न्यू जयलक्ष्मी गहना गृहको ठगीबिरुद्ध ग्राहकको हारगुहार

२०७२ फाल्गुन २ गते, आईतवार

काठमाडौँ । काठमाडौँको न्यूरोडमा रहेको न्यू जयलक्ष्मी गहना गृहको गरगहना खरिद गर्ने ग्राहकलाई व्यापकरूपमा ठगी गर्दै आइरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, हेलो सरकारलगायतका निकायमा उजुरी परेको यसअघि प्रमाण सार्वजनिक भइसकेको विषय हो । उक्त गहनागृहले व्यापक रूपमा ठगी गरेको भन्दै सम्बन्धित निकायमा उजुरी परेपछि गहनागृहका मालिक विजयराज बराइली कोकोहोला मच्याउँदै विभिन्न राजनीतिक दलका नेता र शक्तिकेन्द्रको दैलोमा पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार न्यू जयलक्ष्मी गहनागृहका मालिक विजयराज बराइली यतिबेला आफ्नो अकुत सम्पत्ति र अवैध कारोबार बचाइदिन हरेक दिन याचनासहित शक्तिकेन्द्रको ढोका ढकढक्याउन पुग्न थालेका हुन् । यसैक्रममा उनले आफ्नो गृहनागृहका बारेमा सार्वजनिक भइरहेका समाचार रोक्नसमेत विभिन्न व्यक्ति र शक्तिकेन्द्रलाई अनुनयविनय गर्दै आइरहेको पुष्टि भएको छ । उनले यस साप्ताहिकमा उक्त गहनागृहविरुद्ध विभिन्न ठाउँमा उजुरी परेको विषयसम्म प्रमाण जस्ताको तस्तै छापिएपछि अत्तालिँदै त्यस्ता समाचार प्रकाशन रोकिदिन भन्दै विभिन्न व्यक्ति र शक्तिकेन्द्रहरूबाट दबाब दिन थालेका छन् । आफ्नो ठगीधन्दालाई निरन्तर दिन नपाएपछि अत्तालिएका न्यू जयलक्ष्मी गहनागृह र त्यसका मालिक विजयराज बराइलीमाथि जिउधनको सुरक्षाको खातिर नाम र ठेगाना गोप्य राखिदिन अनुरोध गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, हेलो सरकारलगायतका सम्बन्धित निकायमा परेको उजुरीको पूर्णविवरण यसप्रकार रहेको छ– ‘उपरोक्त बिषयमा काठमाडौको न्यूरोडमा रहेको श्री न्यू जयलक्ष्मी गहना गृहले हामी माथि ठगी गरेकोले श्रीमान् समक्ष यो निबेदन पेश गरेका छौँ । हामीले उक्त गहना गृहवाट किनेको गहना अरु गहना पसलमा बिक्री गर्न र बन्धकी राख्न जाँदा तौल र गुण स्तरमा ठगेको थाहा पाएपछि श्री न्यू जयलक्ष्मी गहना गृहका मालिक विजयराज बराइलीलाइ गुनासो राख्दा अरु गहना पसलको कुरा नसुन्नु भन्दै धम्क्याए र उनले यो बिषय अन्यत्र सार्बजनिक गरे सबै दलित समुदाय उचालेर उठिबास लगाई दिने धम्कि दिएको श्रीमान्समक्ष जानकारी गराउन चाहन्छौ । श्रीमान् हामीले करिब दश बर्षदेखि न्यू जयलक्ष्मी गहना गृहका मालिक विजयराज बराइलीसँग गहनासम्बन्धी कारोबार गर्दै आइरहेका थियौँ । कतिपय अबस्थामा उनले हाम्रो गहना सयकडा४० (चालिस) प्रतिसतसम्म ब्याज लिएर ऋण समेत दिने गरेका थिए । कतिपय अबस्थामा ऋण तिर्न केही ढिलो हुदा उनले ऋणभन्दा ब्याज धेरै भैसक्यो भनेर बन्धक राखेको सुन समेत दिँदैनथे । तर हामी सहेर बसेका थियौँ तर हाल उनको ठगीको सीमा नाघेकोले श्रीमान् समक्ष यो निबेदन पेस गर्न बाध्य भएका छौँ । श्रीमान न्यू जयलक्ष्मी गहना गृहका मालिक विजयराज बराइली दस बर्ष अगाडिसम्म बराहा ज्वलरीमा एक साधारण कामदारको रूपमा काम गर्दथे । हामीले उनलाई त्यहीँदेखि चिनेका हौँ । हामीले बुझेअनुसार उनले बाराह ज्वलरीमा लुट मच्याएर आफ्नै गहना गृह खोलेका हुन् । उनले यो दश बर्षमा अरब कमाएका छन् । के सोझो काम गरेर यो सम्भब छ ? हो उनले हामीजस्ता सिधासाधा जनतामाथि लुट मच्याएर, राजस्व छलेर, सुन तस्कर गरेर यो अकुत सम्पति कमाएका हुन् । तसर्थ यसरी सर्बसाधारण जनता ठग्ने, राजस्व ठग्ने र सुन तस्करी गरी अकुत सम्पति आर्जन गर्ने माथि तत्काल छानबीन थालियोस् र निजले गैरकानुनी तवरबाट कमाएको सम्पति जफत गरी बिगोसहित असुल उपर गरियोस् भनी श्रीमान्समक्ष यो निबेदन पेस गरेका छौँ । श्रीमान्को जो आदेश ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु