उच्च हिमाली जिल्लाहरुमा भारी हिमपात

२०७२ माघ ६ गते, बुधबार

काठमाडौ, ६ माघ । उच्च हिमाली जिल्लाहरुमा हिजो दिउँसोदेखि भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट र सदरमुकाम आसपासमा एक फिट जति हिउ परेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । जुम्ला सहित उच्च हिमालि जिल्लामा अझै एक दुइ दिन हिमपात हुने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । यसैबिच जुम्लामा भारी हिमपात भैरहेकाले पाटन तिर भेडा, बाख्रा राखेर बसेका किसानलाई सुरक्षित हुन प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले आग्रह गनुृ भएको छ । पाटनमा रहेका किसानहरुलाई आफ्नो घरपरिवारसँग यस्तो अवस्थामा नियमित सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । पाटन तिर रहेका किसानहरुले हिउँको बाटो काट्दा ध्यान दिन समेत आग्रह गरीएको छ ।
मंगलबार दिउँसोबाट हिमपात शुरु भएपछि जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट लगायत हिमालि जिल्लाका सर्बसाधारणको दैनिकी कष्टकर भएको छ । हिमपातले कामकाज तथा हिँडडुल गर्न अप्ठ्यारो परेपनि यतिखेरको हिँउले किसानलाई भने ठूलो फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत विष्णुवहादुर महतले बताए । यतिबेला परेको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा स्याउ, ओखर लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
यसैगरी , लामो खडेरीपछि दोस्रो पटक हुम्लामा हिमपात भएपछि अत्याधिक चिसो बढेको छ । यसले जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
हिजो बेलुका ८ बजेदेखि पर्न शुरु गरेको हिमपातले अहिले सिमकोटमा २ इन्च मात्र हिउँ जमेको भएपनि जिल्लाको तापक्रम माइनस ११ पुगेपछि जनजीवन निकै कष्टकर बन्दै गएका छ । लामो समयको चर्को खडेरीले दोस्रो पटक पर्न थालेको हिमपातले कृषकमा केही आशा जगाए पनि चिसोले जनजीवन भने निकै प्रभावित भएको छ ।
जल तथा मौसम विभागले केही दिनसम्म हुम्लालगायतका उच्च हिमाली जिल्लामा हिमपात हुन सक्ने जनाएको छ । लामो खडेरीका बिच केही दिन यता बंगालको मनसुन सक्रिय भएका कारण केही दिन हिमपात हुन सक्ने मौसमविद् शान्ति कँडेलले बताए ।
त्यस्तै , मुगुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ.। आज हिजो बिहानैदेखी मुुगुमा चिसो बढेको हो । बिहानैबाट चिसो बढेपछि मुगु सदरमुकाम गमगढीमा मानिसहरुको आवतजावतसमेत न्युन रहेको छ । जिल्लाका रारा, मुर्माटप बामा लगायतका माथिल्ला भेगहरुमा केही समय अगाडी केही मात्रामा हिमपात समेत भएको थियो ।
चिसो बढेको बेलामा बालबालिका बृद्धबृद्धा र सुत्केरीको स्वास्थ्यमा ख्याल राख्न जिल्ला स्वास्थ्य कार्यालय मुगुले आग्रह गरेको छ । मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु