काँग्रेसमा महाधिवेशनको रन्को, देउवा सभापति हत्याउने दाउमा

२०७२ पुष ११ गते, शनिबार

काठमाडौँ । नेपाली काँग्रेसको आगामी फागुन २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने १३ औं महाधिवेशनबाट अघिल्लो पुस्ताका तीनै नेताहरुले सभापति हत्याउन तयारी तीव्र बनाएका छन् । शीर्षस्थ नेताहरु जिल्ला दौडाहादेखि कोठे बैठकहरुमा आफ्ना गणितीय दाउपेच मिलाउन व्यस्त छन् । मुख्यतः वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल १३ औँ महाधिवेशनमा सभापतिका लागि आकांक्षी देखिन्छन् । काँग्रेसको १३ औं महाधिवेशन नजिकिँदै जाँदा शेरबहादुर देउवा सभापति बन्न कम्मर कसेर लागेका छन् । नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेर अभियानमा निस्किएका देउवा आक्रामक, रामचन्द्र पौडेल रक्षात्मक र सुशील कोइराला निद्रामा देखिएको चर्चा काँग्रेस वृत्तमा चल्न थालेको छ । देउवा पक्ष यस पटक विगतमा जस्तो सुशील कोइरालाको पक्षमा माहौल नरहेको, उनले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर पदलोलुपता देखाएको जस्ता कारणले सभापति जित्ने कुरामा ढुक्क छन् । सुशील, शेरबहादुर र रामचन्द्र तीनैजना सभापतिमा चुनाव लडेको खण्डमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याउने र पुनः दोस्रो चरणमा चुनाव हुनेछ । काँग्रेसको विधानमा सभापति हुनका लागि ५१ प्रतिशत भोट ल्याउनैपर्छ । दोस्रो पटक हुने चुनावमा पहिलो र दोस्रो मत ल्याउनेबीच प्रतिस्पर्धा हुनेछ । शेखर कोइरालाहरु पहिलो चरणमा पौडेलतिर लाग्नेछन् । यदि पौडेलले सबैभन्दा कम मत ल्याएर बाहिरिएपछि देउवा र सुशीलबीच चुनाव हुनेछ ।
त्यो प्रतिस्पर्धामा शेखर कोइरालाहरु देउवातिर लाग्ने काँग्रेसकै एक नेताले बताए । ती नेताका अनुसार पहिलो चरणमा पौडेलतिर लागेर सुशील कोइरालालाई सभापतिमा उम्मेदवारी दिनबाट रोक्ने योजना पनि शेखरहरुको छ । शेखर मात्र होइन, यो अभियानमा अर्जुननरसिंह केसी, उनका ज्वाई गगन थापा पनि सामेल रहेका छन् । सुशील रोक्न नसके दोस्रो चरणमा हुने सभापतिको प्रतिस्पर्धामा शेखरसहित केसी, थापाहरु देउवातिर लाग्नेछन् । सुजाता कोइराला खुलेर सुशील कोइरालाविरुद्ध नलागे पनि शेखरले सुशीललाई छोडिसकेको स्रोतको दाबी छ । पहिलो चरणमा सोझै देउवातिर नलागी दोस्रो चरणमा मात्र उनीहरु लाग्नेछन् । डा. शेखरले सुशील कोइरालालाई पदलोलुप साबित गरी महाधिवेशनमा सिध्याउनकै लागि प्रधानमन्त्रीमा उम्मेदवार बनाएको चर्चा पनि काँग्रेसबृत्तमा हुने गरेको छ । यसबीच देउवाले कोइराला पक्षका केही प्रभावशाली नेताहरुलाई आफ्नोतिर तानिसकेका छन् । कोइराला क्याम्पका प्रभावशाली दोस्रो तहका नेतालाई भने अहिले नभई महाधिवेशनको मुखैमा तानेर पदाधिकारीको उम्मेदवरा बनाउने रणनीति देउवाको रहेको छ । पछिल्लो समय कोइराला पक्षका केन्द्रीय सदस्य तथा वैचारिक नेता चन्द्र भण्डारी देउवातिर लागेका छन् । सुशील कोइरालाले मनोनित गरेका श्याम घिमिरे समेत सम्पर्क कार्यालय देखिन थालेका छन् । त्यस्तै ललितपुर २ का सांसद् समेत रहेका प्रभावशाली नेता चन्द्र महर्जन मात्र होइन, मोरङ काँग्रेसका सभापति तथा पूर्वका प्रभावशाली नेता तथा सांसद् अमृत अर्याल पनि देउवातिर खुलेका छन् । माथिल्ला नेताभन्दा तलकाहरुसँग जनाधार हुने भएकाले देउवाले पहिले जिल्ला सभापति, प्रभावशाली सांसदहरुलाई आपूmतिर तान्ने रणनीति अख्तियार गरेर अगाडि बढेका छन् ।

प्रतिक्रियाहरु