मोदी जताततै बेइजति व्यहोर्दै

२०७२ पुष ४ गते, शनिबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नाकाबन्दी गरेपछि उनी अहिले विश्वभर मजाकका पात्र बनेका छन् । नेपालको संविधानमाथि ठाडो हस्तक्षेप गर्न नसके पनि मधेशी मोर्चालाई उचालेर नेपाललाई असफल राष्ट्र बनाउन उद्यत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्ततः आफैँ असफल बन्ने भएका छन् । अहिले नरेन्द्र मोदीका विरुद्धमा भारतलगायत विभिन्न देशमा व्यापक टिकाटिप्पणी हुने गरेको छ । आपूmलाई विश्वकै अब्बल कूटनीतिक ठान्ने मोदीलाई नेपालमाथि गरेको नाकाबन्दी अहिले निल्नु न ओकल्नु भएको छ । यही नेपालमाथि लगाएको नाकाबन्दीले मोदीले अहिलेसम्म कमाएको इज्जतमा ठूलो धब्बा लाग्न पुगेको छ भने व्यक्तिगतरुपमै मोदीमाथि औँला ठड्याउने जमात भारतलगायत विश्वमै बढी रहेको समाचारहरु दैनिक सार्वजनिक हुन थालेको छ ।
यसैक्रममा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणमा कीर्तिमान नै बनाउन थाले पनि अन्तर्राष्ट्रिय जगतमा भारतको छवि कस्तो छ भन्नेबारे एक अस्ट्रेलियन पत्रिकामा प्रकाशित कार्टुनले प्रष्ट पारेको छ । ‘दि अस्ट्रेलियन’ दैनिक पत्रिकामा प्रकाशित कार्टुनमा भारतीय नागरिक भोकमरीबाट ग्रस्त भएको र सोलार प्यानल खाएर भोक टार्न खोजेको देखाइएको छ । पेरिसमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सकिएसँगै यस्तो कार्टुन प्रकाशित भएको हो । प्रख्यात कार्टुनिस्ट बिल लिकले तयार पारेको सो कार्टुनमा पगरी र धोती लगाएका केही भारतीयले संयुक्त राष्ट्रसंघद्वारा उपलब्ध गराइएको सोलार प्यानल खाने प्रयास गरिरहेको देखाइएको छ । भारतमा भोकमरी बढ्दै गएको तथा भारतीयलाई खानेकुरा बाहेक अरु बस्तुको चासो नभएको सन्देश सो कार्टुनमार्फत दिन खोजिएको छ । कार्टुनमा एक बृद्धले आँपको अचारसँग सोलार प्यानलको टुक्रा खाने कोसिस गरिरहेको देखिन्छ ।
यसअघि अमेरिकी अखबार न्यूयोर्क टाइम्सले पनि पेरिस जलवायु सम्मेलनमा भारतको भूमिकाबारे एक कार्टुन प्रकाशित गरेको थियो । सो कार्टुनमा भारतलाई हात्तीको रुपमा अंकित गर्दै ‘पेरिस जलवायु सम्मेलन’ को रेल अगाडि हात्ती तेर्सिएको देखाइएको थियो ।
यसैबीच, भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगीको संज्ञा दिँदै कटू आलोचना गरेका छन् । आफ्नो कार्यालयमा केन्द्रीय जाँच ब्यूरो (सीबीआई) ले छापा मारेपछि क्रुद्ध बनेका केजरीवालले प्रधानमन्त्री मोदीलाई यस्तो संज्ञा दिएका हुन् । आफ्नो कार्यालयमा सीबीआईले छापा मारेको जानकारीसहित ट्वीट गर्दै मुख्यमन्त्री केजरीवालले राजनीतिक रुपमा आफ्नो सामना गर्न नसकेपछि प्रधानमन्त्री मोदीले सीबीआई प्रयोग गर्ने जस्तो हर्कत गरेको आरोप लगाएका हुन् । आफ्ना नेताको कार्यालयमा छापा मारेकोमा आक्रोशित आम आदमी पार्टीका प्रवक्ता सौरभ भारद्वाजले हजारौं व्यक्तिको हत्या आरोप लागेका मोदीको कार्यालयमा छापा नमार्ने सीबीआईको यो कारवाही घृणित रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रियाहरु