चट्याङ लागेर एकको मृत्यु, २ घाईते

२०७३ बैशाख ३ गते, शुक्रबार

काठमाडौ, ३ बैशाख । ताप्लेजुङमा चट्याङ लागेर ताप्लेजुङ नगरपालिका ४ निवासी विष्णुमाया राजभण्डारीको मृत्यु भएको छ भने फुरुम्बु गाविस २, माङयुङका एक दम्पती सुकबीर र मोतीमाया भट्टराई घाईते अवस्थामा ताप्लेजुङ अस्पतालमा उपचार गराईरहेका छन् । दिउँसो पानी परेपछि अगेनामा मकै भुट्दै गर्दा फुरुम्बु गाविस २, माङयुङका सुकबीर र मोतीमाया भट्टराईलाई चट्याङले लागेको हो । यता मृतक विष्णुमाया राजभण्डारीले पनि चट्याङ परेको बखत नुन भुट्दै गरेकी थिई ।
चट्याङका कारण बेहोस भएपछि मोतीमायाको दाहिने खुट्टा अगेनामा परी दाहिने खुट्टाको पैताला जलेको छ । सुकबीरको टाउको र अनुहार जलेको छ । श्रोतका अनुसार सुकबीर दम्पतीको ताप्लेजुङ अस्पतालबाट रिफर गर्नु नपर्ने बताईएको छ । चैत्र १५ गते बिहान परेको चट्याङका कारण घाईते अवस्थामा ८० प्रतिशतभन्दा बढी भाग जलेको फुङलिङका १ जनाको वीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरानबाट फर्काईएपछि अस्ति मात्र मृत्यु भएको थियो ।
ताप्लेजुङमा चट्याङका कारण एक १८ दिनमा २ जनाले ज्यान गुमाएका छन् । – आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु