मोदीको नौटंकी

२०७२ माघ ५ गते, मंगलवार

काठमाडौं, ५ माघ । नेपालमाथि नाकाबन्दी गरेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढाका टोपी लगाउँदै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् । अवसरको सदुपयोग गर्न खप्पिस मोदीले पूर्वोत्तर भारतको भ्रमणका क्रममा ढाका टोपी लगाएका हुन्, जहाँ नेपालीमूलका बासिन्दाको बाहुल्यता छ । गान्तोक पुगेका मोदी ढाका टोपीमा सजिएका थिए । उनले स्थानीयसँग हात मिलाएर भलाकुसरीसमेत गरे । गान्तोकमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई फूलजस्तो नाजुक हुन नदिन आग्रहसमेत गरे । उनले भने, ‘म काँडाको बीचमा रहेको छु, मलाई काँडाकै बीचमा रहनु छ ।’
त्यसो त, मोदीको व्यवहार नेपालका लागि पनि काँडाजस्तै देखिएको छ । उनकै नेतृत्वको सरकारले नेपालमाथि अघोषित नाकाबन्दी गर्दै नेपालीलाई अनावश्यक दुःख दिदैं आएको छ । यद्यपी उनले नेपालीमूलका भारतीयहरु माझ पुग्दा पनि नेपालमाथिको नाकाबन्दीबारे भने चर्चा गरेनन् ।
मधुर वाणीले सबैलाई लठ्ठ पार्ने कला भएका मोदीले भने, ‘जहाँ आवश्यकता हुन्छ, त्यहाँ फूलजस्तै कोमलताका साथ दुःखीको आँशु पुछ्न यो जिन्दगी काम लागोस् ।’
उल्लेखनीय छ, उनी चुनावी मिशनलाई ध्यानमा राख्दै सो क्षेत्रमा गएका हुन् । यसै वर्ष असममा विधानसभा निर्वाचन छ । नेपाली भाषीको बाहुल्य रहेका कारण सो क्षेत्रमा नेपाली मूलका भारतीयको मत निर्णायक हुने निश्चित छ । नेपालमाथिको नाकाबन्दीका कारण सो क्षेत्रका नेपाली मूलका बासिन्दा असन्तुष्ट रहेको आँकलन गर्दै मोदीले नेपाली टोपीको सहारा लिएको विश्लेषकहरु बताउँछन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु