एमाले संसदीय दलको विधान संशोधन हुने

२०७२ माघ ४ गते, सोमबार

काठमाडौं , ४ माघ । नेकपा एमालेले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा सचेतक गोकुल घर्तीमगर तथा सांसदहरु डा. वंशिधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मिया सदस्य छन् । संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरित भएकाले विधान संशोधनका कार्यदल गठन गरेको प्रमुख सचेतक ढकालले जानकारी दिए ।
एमालेको संसदीय दल संविधानसभा कायम रहेका बेलाको विधान अनुसार चल्दै आएको छ । एमालेले संसदीय बोर्ड गठनबारे गृहकार्य गर्ने जिम्मेवारी प्रमुख सचेतक र सचेतकलाई समेत दिएको छ ।
यसैगरी , बैठकले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई पारित गर्ने र कांग्रेस सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावबारे कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले मधेस केन्दि्रत दलहरुसँग भइरहेको वार्ताबारे जानकारी गराएका थिए । संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक लामो समय नबस्दा सदस्यहरुले भने आफ्ना धारणा राख्न पाएनन् ।

प्रतिक्रियाहरु