चाँगे धर्ती आमा कोषद्वारा २ सय ६५ जेष्ठ नागरिक सम्मानित

२०७३ बैशाख ५ गते, आईतवार

२ सय ६५ जेष्ठ नागरिक सम्मानित
काठमाडौं, ५ वैशाख । ताप्लेजुङको चाँगे गाविसको चाँगे उच्चमाविलगायत विभिन्न ३ स्थानमा शनिबार कार्यक्रम गरी चाँगे धर्तीआमा कोष संस्था ताप्लेजुङले २६५ जना ६५ वर्ष भन्दामाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सीता आङबुहाङ अध्यक्ष रहेको संस्थाले गत सालदेखि चाँगेमाशुरु गरेको सम्मान कार्यक्रमले यस वर्षपनि निरन्तरता पाएको हो । गत साल बृद्धाहरूलाई मात्र सम्मान गरिएकोमा यस वर्ष बृद्धलाई पनि सम्मान गरेको छ । सम्मानित सबै जेष्ठ नागरिकको मुहारमा खुशी छाएको थियो ।
शनिबार सम्पन्न जेष्ठ नागरिक अभिनन्दन कार्यक्रममा चाँगे उच्चमाविमामात्र सबैभन्दा जेष्ठ पुरुष जसबहादुर भूजेल (९३) सहित ६० र जेष्ठ महिला तुलसादेवी निरौला (८४) सहित ४९ गरी कुल १०९ जनाले सम्मान पाएकाथिए । बाँकी १५६ जनाले विभिन्न केन्द्रबाट गरी कुल २६५ जना सम्मानित भएका हुन् ।
सम्मान गरिने खबरले चाँगे गाविसका सम्पूर्ण जेष्ठ नागरिकलाई उत्साहित बनाएको थियो । शनिबार बिहान सात बजेदेखि नै सम्मान केन्द्रमा जेष्ठ नागरिकको अगमन शुरु भएको थियो । प्रत्येक जेष्ठ पुरुष नागरिकलाई एक थान ढाकाको गलबन्दी र जेष्ठ महिला नागरिकलाई तीनखोले खास्टो ओढाई चियापान सहित सम्मान गरिएको हो ।
सम्मानित जेष्ठ नागरिकले यस्तो सम्मानले निरन्तरता पाउने, आफूहरुको चाड जस्तै बनेको, सबै साथीसँग भेटघाट भएकोले रमाईलो भएको अनुभव सूनाए । यस किसिमको सम्मानले सम्पूर्ण आमा, बुबालाई खुशी बनाउने र चाँगेमामात्र नभएर सबै ठाउँमा कार्यक्रम बिस्तार गर्दा राम्रो हुने आशा सहित चाँगे धर्ती आमाकोष संस्थालाई धन्यबाद दिए । – आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु