ग्यास खोज्न प्रहरीको विशेष टोली परिचालन

२०७२ चैत्र १३ गते, शनिबार

काठमाडौं, १३ चैत। ग्यासको अभाव नहटेपछि प्रहरीले त्यसको खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले विशेष टोली परिचालन गर्दै ग्यास वितरक तथा डिपोमा विगत दुई महिनायता आएका र र त्यहाँबाट वितरण गरिएका ग्यास सिलिन्डरको विवरण सङ्कलनको कार्य थालेको हो । उपभोक्ताले बढी मूल्य तिरेर सिलिन्डरसहित खरिद गरे सहजै ग्यास पाउने अन्यथा नपाउने गरेको गुनासो गर्दै आइरहेका छन् ।
नियमित रुपमा ग्यास आपूर्ति नियमित हुन थालेपनि उपभोक्ताले ग्यास नपाएको भन्ने गुनासाका आधारमा महानगरीय प्रहरी आयुक्त कार्यालयको निर्देशन बमोजिम प्रहरीले ग्यासको विवरण सङ्कलन गर्न थालेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए ।
उनका अनुसार बिक्रेताले बढी मूल्य लिई बिक्री गरेको र ग्राहकलाई वितरण नगरी भण्डार गरेको पाइए कालो बजारी ऐन अनुसार कारवाही अगाडि बढाइने छ ।
उनले मातहतका सबै निकायलाई आफ्ना कार्यक्षेत्रभित्र भएका सबै ग्यास बिक्रेता र वितरकहरुको विवरण सङ्कलन गरी पेस गर्न र नियमित अनुगमन गरी ग्यास कालो बजारी रोकथाम गर्न निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रियाहरु