आज फागु पुर्णिमा , उल्लास पूर्वक मनाईंदै

२०७२ चैत्र ९ गते, मंगलवार

काठमाडौं, ९ चैत । आज फागु पुर्णिमा (होली पर्व ) , काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा उल्लासपूर्वक मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णीमाको दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णीमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ । सरकाले तराईमा पूर्णीमाको भोली पल्ट होलीको सार्वजनिक विदा दिए पनि एक दिन अगावै होलीको रौनक सुरु भईसकेको छ । मिथिलाञ्चलमा पञ्चमीमा होली समापन गर्ने चलन छ ।
यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ । सुदूरपश्चिमका अछाम, डोटीगायतका जिल्लामा पूर्णीमाको राति रंगीचंगी ध्वजापताकाले रंग्याएको चिरमा आगो लगाउने र भोलीपल्ट होली विसर्जन गर्ने परम्परा छ ।

प्रतिक्रियाहरु