वार्ताबाटै निकास खोज्छौं : प्रधानमन्त्री

२०७२ भाद्र १६ गते, बुधबार

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताकै माध्यमबाट निकास खोज्न आफू तयार रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले आदिवासी जनजाति बृहत् संयुक्त मोर्चासँगको भेटमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री कोइरालाले सबैमा शान्तिको चाहना भए आन्दोलन, तोडफोड, हत्या, हिंसा छाडेर वार्तामा आउन आग्रह गरे । शान्तिको भाषण गरेर मुलकलाई अशान्तिमा परिणत गर्न खोजे दूर्भाग्य हुने भन्दै उनले सद्भाव, मेलमिलाप र वार्ताबाटै निकास निस्कनेमा आफू ढुक्क रहेको बताए ।
शान्तिपूर्ण माग राख्ने सबैको अधिकार सुरक्षित भएको भन्दै कोइरालाले जारी हुन लागेको लोकतान्त्रिक संविधानमा सबैका हक, अधिकार सुरक्षित हुने पनि बताए । प्रधानमन्त्री कोइरालाले आदिवासीका माग सम्बोधन हुने भन्दै आन्दोलनमा नगइ वार्ताको माध्यमबाटै संविधान निर्माणमा सघाउन आग्रह गरे ।
आदिवासी नेताहरुले भने संवैधानिक आदिवासी, जनजाति आयोग बन्नुपर्ने, नयाँ बन्ने संविधानमा जनजातिका हक, अधिकार सुनिश्चित हुनुपर्नेलगायतका ११ सूत्रीय माग राखेका थिए ।

प्रतिक्रियाहरु