बराहाको अवैध व्यापार नुनदेखि सुनसम्म

२०७२ पुष १२ गते, आईतवार

काठमाडौँ । सुनचाँदी, हीरा र पत्थरका गहनाको कारोबारमा नाम कमाउँदै आएको बराहा ज्वलेरी पछिल्लो चरणमा बद्नाम हुँदै गएको छ । बराहा ज्वलेरीसँग कारोबार गर्ने ग्राहकहरु व्यापक मात्रामा ठगिने गुनासो दिनानुदिन बढी रहेको छ । गहनाको गुणस्तर, नापतौलमा बराहा ज्वलेरीले व्यापक ठगी गर्न थालेपछि ग्राहकसामु उसको छवि गिर्न पुगेको हो । बराहाले सुनचाँदी, हीरा र पत्थरका ग्राहकलाई मात्र होइन, पछिल्लो चरणमा नेपालभरका जनता र विदेशमा रहेका नेपाली जनतासमेत ठग्ने गरेको स्रोतले बताएको छ । नुनदेखि सुनसम्म, धरान, काठमाडौँ, पोखरा, हङकङ हुँदै युकेसम्म भन्ने नाराका साथ व्यापार सुरु गरेको बराहाले देश र विदेशमा रहेका नेपाली नागरिक र राजस्वसमेत छली गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार बराहा ज्वलेरी अवैधरुपमा सुन भित्र्याउनेमा एक नम्बरको कम्पनी हो । यसले दैनिक दशौँ किलो सुन अवैधरुपमा हङकङ, बेलायतबाट नेपाल भित्र्याउने गरेको छ । गुणस्तर र अवैध सुन आयातमा यस अघि पनि कारवाहीमा परिसकेको बराहा ज्वलेरी पछिल्लो राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै पुनः आफ्नो अवैधधन्दा सञ्चालन गरिरहेको छ ।

बराहाले विभिन्न प्रालिहरुको समूह नै बनाई अवैधधन्दा सञ्चालन गरेको स्रोतले बताएको छ । हाल बराहा समूहअन्तर्गत बराहा सेभिङ एण्ड कोअपरेटिभस् लिमिटेड (धरान), शुभकामना डिपार्टमेन्ट (धरान), भोजपुर फेन्सी स्टोर (धरान), अभिमत सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि. (काठमाडौँ), कृपादृश्य डिजिटल त्रिपुरेश्वर (काठमाडौँ) लगायतका अन्य संस्था रहेका छन् । बराहाले सुनचाँदी, हीरा, पत्थरलगायत यी संस्थाहरुबाट पनि अन्य अवैध कारोबार गरिरहेको स्रोतको ठोकुवा छ । यी विषयमा हाम्रो खोजखबर जारी छ ।

प्रतिक्रियाहरु