सभापतिका लागि कोइराला र देउवाबीच भिडन्त

२०७२ माघ ९ गते, शनिबार

काठमाडौँ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । हालसम्म वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सभापतिको उम्मेदवारमा खडा भएका छन् । सभापति सुशील कोइरालाप्रति उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल र धनराज गुरुङ असन्तुष्ट छन् । सूर्यमान गुरुङ, उमाकान्त चौधरी पनि कोइरालासँग असन्तुष्ट रहेको स्रोतको दाबी छ । कोइरालासँग लामो समयदेखि असन्तुष्ट रहेका अर्जुननरसिंह केसी देउवासँग नजिकिएका छन् । अहिले अर्जुननरसिंह मात्र होइन, सिटौलालाई समेत देउवाले आपूmतर्फ तान्ने कोसिस गरिरहेका छन् । उनीहरूलाई महत्वपूर्ण पदको उम्मेदवार बनाउन देउवालाई समस्या छैन । देउवा पक्षका असन्तुष्ट आगामी महाधिवेशनमा पदाधिकारीका आकांक्षी पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, विमलेन्द्र निधि, शंकर भण्डारी देउवासँग असन्तुष्ट छन् । देउवाले अर्जुननरसिंह केसीदेखि सिटौलासम्मलाई आफ्नो समूहमा ल्याउने प्रयास गरेकाले निधि र खड्काद्वय सशंकित छन् । उनीहरू तीनैजना महामन्त्रीका दाबेदार हुन् । उता वर्तमान सभापति सुशील कोइराला पुनः सभापति बन्न कम्मर कसेर लागेका छन् । स्वास्थ्य र दृष्टिकोण दुवै हिसाबले आपूm फिट रहेको उनको दाबी छ । हालै भक्तपुरको एक कार्यक्रममा उनले भने– अब बोलेर मात्र काँग्रेस चल्दैन, अब काँग्रेसमा बोलेर मात्र हुँदैन, काम गर्ने मान्छे चाहिन्छ । बूढापाकाले पार्टी चलाउँदैनन् भन्ने चर्चा पनि छ । उमेरले बूढो हुँदैमा मान्छे नेतृत्वका लागि अक्षम हुने होइन । कतिले सुशील गयो पनि भने । मेरो बारेमा धेरै हल्ला चलाइयो । हो, मलाई छातीको क्यान्सर थियो । उपचारपछि ठीक भएको छु । मलाई फेरि रोग लागे औषधि गरुँला । अहिले देशको चिन्ता गरौँ । केटाकेटी भएर तोते बोलेको हो ? तपाईंहरू मेरो बोली सुनिरहनुभएको छ । हो, मेरो बोली तोते छ । के म केटाकेटी भएर तोते बोलेको हो ? जिब्रोको उपचार गर्दा भएको हो । जिब्रोको क्यान्सर पनि निको भएको छ । डाक्टरले मान्छे नभेट्नु भनेका थिए । हो, प्रधानमन्त्री हुँदा धेरै कार्यकर्ता भेट्न पाइन । बिरामी भएका बेला डाक्टरले धेरै भेटघाट नगर्नु भनेको थियो । त्यसैले कम भेटघाट गरे । अब ठीक छु, सबैलाई भेट्छु, त्यस्तो गल्ती पनि गर्दिन । भन्दै उनले पुनः आपूm सभापति भएरै छोड्ने ठोकुवा गरे ।
यसैगरी, वर्तमान उपसभापति रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्ने घोषणा गरे पनि पार्टीभित्र उनको खासै चर्चा हुन सकेको छैन । वर्तमान सभापति सुशील कोइराला पुनः सभापति बन्न कम्मर कसेर लागेपछि पौडेलको सभापति बन्ने सपन अधुरै रहने निश्चित देखिन्छ । पौडेलले सभापतिको उम्मेदवारको लागि भन्दै ३१ लाख चन्दा उठाउने अभियानस्वरुप अहिलेसम्म अनलाइनमार्फत झण्डै ५० हजार रुपैयाँ उठाइसकेका छन् । यसबाट पनि पौडेल यस पटक संस्थागत तयारीका साथ सभापतिमा उठ्छन् भन्ने देखिन्छ । देश दौडाहका सबै कार्यक्रममा पौडेलले यस पटक आपूm सभापतिमा लडिछाड्ने दाबी गर्दै आएका छन् । तर पार्टीभित्र वर्तमान सभापति कोइराला र वरिष्ठ नेता देउवाको कित्ताको मात्र चर्चा चल्ने गरेकोले उपसभापति पौडेल ओझेलमा परेका छन् ।
यसैबीच, पार्टीले गतमाघ ३ गते आफ्नो वेबसाइटमा मुुलुकभरका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेसँगै पार्टी केन्द्रीय कार्यालयमा नाम छुटेका, गल्ती भएका, ठेगाना फरक परेका सम्बन्धमा सच्याउन माग गर्दै सयौँ निवेदन परेका छन् । नाम सार्वजनिक गरेसँगै नयाँ नगरपालिकामा वडा परिवर्तन भएर आएका, केही जिल्लाका नाम छुट भएका र कतिपय जिल्लामा नाममा गल्ती देखिएकाले सच्याउन सयौँको हाराहारीमा निवेदन परेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए । ‘केही जिल्लामा प्रक्रियाअनुसार आएका नामावलीमा पनि टाइप गर्ने क्रममा मानवीय कमजोरीले गल्ती भएका छन्’ सचिव पराजुलीले भने । कतिपय निवेदन भने क्रियाशील सदस्यता लिएको १० वर्षे अवधि प्रमाणित गरी पाऊँ भनी परेका छन् । काँग्रेसमा केन्द्रीय सदस्य र जिल्ला सभापति हुन क्रियाशील सदस्यता लिएको कम्तीमा १० वर्ष पुगेको हुनुपर्ने कानुनी प्रावधान छ । ‘‘ती निवेदनमाथि