सुरक्षासँग सम्बन्धित ‘मोडल’ कानुन बनाउने यो मस्यौदालाई काउन्सिल अफ इस्लामिक आइडियोलजी (सीआइआई)’ मा राखिएको छ। यो विधेयकमा विद्यालय, अस्पताल र कार्यालयहरुमा पुरुष र महिलाबीच मिलजुलमाथि पनि प्रतिबन्धको प्रस्ताव गरिएको छ। सीआईआई पाकिस्तानको एउटा संवैधानिक निकाय हो, जसले इस्लामिक कानुसँग सम्बन्धित मुद्दामा संसदलाई आफ्नो सुझाव दिने गर्दछ । यद्यपि संसद त्यसलाई मान्न बाध्य भने हुने छैन ।
यता ट्वीटरमा यो विधेयकको खुब आलोचना भइरहेको छ। ट्वीटर प्रयोगकर्ता यो विषयलाई ‘मुर्खतापूर्ण’ बताइरहेका छन् र यसलाई महिलाविरुद्ध हिंसा बढाउने कामको रुपमा लिइरहेका छन्। सामाजिक सञ्जालमा काउन्सिल भंग गर्नुपर्ने मागसमेत तिब्र बनेको छ। सीआईआईको मस्यौदामा महिलाहरुलाई ती सबै अधिकार दिइने भनेको छ, जुन शरिया कानुनमा उनीहरुलाई दिइएको छ।
यद्यपि यसमा कलाको नाममा नृत्य, संगीत र मुर्तिहरु बनाउनमाथि प्रतिबन्ध लगाउन सिफारिस गरिएको छ। यो वर्षको सुरुवातमा पञ्जावको संसदले एउटा महिला सुरक्षा विधेयक पारित गरेको थियो । जसलाई सीआईआई र धार्मिक पार्टीहरुले कडा विरोध गर्दै खारेज गरेका थिए । त्यसलाई उनीहरुले गैर इस्लामिक करार दिएका थिए ।
खैबर पख्नुनख्वा सरकारले यस्तै विधेयक काउन्सिलमा परामर्शका लागि पठाएको थियो । जसलाई सीआईआईले गैर इस्लामिक भन्दै खारेज गरिदिएको थियो । काउन्सिलले त्यसको स्थानमा अर्को मोडल विधेयक तयार गर्ने बताएको थियो ।
काउन्सिलमा विधेयकको १६३ बुँदामा बहस सुरु भएको छ । यो विधेयकको प्रति सबै प्रान्तीय संसदहरुलाई पठाइएको छ। उक्त बुँदाहरुमा सम्पत्ति, विवाह, आमा बन्नु, अपराध र महिलाविरुद्ध हुने अत्याचारमा पनि सुझाव दिइएको छ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु