हवल्दार हुँ भन्दै ठग्ने युवती पक्राउ

२०७२ चैत्र १९ गते, शुक्रबार

काठमाडौं, १९ चैत । सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भन्दै ठगि गर्दै आएकी २४ वर्षीया कोपिला बोहरालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको छ । उनले आफ्नो नामथर समेत ढाँटेर रकम सापटी लिएर नतिर्ने गर्दै आएको प्रहरीलाई बताएको छ । सिन्धुपाल्चोक जिल्ला माङ्खा गाविस वडा नम्बर ६ बस्ने उनले आफ्नो नाम ढाँटेर मञ्जु बुढाथोकी बताई रकम ठगी गरेको भन्ने जानकारी प्राप्त भएपछि खटिएको एपीएफ टोलीले पक्राउ गरेको जनाइएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित सूचना शाखाका अनुसार कोपिलाले आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भनि ओखलढुंगा जिल्ला नारायणस्थान गाविस वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका ३४ पुरानो बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गरी बस्ने परदेश राईसँग १६ लाख रुपैयाँ लिएकोमा ११ लाख ७५ हजार रुपैयाँ फिर्ता नगरेको भनि निज राईले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकमा खबर गरेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका २५ महाँकाल बस्ने लक्ष्मी प्रधानसँग ६० हजार रुपैयाँ ठगि गरेको भनि निज प्रधानले समेत सो कार्यालयमा खबर गरेकी थिइन् ।
उनीहरुले निज बोहराले दर्ज्यानी चिन्हसहितको सशस्त्र प्रहरी बरिष्ठ हवल्दारको पोशाक प्रयोग गरेको तस्वीर समेत सो कार्यालयमा पेश गरेका थिए । त्यसपछि खटिएको एपीएफ टोलीले उनलाई माङ्खा गाविसस्थित ८० किलो भन्ने ठाउँबाट पक्राउ गरेको हो ।
सूचना शाखाका अनुसार एपीएफ टोलीले निज बोहरासँग सोधपुछ गर्दा उनले आफुले सशस्त्र प्रहरी बलको दर्ज्यानी चिन्हसहितको पोशाक प्रयोग गरी तस्वीर खिचेको र ती व्यक्तिहरुसँग उल्लेखित रकम लिएकोमा तिर्न बाँकी रहेको बताएकी छिन् ।
उनले आफु युएन मिसन जान लागेको लगायतका कुराहरु बताई रकम लिएको खुल्न आएको छ । बिहीबार पक्राउ परेकी उनलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले आवश्यक अनुसन्धान तथा कारवाहीको लागि स्थानीय प्रहरी समक्ष बिहीबारै बुझाएको छ ।

प्रतिक्रियाहरु