क्रियाशील सदस्यता छानबिन समितिले कारवाही गर्नुपर्ने हो, तर छानबिन समितिले सबै विवरण पार्टी सभापतिलाई बुझाइसकेको र राजनीतिक विषय भएकाले अब पार्टी नेतृत्वले गर्छ” सचिव पराजुलीले बताए । काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । त्यस्तै कतिपय जिल्लामा नयाँ क्रियाशील सदस्यताको नामावली राख्न बाँकी रहेको पार्टी कार्यालयले जनाएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २, इलामको १ र ३, संखुवासभा तथा मुगुका सबै नयाँ सदस्यता राख्न बाँकी रहेको र यही माघ १४ गते अघि नै वेबसाइटमा राखिने पार्टीले जनाएको छ । पार्टीमा १३ औँँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य संख्या चार लाख ७० हजार ६५५ कायम भएको छ ।
यसैगरी, काँग्रेसमा आठ महिलासहित समावेशीका पाँच समूहमा केन्द्रीय सदस्य संख्या बढाउने तयारी गरिएको छ । नयाँ संविधानमा पार्टीकै नेतृत्वमा समानुपातिक समावेशीको व्यवस्थासहितको संशोधन प्रस्ताव दर्ता गरिएकाले पार्टी विधानमा पनि त्यसको रिफ्लेक्सन हुनुपर्ने भन्दै विधान संशोधन मस्यौदा तयारी समितिले कम्तीमा आठजना महिला केन्द्रीय सदस्य बढ्ने गरी विधानको तयारी गरेको हो । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा तयारी समितिले सात प्रदेशमा एकएकजना महिला र महिला कोटामा थप एकजनासहित आठजना महिला केन्द्रीय सदस्य बढाउने तयारी गरेको हो । काँग्रेसभित्र केन्द्रीय समितिमा कम्तीमा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुग्नुपर्ने माग हुँदै आएको छ । त्यसलाई सम्बोधन गर्न र नयाँ संविधानको समानुपातिक समावेशी सिद्धान्तको भावनाअनुसार महिलाको संख्या थप्ने निष्कर्षमा समिति पुगेको हो । त्यस्तै समितिले जिल्ला, क्षेत्रलगायत विभिन्न निकायबाट आएको सुझावका आधारमा यसअघि केन्द्रीय समितिमा आरक्षित गरिएको दलित, जनजाति, महिला, मधेसी र मुस्लिमतर्फ एकएकजना केन्द्रीय सदस्यको संख्या थप्ने गरी मस्यौदा तयार गरेको छ । काँग्रेसले नै सबैभन्दा पहिला केन्द्रीय समितिमा सीमान्तकृत र पिछडिएका समुदायलाई ल्याउने गरी विधान बनाएर लागू गरेको हो, काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘अब त्यसमा केही संख्या थप्नुपर्ने माग आएकाले पाँचवटै समूहमा एकएकजना सदस्य थप्ने गरी विधान तयारी गरिएको हो ।’ अहिलेको काँग्रेस विधानमा महिला सात, दलित ६, जनजाति ६, मधेसी ६ र मुस्लिम दुईजना सदस्यका लागि सिट आरक्षित गरेको छ । संविधानअनुसार पार्टीको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा समानुपातिक प्रतिनिधित्व नपुगेको भन्दै केही संख्या थप्ने तयारीमा मस्यौदा समिति पुगेको हो । ‘समानुपातिक समूहमा केही सदस्य थप्ने विषयमा छलफल जारी छु, विधान मस्यौदा समितिका सदस्यसचिव जीवन परियारले भने, ‘केही दिनभित्रै शीर्ष नेतासमक्ष छलफल गरेर टुंगोमा पुग्छौं ।’ महिला आठजना, आरक्षणतर्फका पाँच समूहमा एकएकजनाका साथै प्रदेश सदस्यमा पनि केही संख्या बढाउने तयारीमा समिति पुगेको छ । समितिले यसअघिको विधानमा भएको अञ्चल संरचना खारेज गरी प्रदेशमा लैजाने र सबै प्रदेशमा एक महिलासहित तीन वा चारजना केन्द्रीय सदस्य निर्वाचित गर्ने गरी छलफल चलाएको छ । प्रदेशमा तीन वा चार सदस्यको प्रावधान राख्ने भन्नेमा भने अझै टुंगोमा पुगेको छैन । त्यस्तै समितिले टे«ड युनियन र प्रजातन्त्र सेनानीहरूलाई पनि एकएकजना सदस्य मनोनयनको व्यवस्था गर्ने विषयमा छलफल जारी राखेको छ । प्रदेशबाट निर्वाचित सदस्यको संख्या बढाउने र महिला र अन्य समूहको निर्वाचित सदस्य संख्या बढाउने हो भने काँग्रेस केन्द्रीय समिति एक सय पाँच सदस्यीय हुने भएको छ । यसअघि काँग्रेस केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । पदाधिकारी संख्या बढाउने वा नबढाउने विषयमा भने समिति कुनै निष्कर्षमा पुग्न सकेको छैन । सभापति सुशील कोइराला पदाधिकारी संख्या बढाउने पक्षमा छन् । तर, वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी प्रदेश संरचनामा जाने र प्रदेशमा छुट्टै प्रदेश काँग्रेस हुने भएकाले त्यसको विपक्षमा देखिएका छन् । कोइराला उपसभापति र सहमहामन्त्रीको संख्या बढाउने पक्षमा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु