गुजरातमा आन्दोलन उर्लियो , ८ जना मारिए

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौं, १० भदौ । भारतको गुजरात राज्यमा पटेल समुदायको आरक्षण आन्दोलनका क्रममा दुई दिनयता मृत्यु हुनेका संख्या ८ पुगेको छ । तर, तनाब भने कायमै रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । मारिनेमा एकजना प्रहरी पनि छन् भने दर्जनौं सुरक्षाकर्मी घाइते भएका छन् । ४० ओटा प्रहरीचौकीमा आगजनी गरिएको छ भने ७० भन्दा बढी सवारी–साधन आन्दोलनकारीले जलाएका छन् । राज्यका विभिन्न स्थानमा शान्ति सुव्यवस्था कायम गर्न सेना परिचालन गरिए पनि बुधबार राति विभिन्न स्थानमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको छ ।
सरकारी जागिरमा कोटा लागू हुनुपर्नेलगायतका माग राखी पटेल समुदायले सुरु गरेको आन्दोलन उग्र बनेपछि विभिन्न क्षेत्रमा कर्फ्यु लगाइएको छ । सुरतमा सेना परिचालन गरिएको छ ।
आन्दोलनको नेतृत्व गरेका २२ वर्षीय हार्दिक पटेलले आन्दोलनकारीको हत्या गर्ने प्रहरीहरुलाई निलम्बन गरी हत्या अभियोगमा मुद्दा चलाउन ४८ घन्टे अल्टिमेटम दिएका छन् । उनले आफ्ना समुदायका सदस्यलाई सहरमा तरकारी आपूर्ति बन्द गर्नसमेत आह्वान गरेका छन् ।
पटेल समुदायलाई अति पिछडिएको समुदायसरह आरक्षण माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि गुजरातमा सबै शिक्षणसंस्था बन्द गरिएको छ ।गुजरातको कुल जनसंख्यामा पटेल समुदाय २० प्रतिशत हाराहारी रहेको छ । हिराको व्यापार गर्ने पटेल समुदाय नै गुजरातका सबैभन्दा ठूला कारोबारी हुन् भने उनीहरु सम्पन्न समुदायमा पर्दछन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु