मध्यमवर्गले राष्ट्रघातलाई कहिलै साथ दिएको छैन : प्रकाण्ड

२०७२ पुष १७ गते, शुक्रबार

काठमाडौँ । नेकपा माओवादीका प्रबक्ता प्रकाण्डले नेपालको मध्यमवर्गले राष्ट्रघातलाई नभएर राष्ट्रहितलाई साथ दिँदै आएको बताएका छन् । ‘नेपालको मध्यमवर्ग विगतमा भएका सबै परिवर्तनकारी आन्दोलनको पक्षमा रह्यो, आजसम्म उसले कहिलै राष्ट्रघातलाई साथ दिएको छैन, हरेक आन्दोलन मध्यवर्गको सहभागीतामै सफल भए तर उसलाई सत्तामा कहिलै स्पेस दिइएन । अबसरवादीको रुपमा हेरियो’ प्रबक्ता प्रकाण्डले भने । बिहीबार पार्टी निकट दलित मुक्ति मोर्चा, नेपालले संवाद डबलीमा आयोजना गरेको ‘एकीकृत जनक्रान्ति र दलित मुक्ति आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रकाण्डले सो कुरा बताएका हुन् ।
उनले आफ्नो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले मध्यमवर्गलाई मजदूर र किसानको आधार शक्तिको रुपमा स्वीकार गरेको बताउँदै अबको क्रान्तिमा उसको महत्वपूर्ण भूमिका हुने बताए । प्रबक्ता प्रकाण्डले अगाडि भने, ‘परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको मध्यमवर्गलाई सत्तामा नजिक आउँन नदिएकाले नेपालमा राष्ट्रघात र दलालीकारण तिब्र गतिमा अगाडि बढेको हो, हामीले गर्ने क्रान्तिमा मजदूर–किसान झै मध्यमवर्गको पनि समान हक रहनेछ ।’ पार्टीका स्थायी समिति सदस्य समेत रहेका प्रकाण्डले राजनीतिक पार्टीका नेताहरुमा आएको तिब्र दलालीकरणले दलितले अधिकार नपाएको बताए । जारी संविधानले दलितलाई अधिकार नदिने उनले दाबी गरे । भारतको नाकाबन्दले जनतालको चुलो बल्न छोडेको तीन महिना भइसक्दापनि सरकारले कालोबजारीलाई हेरेर बसेको उनको आरोप थियो ।
कार्यक्रममा एमाओवादीका पोलिट्व्यूरो सदस्य तथा दलित अगुवा विश्वभक्त दुलाल ‘आहुती’ले सामन्तवादको केही अवशेष अझै बाँकी रहेकाले दलितले पूर्ण रुपमा अधिकार नपाएको बताए । नेपाल पुँजिवादी युगमा प्रवेश गरिसकेकाले दलित मुक्ति आन्दोलनलाई पनि त्यही स्तरमा उठान गर्नुपर्ने आहुतीले बताए ।
देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्षले तिलक परियारले वर्गिय मुक्तिले मात्र दलितको मुक्ति हुने भएकाले पहिला वर्गिय मुक्ति आन्दोलनलाई पूर्णता दिनुपर्ने बताए ।
कार्यक्रममा मुक्ति समाज नेपालका महासचिव गणेश बिक, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष परशुराम रम्तेल, लेखक, डा. तारालाल श्रेष्ठ, डिएनएफका अध्यक्ष गजाधर सुनार, दलित मुक्ति मोर्चा, नेपालका अध्यक्ष डम्बर विश्वकर्मा, महासचिव रामलाल विश्वकर्मा र पदम बिकले दलितले कसरी अधिकार पाउन सक्छन् भन्ने सवालमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रियाहरु